कांग्रेसद्वारा चारतारे झण्डासहित कागेश्वरी मनहरा नगरपालिका घेराउ (तस्वीर)
काठमाडौं । नेपाली कांग्रेस कागेश्वरी मनहरा नगर समिति, काठमाडौं क्षेत्र नं. २ र ३ थली डाँछीले नगरपालिकालाई विभिन्न स्थानीय माग राखेर १७ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
कांग्रेसको नगर समितिले दलबलसहित शुक्रबार नगरपालिकाको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको क्षेत्रीय सभापति नवराज पुडासैनीले जानकारी दिए ।
‘नेपाली कांग्रेसको तर्फबाट नगरपालिकाको सुव्यवस्थित सञ्चालन तथा विकास निर्माण सम्बन्धमा ०७४ असार २१ गते र ०७४ चैत ५ गते नेपाली कांग्रेसले नगरपालिकाको विभिन्न नीति, कार्यक्रम एवम् तिनको कार्यान्वयन सम्बन्धमा पेश गरेको १७ बुँदे ज्ञापन पत्रको स्मरण गराएका छौँ’, सभापति पुडासैनीले भनेका छन् ।
‘कागेश्वरी मनोहरा नगरपालिकाले अवलम्वन गरेका पछिल्लो नीति तथा कार्यक्रम, विकास निर्माण र जनसरोकारसँग सम्वन्धित विविध गतिविधिहरूलाई थप जनमुखि, पारदर्शी तथा लोकतान्त्रिक मूल्य मान्यता अनुरुप सञ्चालन गर्न उल्लेखित कार्यहरू अविलम्ब कार्यान्वयन गरियोस भनि गम्भीर ध्यानाकर्षणसहित ज्ञापन पत्र पेश गरिएको छ’, ज्ञापन पत्रमा भनिएको छ ।
सभापति पुडासैनीले घर नक्सा तयार गर्नेदेखि निर्माण सम्पन्न गर्नेसम्मका कार्यमा नगरपालिकाकै संरक्षणमा सेवाग्राहीलाई अत्याधिक मर्का पर्ने गरी अनुचित रुपमा भारी रकम असुल्ने कार्य भइरहेको बताए । नेपाल कांग्रेसले सो कार्य तत्काल बन्द गर्न नगरपालिकालाई चेतावनी दिएको उनले बताएका छन् ।
‘नगरपालिकामा अनावश्यक रुपमा व्यभार पर्ने गरी ठूलो संख्यामा आफ्ना कार्यकर्तालाई सल्लाहकारमा भर्ती गरी कार्यकर्ता भर्ती केन्द्र बनाएको तथा दैनिक कार्य सञ्चालनमा आवश्यक पर्ने कर्मचारीहरूलाई दलीय प्रतिशोधको आधारमा विनाकारण निस्काशन गरेको प्रति खेद प्रकट गर्दछौँ’, ज्ञापन पत्रमा भनिएको छ, ‘यस अगाडि विना कारण पूर्वाग्रही रुपले निस्काशन गरिएका जनशक्तिहरूलाई पुनः नियुक्ति गर्नुपर्छ ।’
नगरपालिकाले तेस्रो नगर परिषद सम्पन्न गर्दै गर्दा हालसम्मको पुँजीगत खर्च करीव ५० प्रतिशतको हाराहारीमा मात्र हुनुले नगरपालिकाको नीति तथा कार्यक्रम तर्जुमामै गम्भीर त्रुटी रहेको प्रष्ट भएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसले वडाहरूलाई कम्तीमा दुई करोड दिइनुपर्ने प्रस्ताव गरेको छ ।
‘जनताबाट प्राप्त गुनासा र सुझावलाई यथाशीघ्र सम्बोधनका लागि जोडदार माग गर्दछौं’, कांग्रेसका क्षेत्रीय सभापति पुडासैनीले चेतावनी दिँदै भनेका छन्, ‘मागहरू तत्काल सम्बोधन नभएमा नेपाली कांग्रेस थप विरोध कार्यक्रमहरू ल्याउन बाध्य हुनेछ । त्यसबाट उत्पन्न हुने परिस्थितिकाेि लागि नगरपालिका स्वयं जिम्मेवार हुनेछ ।’
नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू चारतारे झण्डासहित नारावाजी गर्दै शुक्रबार कागेश्वरी मनहरा नगरपालिकाको कार्यालय पुगेका थिए ।
यो नगरपालिकामा नेकपा (एमाले) पुष्ठभूमि भएका मेयर र उपमेयरले जितेका छन् । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको यो क्षेत्रमा केही दिन अगाडि स्थानीयले सडक बनाउन ध्यान नदिएको भन्दै बाटो छेकेर नेता नेपालविरुद्ध नारावाजी गरेका थिए ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया