राजपामा छ जना अध्यक्षको व्यवस्था हट्यो

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले विधानबाट अध्यक्षमण्डलीय प्रणाली हटाएको छ ।

राजपामा अब एक जना मात्रै अध्यक्ष हुने छन् । राजपा अध्यक्ष मण्डलको बैठकले पार्टी विधानमा संशोधन गर्ने निर्णय गरी अध्यक्षमण्डलीय प्रणाली हटाएको हो ।

बिहीबार शुरू भएको राजपा अध्यक्षमण्डलको बैठक आइतबार सकिएको छ ।

राजपा विधानमा पार्टीको महाधिवेशनपछि पनि अध्यक्षमण्डलीय प्रणाली राख्ने व्यवस्था थियो ।

सो व्यवस्था संशोधन गर्दै अबको महाधिवेशनबाट राजपा एक जना अध्यक्ष रहने व्यवस्था गरिएको छ ।

राजपा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीका अनुसार विधान संशोधन गरी केही प्रावधान थपिएका छन् ।

संशोधित विधानमा स्थानीय तहमा निर्वाचित सदस्यहरूले समेत सदस्यता फाराम भर्नुका साथै शपथ ग्रहण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कुनै तहको समिति गठन गर्दा पुरानो ६ वटै पार्टीका प्रतिनिधिहरूको सहमति लिनुपर्ने व्यवस्था हटाइएको छ ।

राजपाले निर्वाचन आयोगमा बुझाएको विधानमा दुई वर्षभित्र महाधिवेशन गर्ने भनी जनाएको थियो ।

अब महाधिवेशनको अवधि बढाएर तीन वर्ष पु¥याइएको भण्डारीले जानकारी दिएका छन् ।

राजपाको अध्यक्षमण्डलीय प्रणालीअनुसार सोमबारदेखि अध्यक्षमण्डलको संयोजक अनिलकुमार झा हुनेछन् ।

Published : Sunday, 2019 May 19, 7:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया