चीनका कारण प्रचण्डलाई टेन्सन, हतार हतार पुगे भेट्न

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा परेका छन् ।

पूर्वएमालेको भातृ संगठन युवा संघको २९औँ स्थापना दिवसको अवसरमा वैशाख १ गते राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उपस्थित दाहाल चिनियाँ राजदूत होउ यान्छीका कारण तनावमा परेका हुन् ।

दाहाल युवा संघको कार्यक्रममा दिउँसो १ बजेतिर पुगेका थिए । चिनियाँ राजदूत यान्छीले ४ बजे भेटवार्ताका लागि दाहालसँग समय लिएकी थिइन् ।

निर्धारित समयअनुसार यान्छी भेटवार्ताका लागि दाहाल निवास खुमलटार समेत पुगेकी थिइन् । तर, दाहाल युवा संघकै कार्यक्रममा भुलिएपछि राजदूत यान्छीलाई समेत तनाव भएको थियो ।

कार्यक्रम लम्बिएर ४ बजे आफ्नो सम्बोधनको पालो आएपछि दाहालले सार्वजनिक रुपमै आफू तनावमा परेका बताएका थिए ।

समय अभाव भएको भन्दै उनले पूर्ववक्ताको भनाईमा समर्थन जनाउँदै आफ्नो सम्बोधनसमेत छोट्याएका थिए ।

चिनियाँ राजदूत घरमा पुगिसकेको र निर्धारित समयमा भेट्न नसकेको भन्दै आफ्नो तर्फबाट परिवारका सदस्यलाई माफी माग्न लगाएको नेकपाको दोस्रो तहका दाहालले कार्यक्रममा जानकारी गराएका थिए ।

‘यस समारोहमा हाम्रा नेता साथीहरूले गम्भीर कुराहरू राख्नुभयो । तपाईहरूले देख्नुभयो होला यहाँ अन्तिम अन्तिमतिर आउँदा म टेन्सनमा छु थोरै’, उनले भने, ‘मैले घडी हेरेनछु, तपाईहरूको कुरा सुन्दा, तपाईहरूसँग बस्दै गर्दा । मजाले बसेछु म त ।’

दाहालले भने, ‘४ बजे मेरो चिनियाँ राजदूतसँग मिटिङ्ग थियो अहिले । ४ यहाँ बजिसक्यो, उहाँ खुमलटार पुगिसक्नुभएछ । अब मलाई टेन्स नहुने त कुरै भएन ।’

‘मैले खबर त गरे, एकछिन चिया खुवाएर राख्नु, माफ माग्नु भनेर भनेको छु । तर, यहाँ तपाईहरूमाझ प्रस्तुत गर्ने सबै विषय गोलमाल भयो’, दाहालले भने, ‘त्यसकारण अगाडिकै साथीहरूको धेरै कुरामा समर्थन गरेकै छु मैले । म एक दुइटा कुरा मात्रै भन्न चाहन्छु ।’

Published : Saturday, 2019 May 18, 7:28 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया