ओलीजी निर्मला पन्त पनि मजदुरकी छोरी थिइनः विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् युवा नेता विश्वप्रकाश शर्माले श्रमिकहरूको पसिनाको सम्मान गर्न नसक्दासम्म मुलुकमा समृद्धि आउन नसक्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले देश विदेशमा रहेका नेपाली श्रमिकहरूको स्मरण गरेका छन् ।
उनले ट्रेड युनियन कांग्रेसको नेतृत्व र पहलमा सामाजिक सुरक्षा कोष आएको भन्दै कम्युनिस्ट सरकारले आफू एक्लैले ल्याए जसरी प्रचार गरेकोमा आपत्ति जनाए ।
‘मैले मंसिर महिनामा राजधानीमा टाँसिएका दुई वटा तस्वीरहरूको मलाई स्मरण छ’, उनले भने, ‘संसारभरिका मजदुर एक हौँ भनेर भोट मागेर जितेका केपी ओलीजीले असंगठित क्षेत्रकी मजदुर दुर्गादेवी पन्तकी बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय मागेर राजधानीमा बिजुलीका पोलमा तस्वीर टाँस्दा प्रहरी लगाएर च्यातियो ।’
कम्युनिस्ट सरकारले प्रधानमन्त्री खड्गप्रसाद ओलीको तस्वीरलाई बिजुलीका पोलपोलमा टाँसेर मंसिर ११ गतेलाई नयाँ युगको सुरुवात भनेर जसरी प्रचार गरे त्यसले राम्रो सन्देश नदिएको कांग्रेसका प्रवक्ता शर्माको भनाइ छ ।
‘ओलीजीको तस्वीर टाँसेकोमा हामीलाई कुनै आपत्ति छैन । तर, न्यायको माग गरेर टाँसिएको असंगठित क्षेत्रकी मजदुर दुर्गादेवी पन्तकी छोरीको तस्वीर प्रहरी लगाएर च्यात्नु राम्रो भएन’, उनले भने, ‘सामाजिक सुरक्षा कोष नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले विधेयक संसदमा पेस गरेर शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला संसदबाट पारित भएको थियो । तर, कम्युनिस्ट सरकारले सामाजिक सुरक्षा कोषको क्रेडिट सबै आफूलाई लिने गरेर प्रचार गरियो ।’
सामाजिक सुरक्षा कोषको परिकल्पना नेपाल ट्रेडयुनियन कांग्रेसको रहेको कांग्रेसका प्रवक्ता शर्माले बताए ।
नेपाली कांग्रेसका प्रवक्ता शर्माले भने, ‘मंसिर ११ गते सामाजिक सुरक्षा कोष लागू गर्ने दिन बिजुलीको पालमा प्रधानमन्त्री ओलीजीको तस्वीरभन्दा पनि मजदुरको तस्वीर टाँगिएको भए हुने थियो ।’
उनले ४० डिग्री तापक्रममा खाडीमा काम गर्दै गरेका नेपाली श्रमिकहरूलाई पनि स्मरण गरेका थिए । ‘खाडीका सबै श्रमिक युवाहरूलाई सम्झिन चाहन्छु । विश्व कप फुटबलको रंगशाला बनाउँदै गरेका नेपाली श्रमिकहरूलाई स्मरण गर्न चाहन्छ । रंगशाला बनाउँदै गदा तीन दर्जनभन्दा धेरै नेपाली श्रमिकहरूले ज्यान गुमाएका छन्’, प्रवक्ता शर्माले भने, ‘खाडीमा मृत्यु भएका नेपाली श्रमिक र युवाहरूप्रति श्रद्धाञ्जलि छ ।’
कांग्रेसका प्रवक्ता शर्माले कम्युनिस्टहरूका कारण देशमा लोडसेडिङ भएको बताए । ‘कम्युनिस्टहरूले २५ वर्ष अगाडि अरुण तेस्रो मुर्दावाद भन्यो । पहिलो पुस्ता (आमाबाबु) अरुण तेस्रो बन्न दिएन’, उनले भने, ‘दोस्रो पुस्ता (छोराछोरी)ले लोडसेडिङ मुर्दावाद भनेको छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत