गगनको भाषण सुनेर कम्युनिस्टहरू मख्ख, ओलीले मिस गरे
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले कम्युनिस्ट सरकारले ल्याउन लागेको बजेटको बारेमा गहन अध्ययन तथा छलफल हुनुपर्ने बताएका छन् ।
सोमबार बसेको संसदको बैठकमा बोल्दै थापाले ०७६–७७ मा आउन लागेको बजेटका बारेमा पर्याप्त अध्ययन हुनु पर्ने बताए ।
सांसद थापाले सरकारले भावनाका आधारमा बजेट ल्याउन लागेका आरोप लगाए । उनले भने, ‘सरकारले एक वर्षको समीक्षाका आधारमा बिना कुनै अध्ययन ल्याएको काल्पनिक बजेटलाई हामीले राम्रो भनिदिनु पर्ने ?’
उनले देशमा औद्योगिक क्षेत्र ओरालो लागेको बारे सरकार चिन्तित नभएको बताए । यसका लागि देशमै सामाग्री उत्पादन गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए ।
‘विदेशी लगानीमा नेपाल जति अनुदार बन्छ, त्यति नै लगानी भित्रिने सम्भावना कम हुँदै जान्छ’, युवा नेता थापाले भने, ‘यसको बारेमा सरकार उदार बन्नुपर्छ ।’
कांग्रेसका सांसद थापाले गएको वर्ष आफ्ना निम्ति सुखद् रह्यो भन्ने एक जना भेट्टाइदिन अर्थमन्त्रीलाई चुनौती पनि दिएका छन् ।
‘राम्रै राम्रो भयो, सरकारले हरेक दिन एक कदम चालेकाले जनतामा खुसीयाली छायो’ भन्ने सरकारको दाबीको उनले खण्डन गरेका छन् ।
‘म विनम्रतापूर्वक अर्थमन्त्रीलाई चुनौतीका साथ भन्न चाहन्छु, एक पटक नेपाल घुमौं’, उनले भने, ‘प्रदेश सरकारदेखि स्थानीय सरकारसम्म, विद्यार्थी, शिक्षक, मजदुर, किसान, उद्यमी व्यवसायी कसैलाई पनि भेटौं, यो वर्ष मेरा निम्ति सुखद् वर्ष रह्यो भन्ने एक जना भेटाइदिनुस् ।’
आफूले यसो भन्दा अर्थमन्त्रीले अर्थतन्त्र मनोगत ढंगले होइन, तथ्यांकमा गर्नुस् भन्न सक्ने भन्दै उनले तथ्यांकहरू प्रस्तुत गरेका छन् ।
एकातिर लक्षित राजश्व संकलन हुन नसकेको र अर्को्तिर राज्यले चालु खर्च धान्न नसक्ने अवस्था आएको, ९ महिना ४० प्रतिशत विकास खर्च हुन नसकेको, निर्यातको अनुपातमा आयात १४ बाट १६ गुणामा पुगेको, वर्ष र दुई वर्षमा देखिने वित्तीय तरलता हरेक २–३ महिना देखिन थालेको, भएका उद्योग बन्द हुन थालेको भन्दै उनले निजी क्षेत्रको लागत मात्र होइन, निराशा बढेको बताए ।
सरकारले कुल ग्राहस्थ उत्पादनमा भएको वृद्धिमा हेर्नुस् भन्न सक्ने उनको तर्क छ । तर, ८ प्रतिशतको लक्ष्य राखेकोमा ६.८ प्रतिशत हासिल हुन सक्ने अवस्था आएको र यो मनसुनका कारण कृषिमा भएको वृद्धि, पुनर्निर्माणमा काष्ठ सामाग्रीको प्रयोग, आयातमा आधारित सेवा क्षेत्रमा भएको वृद्धिले ६.८ प्रतिशत आर्थिक वृद्धिदर हालिस भएको सांसद थापाको तर्क छ ।
बाह्य कारणले भएको आर्थिक वृद्धि दियो नहुने भन्दै उनले प्रश्न गरे, ‘यसका आधारमा चमत्कार भयो भनिदिनुपर्ने ?’
समृद्धिको परिकल्पना हावादारी भएका कारण सरकारको नीति तथा कार्यक्रम बरालिएको र त्यसले बजेटको नीति र सिद्धान्त झन् अलमल्लिएको दाबी गरे ।
कांग्रेसका युवा नेता थापाले सम्बोधन गर्दै गर्दा सत्तारुढ नेकपाका सांसदहरूले पनि चासोका साथ सुनेका थिए । कांग्रेसका एकजना सांसदले भने, ‘गगनको आजको सम्बोधन प्रधानमन्त्री खड्गप्रसाद ओलीले सुन्नुपर्ने थियो । मिस गर्नुभयो ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत