फुच्चे कम्युनिस्टहरूले कांग्रेसलाई हराउन सक्दैनन्, आफै हार्छन्ः रामहरि खतिवडा

अरुण । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्टहरूले बनाउन नसकेको संविधान कांग्रेसको नेतृत्वमा नयाँ संविधान बनाएको बताएका छन् ।

जागरण अभियानअन्तर्गत भोजपुरको अरुण गाउँपालिकामा मंगलबार आयोजित नेपाली कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले ०६४ सालमा कम्युनिस्टहरूको बहुमत हुँदा पनि संविधान बनाउन नसकेपछि ०७० सालको निर्वाचन पर्खनु परेको बताए । ‘०६४ सालमा माओवादी ठूलो पार्टी बन्यो । कम्युनिस्टहरूको बहुमत थियो’, उनले भने, ‘कम्युनिस्टहरूले संविधान बनाउन सकेनन् । कांग्रेसले ०७० सालमा नेतृत्व गरेर नयाँ संविधान बनाएर दियो ।’

कांग्रेसको नेतृत्वमा भएको निर्वाचनहरूका कारण खड्गप्रसाद ओली झण्डै दुई तिहाइ बहुमत पाएर प्रधानमन्त्री बनेको बताएका युवा नेता खतिवडाले कांग्रेस आफू हारे पनि देशलाई संविधानअनुसार अगाडि बढाउनु इमान्दारिताका साथ अगाडि बढेको बताए ।

‘राजा र राणाले हराउन नसकेको नेपाली कांग्रेसलाई अस्ती भरखरका फुच्चे कम्युनिस्टहरूले हराउन सक्दैनन्’, उनले भने, ‘कांग्रेस प्राविधिक रुपमा पराजित भएपनि जनताको मनभित्र अहिले पनि यथाअवस्थामा रहेको छ ।’

कांग्रेसले नै माओवादीलाई जंगलबाट ल्याएर शान्ति प्रक्रियामार्फत लोकतान्त्रिक प्रक्रियामा ल्याएको बताएका युवा नेता खतिवडाले भने, ‘जंगलबाट कांग्रेसले माओवादीलाई ल्यायो । तर, अहिले त्यो माओवादी भन्ने पार्टी नै बलिय भयो । कम्युनिस्टहरूले धेरै फर्ती नगर्दा हुन्छ ।’

नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई दुःख नदिन सत्ता पक्षका नेता र प्रहरी प्रशासनलाई चेतावनी दिएका छन् । ‘नेकपा छाडेर विभिन्न साथीहरू कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

उहाँहरूलाई हामीले स्वागत गरेर पार्टीमा प्रवेश गराएका छौँ’, उनले भने, ‘कांग्रेसमा प्रवेश गर्ने ती हाम्रा साथीहरूलाई स्वागत छ । हाम्रा साथीहरूलाई दुःख दिनेहरूलाई कांग्रेसको हात फलाम भएर बज्निेछ ।’

नेपाली कांग्रेसप्रति प्रधानमन्त्री ओलीका कठोर टिप्पणी आइरहेका सन्दर्भमा आलोचना गर्दै खतिवडाले भने, ‘०६४ मा झापामा फुच्चे माओवादीले ओलीलाई हराइदिएका थिए । प्रचण्डलाई कीर्तिपुरतिर हाम्रै कांग्रेसका साथीले हराइदिएका थिए । घमण्ड कसैले नगर्दा पनि हुन्छ ।’

आफैले बनाएको नयाँ संविधानलाई कार्यान्वयन गर्न कांग्रेसले गणितीय रुपमा आफू हारेर पनि देश र जनताको जित गराएको उनले बताए ।

कसैका सामू नझुकेको कांग्रेसलाई कम्युनिस्टहरूले हराउन नसक्ने उनले बताए ।

वर्तमान कम्युनिस्ट सरकारले ठूला–ठूला सपना जनताहरूलाई बाँड्दै ठूला–ठूला भ्रष्टाचार गर्दै आएको कांग्रेस नेता खतिवडाले बताए । ‘चाहे त्यो वाइड बडीको ४ अर्ब २५ करोडको भन्नुस् । चाहे त्यो बुढीगण्डकीको ४० अर्ब भन्नुस्’, उनले भने, ‘अरुण तेश्रो हाइड्रोपावर नबनाउन विश्वा बैंक (एडीबी)लाई एमालेले चिट्ठी लेख्छन् अनि अहिले हामीले गर्न लगाएको भन्दै हिँड्छन् ।’

बालुवाटार जग्गा प्रकरणमा आफ्नै महासचिव मुछिदा पनि ओलीले कुनै कारबाही नगरेकोमा कांग्रेसका युवा नेता खतिवडाले आपत्ति जनाए । ‘यो सरकार करोडमा होइन अर्बौंमा लुट मच्चाएको’, उनले भने, ‘भ्रष्ट कम्युनिस्टहरूका विरुद्ध हामी गाउँबाट जाग्नुपर्ने बेला भएको छ ।’

उनले लोकतन्त्रप्रति आस्थावन नेपाली कांग्रेसको सिपाहीहरू अब लोकतन्त्र रक्षाका लागि हरेकले आफ्नो घर, टोल, वडा, गाउँपालिका, नगर र जिल्लामा संगठन मजबुद बनाउन अनुरोध गरे ।

युवा नेता खतिवडाले तत्कालीन माओवादीलाई कांग्रेसले लगाएको गुण नभुल्न सुझाव दिएका छन् । ‘कांग्रेस नभएको भए प्रचन्ड मात्र होइन रामबहादुर थापाहरू जंगलको कुना कुनामा खोज्नु पर्ने हुन्थ्यो’, उनले भने, ‘ठेला गाडी चडेर अमेरिका पुग्न सकिन्न भन्ने ओली कांग्रेसका कारण प्रधानमन्त्री बन्नुभएको छ ।’ दोस्रो जनआन्दोलनका बेला ओलीले नेपालमा गणतन्त्र आउनु भनेको ठेला गाडी चढेर अमेरिका पुग्न सकिँदैन भनेको प्रसंग कांग्रेसका युवा नेता खतिवडाले उठाएका थिए ।

कार्यक्रममा कांग्रेसका नेता डा.रामशरण महत, केन्द्रीय सदस्य रामकृष्ण यादव, कांग्रेस नेतृ लक्ष्मी राईसहितका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Tuesday, 2019 May 14, 7:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया