ओलीको झुठको प्रमाण कांग्रेसका युवा नेता खनालले भिडियो बनाएर ल्याए

दार्चुला । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उठेका सवालहरूको जवाफ दिने क्रममा सबै तुइन बिस्थापित गरिसकेको दाबी गरेका थिए ।

नीति तथा कार्यक्रमको सम्बोधनअनुसार राष्ट्रपति भण्डारीको सरकारका प्रधानमन्त्री ओलीको दाबीलाई दार्चुला जिल्लामा रहेको जोखिमयुक्त तुइने खण्डन गरेको छ । दार्चुला जिल्लामा अहिले पनि स्थानीय जनताले तुइनको भरमा जोखिमपूर्ण यात्रा गरिरहेका छन् । उनीहरूलाई ओलीको तइन हटाउने अभिव्यक्तिले छोएको छैन ।

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले राष्ट्रपति भण्डारीद्वारा संसदमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा समेत तुइन बिस्थापित भइसकेको भनेर सम्बोधन गरेकोमा आपत्ति जनाए ।

‘राष्ट्रपतिको सरकारले तइन बिस्थापित गर्न सकेको छैन । राष्ट्रपतिको मुखबाट समेत सरकारले झुठ बोल्न लगाएको छ’, उनले भने, ‘दार्चुलाका जनता जोखिमयुक्त अवस्थाबाट अहिले पनि तुइन चढेर नदी वारपार गर्छन् । प्रधानमन्त्री ओलीले जनता र संसदलाई झुठ बोलेर गुमराहमा राख्नुभएको छ । गलत तथ्याङ्क दिनु भएको छ ।’

नेपाली कांग्रेसका युवा नेता खनालले तुइनलाई झोलुङ्गे पुलले बिस्थापित गरेर जनतालाई सुविधा दिने प्रधानमन्त्री ओलीको योजना राम्रो भएपनि काम नै नगरेर तुइन बिस्थापित भइसक्यो भनेर संसदलाई झुठ बोल्नु उचित नभएको बताए ।

ओली पहिलो पटक प्रधानमन्त्रीको शपथ लिएर पहिलो निर्णय गर्दा देशभरिका सबै तुइनलाई झोलुङ्गे पुलले बिस्थापित गर्ने निर्णय गरेका थिए ।

ओलीले प्रधानमन्त्रीको दोस्रो पटक शपथ लिएर पनि साढे एक वर्ष जिम्मेवारी सम्हालेको पूरा भइसकेको छ । तर, तुइनहरू अहिले पनि यथावत छन् ।

नेपाली कांग्रेसका नेता खनालले तुइन हेर्न दार्चुलामा आउन प्रधानमन्त्री ओलीलाई निम्तो दिएका छन् । ओलीले आफ्ना भाषणहरूमा बेलाबेला तुइनको कुरा उठाउने गरे पनि अझै पनि दुर्गमका नदीहरूमा तइनकै भर छ ।

कम्युनिस्टहरूले काम नगरी बोलेर जनतालाई ढाँट्ने गरेको भन्दै खनालले भने, ‘पहिला काम गर्नुपर्छ । काम गरेपछि मात्रै पछि प्रचार गर्नुपर्छ ।’ उनले कांग्रेससँग काम गर्ने शैली सिकेर तइन बिस्थापितको काममा लाग्न सुझाव दिए ।

‘काठमाडौंमा आफ्ना भारदारहरूसँग बसेर गलत तथ्याङ्क प्रस्तुत गर्ने प्रधानमन्त्री ओलीजीलाई कसले गलत सूचना दिइरहेको छ’, कांग्रेसका युवा नेता खनालले भने, ‘प्रधानमन्त्रीले फराकिलो दायर बनाएर असल सल्लाहकारहरू राख्नुपर्छ । सहि सूचना दिनुपर्छ ।’

नेपाली कांग्रेसले शुरू गरेको जागरण अभियान अन्तर्गत युवा नेता तथा पूर्वसांसद खनाल केन्द्रीय प्रतिनिधिका रुपमा दार्चुला जिल्लामा खटिएका छन् । उनले दार्चुलाको ग्रामीण क्षेत्रहरूमा पुगेर कांग्रेसको नीति तथा भावी कार्यक्रम र कम्युनिस्ट सरकारको भण्डाफोर गरेका छन् ।

Published : Tuesday, 2019 May 14, 12:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया