कांग्रेस हराउने अन्तर्घातीहरूको सूची तयार, नाम लिष्टमा परेपछि भागाभाग
काठमाडौं । नेपाली कांग्रेसले तीन तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई पराजित गर्ने अन्तर्घातीहरूलाई छुट नदिने भएको छ ।
कांग्रेसको अनुशासन समितिले अन्तर्घातीहरू र तिनका विरुद्ध परेको उजुरीको सूची बनाएर एकएकलाई कारबाही गर्ने तयारी गरेको हो । अन्तर्घातीहरूविरुद्ध अनुशासन समितिको कार्यालय सानेपामा १२ सयभन्दा धेरै उजुरीहरू परेका छन् ।
केही उजुरीहरू राजनीतिक उदेश्यले प्रमाणबिना दिइएका छन् । केही उजुरीहरू प्रमाणसहित छन् । प्रमाणविना राजनीतिक उदेश्यले सभापति शेरबहादुर देउवाको चरित्र हत्या गर्ने गरेर विवादास्पद व्यापारी राजेन्द्र बजगाइँले पनि उजुरी दिएका छन् । बजगाइँले दिएको उजुरीमा कुनै पनि प्रमाण छैन ।
अनुशासन समितिले १२ सयभन्दा धेरै उजुरीहरूलाई बर्गिकरण गरेर राखेको छ । त्यही सूचीबाट छानविन गरेर कारबाही गरिने संयोजक भीष्मराज आङदम्बेले जानकारी दिए ।
निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थ खनियाँविरुद्ध पनि उजुरी परेको छ । कांग्रेसको महासमिति सदस्यसमेत रहेका खनियाँ गत संसदीय निर्वाचनमा उम्मेदवार बन्न चितवनबाट सिफारिसको सूचीमा परेका थिए । उनले टिकट पाएनन् ।
कांग्रेसका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको भन्दै खनियाँविरुद्ध यसअघि नै उजुरी परेको थियो । उजुरी परेपछि खनियाँसँग स्पष्टीकरण सोध्ने तयारी तत्कालीन समितिले गरेको थियो ।
समिति काम नै अघि नबढाई निष्क्रिय हुन पुग्यो । अहिले बनेको अनुशासन समितिले पहिलेका उजुरीको फाइल पनि खोल्न थालेको छ । उनीविरुद्ध परेको उजुरीमा छानबिन हुने, आवश्यक परे पत्र काट्ने र पुष्टि भए कारबाही गर्ने कांग्रेस अनुशासन समितिले जनाएको छ ।
पार्टी अनुशासनविपरीत काम गरेको भन्दै कांग्रेस अनुशासन समितिमा एक हजार दुई सय उजुरी परेका छन्न् ।
स्याङ्जामा गोपालमान श्रेष्ठकै कारण निर्वाचन हारिएको भन्दै पुराना नेता भोजराज अर्यालले उजुरी दर्ता गराएका छन् । प्रभावशाली नेता श्रेष्ठले उम्मेदवार मिलाउन नसक्दा आफू पनि हारेको र पार्टीलाई पनि हराएको आरोप श्रेष्ठमाथि लागाइएको छ ।
नवलपरासीबाट देवेन्द्रराज कँडेलविरुद्ध पूर्वसांसद विक्रम खनालले उजुरी दिएका छन् । पूर्वस्थानीय विकास राज्यमन्त्री दुर्योधनसिंह चौधरीविरुद्ध पनि रुपन्देहीमा अन्तर्घात गरेको भन्दै उजुरी परेको छ । रुपन्देही कांग्रेस सभापति अब्दुल रज्जाकविरुद्ध पनि उजुरी परेको छ ।
डडेल्धुरा जिल्ला सभापति कर्ण मल्ल, नुवाकोट जिल्ला सभापति एवं सांसद जगदीश्वरनरसिंह केसी, दैलेख जिल्ला सभापति कृष्ण बिसी, जुम्लाका सांसद ललितजंग शाही, जुम्लाका सभापति जितबहादुर शाही र रुकुमकी सांसद मिठू मल्लविरुद्ध पनि उजुरी परेको छ ।
जापान र बेल्जियमको जनसम्पर्क समितिमा हस्तक्षेप गरी अधिवेशन गर्न नदिएको भन्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलविरुद्ध उजुरी परेको छ ।
जिल्लाको नेतृत्वले बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकको सूची पठाएपछि विधानअनुसार उनीहरू स्वतः पार्टी सदस्यबाट बर्खास्त भइसकेका छन् । उनीहरूमाथि संस्थागत रूपमा पनि कारबाहीको प्रक्रिया अघि बढ्नेछ ।
कांग्रेस केन्द्रीय कार्यालयले सभापति देउवाविरुद्ध कुनै पनि उजुरी दर्ता नभएको जनाएको छ ।
०७० मा पुष्कर ओझा निर्वाचित भएको कैलाली क्षेत्र नम्बर ५ मा गत निर्वाचनमा देउवापत्नी आरजु राणालाई टिकट दिइएको थियो । त्यहाँ उनी पराजित भइन् । ओझाले असहयोग गर्दा आरजु हार्नुपरेको भन्दै उजुरी परेको छ ।
तनहुँ जिल्लामा गोविन्दराज जोशीमाथि नेकपाका उम्मेदवारका लागि खुल्लमखुला भोट मागेको आरोप छ । जोशीविरुद्ध उजुरी परेको छ ।
जोशी बागी उम्मेदवार बन्न खोज्दा कांग्रेस हारेको भन्दै नेता रामचन्द्र पौडेल पक्षले उजुरी दर्ता गराएको छ । गत संसदीय निर्वाचनमा तनहुँ–१ बाट कांग्रेसका आधिकारिक उम्मेदवार बनेका पौडेलविरुद्ध जोशीले उम्मेदवारी दर्ता गराएका थिए ।
जोशीले आफ्नो उम्मेदवारी खारेज भएको र धरौटीसमेत फिर्ता भएको भन्दै आफू बागी उम्मेदवार नै नभएको बताएका छन् ।
जोशी पक्षले पनि नेता रामचन्द्र पौडेल र जिल्ला सभापति वैकुण्ठ न्यौपानेले तनहुँमा कांग्रेसलाई हराएको उजुरी हालेको छ ।
एउटा बुथमा नेता पौडेलले ७० भन्दा बढी भोट पाउँदा प्रदेश सभाका उम्मेदवार गोविन्द भट्टराईलाई ६ भोट मात्रै आउनुमा पौडेल पक्षको अन्तर्घातले भूमिका खेलेको ठहर सो पक्षको छ ।
पौडेलले प्रतिनिधिसभामा आफूलाई र प्रदेश सभामा वाम गठबन्धनलाई भोट हाल्ने गरी साँठगाँठ गरेको आरोप जोशी पक्षको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत