कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध रणनीति बनाउन कांग्रेसले बोलायो बैठक
काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारको प्रि–बजेटमाथिको छलफल लगायतका विषयमा परामर्श गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ ।
नेपाली कांग्रेस संसदीय दलको बैठक जेठ १ गते बुधबार बिहान ९ बजे बस्नेछ । बैठक संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
उनले बैठकमा मुलुकमा खड्गप्रसाद ओली सरकारको मौलाउँदै गएको अधिनायकवादका विरुद्धमा छलफल केन्द्रित हुने बताए ।
‘ओली नेतृत्वको कम्युनिस्ट सरकार दिन प्रतिदिन निरंकुश र अधिनायकवादी बन्दै गएको छ’, खाँणले भने, ‘कांग्रेस चुप लागेर बस्ने अवस्था रहँदैन । यो विषयमा संसदीय दलको बैठकमा प्रमुखताका साथ उठ्छ ।’ उनले संसदमा स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने विधेयकलाई पारित गर्न नदिने चेतावनी दिए ।
खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले पत्रकार र सञ्चारमाध्यमहरूलाई नियन्त्रण गर्ने गरेर विधेयक संसदमा दर्ता गराएपछि उत्पन्न परिस्थितिका विषयमा पनि छलफल हुनेछ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पार्टी मुख्यालय सानेपामा विशेष पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई दुःख दिने र प्रेस स्वतन्त्रता नियन्त्रण गर्न ल्याइएको विधेयकको विरोध गरेका थिए ।
नेपाली कांग्रेसले कम्युनिस्ट सरकारविरुद्ध कडा रुप देखाइरहेका बेला संसदीय दलको बैठक बस्न लागेको छ । नेपाली कांग्रेसले कम्युनिस्ट सरकार स्वतन्त्रत प्रेस विरोधी भएको जनाउँदै आएको छ ।
नेपाली पत्रकार महासंघसहित नेपाली कांग्रेस निकटको नेपाल प्रेस युनियनले पनि आन्दोलन घोषणा गरिसकेका छन् । कम्युनिस्ट सरकार चारैतिरबाट घेराबन्दीमा पर्न थालेको छ ।
प्रधानमन्त्री ओली विदेश भ्रमणमा छन् । ओली नेतृत्वको सरकारविरुद्ध देशभित्र आन्दोलनको माहोल बन्दै गएको कांग्रेस नेताहरूले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत