कम्युनिस्टहरूसँग लड्न पार्टीभित्र पहिला बलियो बनौँः अर्जुन नरसिंह केसी
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले मुलुकमा दुईतिहाइको कम्युनिस्ट सरकार भएका बेला पार्टीलाई मजबुद बनाएर अगाडि बढ्नु पर्ने समय आएको बताएका छन् ।
नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका नेपाली कांग्रेस काठमाडौं–नुवाकोट बेल्कोटगढी सम्पर्क समितिको सम्मेलनलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै कांग्रेसका नेताहरूले कांग्रेसभित्रको विवादलाई मिलाएर नेतृत्व अगाडि बढ्नु पर्ने बताएका हुन् ।
‘दुईतिहाइको कम्युनिस्ट सरकारसँग नेपाली कांग्रेसलाई लड्नुपर्ने चुनौती र अवसर दुबै आएको छ’, नेताहरूले भनेका छन्, ‘पहिला हामीभित्रै देखिएको अन्तरद्वन्द्वलाई मिलाउनुपर्छ । पार्टीलाई शुद्धीकरण गर्नुपर्छ ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टीमा तेरो र मेरो भनेर संस्थागत रुपमा अगाडि बढ्नुपर्ने बताएका छन् । उनले अबका दिनमा नेता तथा कार्यकर्ताहरूको क्षमतालाई ध्यान दिएर संगठन गर्नुपर्ने बताए ।
नेता केसीले आफ्नो जिल्लाप्रति कर्तव्य बोध गर्दै फुटेर नभइ जुटेर सहयोग गर्नुपर्ने बताए । उनले विकास र रोजगारीका क्षेत्रमा जन्मथलोभन्दा बाहिर बसेर कर्मथलोबाट सहयोग गर्न सकिने पनि बताए ।
युवा नेता एवम् केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीलाई चलायमान बनाउनुपर्ने बताए । त्यसका लागि सबै संगठनहरूलाई क्रियाशील बनाउन सुझाव दिए ।
नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले कांग्रेसभित्र दुःख गरेका नेता तथा कार्यकर्ताको पहिचान गरेर अवसर दिने परिपाटी हुनुपर्ने बताए ।
उनले कांग्रेसलाई सुदृढीकरण आवश्यक रहेको बताए । ‘कांग्रेस अब परम्परागत रुपमा अगाडि बढ्न सक्दैन’, उनले भने, ‘केही नयाँ कार्यका साथ अगाडि बढ्नुपर्छ । पार्टीलाई नयाँ विधान र संरचना अनुसार अगाडि लैजानुपर्छ ।’
नेपाली कांग्रेसका नेता रमेश महतले राष्ट्रिय जागरण अभियानले पार्टीलाई फाइदा भएको बताए । उनले आगामी दिनमा पनि कांग्रेसलाई यस्तै खालका रचनात्मक कार्यक्रमबाट अगाडि बढाउन सुझाव दिए ।
यसैबीच, नेपाली कांग्रेस बेल्कोटगढी नगरपालिका–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा श्याम ढुंगाना चयन भएका छन् । भेलाले ढुंगानाको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति गठन गरेको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिए ।
कार्यसमितिको उपाध्यक्षमा बुद्धिप्रसाद थपलिया, उपेन्द्र तिमिल्सिना, सचिव राजन दाहाल, सहसचिवमा सञ्जयराज दाहाल र ममता गजुरेल चयन भएका छन् ।
कोषाध्यक्षमा पूर्ण गजुरेल, सह–कोषाध्यक्ष वीरेन्द्रजंग पाण्डे चयन भएका छन् ।
सदस्यहरूमा प्रकाश पुडासैनी, चन्द्र शेखर सिलवाल, चन्द्रबाबु लामिछाने, गुणराज खनाल, अर्जुन खनाल, सावित्री नेपाल, पवन नेपाल, सन्तोष गुरुङ, सुदर्शन नेपाल, केदार गजुरेल, राजन सिटौला, सूर्यनर्सिङ लामा, आशा सिंह लामा, सोम तामाङ, विजय गुरुङ चयन भएका छन् ।
नकुल पाण्डे, शलिला मिजार, नवराज रैला, सुवास तामाङ, दुर्गा तामाङ, उद्घाव ढुङ्गाना, भगवती खनाल, विजय लामापनि सदस्यमा चयन भएका छन् । लेखातर्फ दीवाकर पाण्डे चयन भएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया