विष्णु पौडेलसहितका हाइप्रोफाइललाई जोगाउन यति ठूलो खेल, कांग्रेसले बल्ल बुझ्यो जालझेल

काठमाडौं । नेपाली कांग्रेसले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा कसरी पुग्यो भन्ने तथ्य प्रमाण बाहिर आइसकेको भन्दै दोषीलाई जोगाउने घटनालाई विषयान्तर गर्न खोजिएको प्रक्रिया सार्वजनिक भएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गरेर दोषीलाई जोगनउ ढंगले विषयलाई ढाकटोप गर्न खोजिएको आरोप लगाए ।

‘बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा, कसरी पुग्यो, त्यसमा को संलग्न थिए र छन् भन्ने विवरण यसवीचमा तथ्य प्रमाणका साथ सार्वजनिक भैसकेको छ’, नेपाली कांग्रेसका प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दोषीलाई जोगाउने ढंगले, विषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारहरूप्रति सजगताका लागि नेपाली कांग्रेस सबैमा अपील गर्दछ ।’

बालुवाटारको सरकारी जग्गा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलसहितका विवादास्पद ठूला व्यापारी, नेतासहित भीभीआइपीहरूको नाम जोडिएपछि घटनालाई अतिरञ्जित गरेर अनुसन्धान र कारबाही प्रक्रियालाई अन्यत्र मोड्न खोजिएको कांग्रेसको आशंका छ ।

बालुवाटारको सरकारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम जोडेर केही राष्ट्रिय दैनिक पत्रिकाहरूले समाचार सार्वजनिक गरेको छ । ती समाचारहरूबाट बिचलित नभइ अनुसन्धानलाई जारी राख्न नेपाली कांग्रेसका प्रवक्ता शर्माले अपील गरेका छन् ।

‘वैशाख १६ गते प्रतिनिधिसभाको बैठकमा स्वयं सभापति शेरबहादुर देउवाले बालुवाटार प्रकरणबारे पार्टीका तर्फबाट कडा अभिमत व्यक्त गरिसक्नु भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस सो प्रकरणको गहिरो छानविन गरेर दोषीलाई दण्डित गरिनुपर्ने विषयमा एकमतका साथ प्रष्ट रहेको धारणा दोहोर्‍याउन चाहन्छ ।’

‘तथ्यको जगमा सत्यको खोजी र दोषीमाथि कार्वाहीका लागि आम नागरिकको सजगता, संचार माध्यमहरूको निष्पक्ष प्रखरता, अनुसन्धानकर्मीहरूको इमानदारीतासंगै प्रतिपक्षको दबाब र सरकारको ईमान्दार विवेक यतिबेला परीक्षाको कसिमा छ’, शर्माले भनेका छन् ।

‘नेपाली कांग्रेस बालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानबिनका साथ कुनैपनि मोलाहिजा वेगर दोषीमाथि कार्वाहीको माग पुन दोहोर्‍याउन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको गम्भीर विषयप्रति नेपाली कांग्रेसले सार्वजनिक रुपमा आपक्ति व्यक्त गर्दै आएको तथ्य सर्वविदितै रहेको प्रवक्ता शर्माले जनाएका छन् ।

‘वैशाख २५ मा शुरु हुने ‘राष्ट्रिय जागरण अभियान’मा यस्ता सबै खाले विसंगतिका विरुद्ध राष्ट्रव्यापी रुपमा आवाज घनिभूत तुल्याइँदैछ’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको भूमाफियाहरूको नामसँगै नेकपाका महासचिव विष्णु पौडेलले आठ आना जग्गा आफ्नो छोराको नाममा किनेको देखिएपछि कारबाहीको माग गरेर नेपाली कांग्रेसले सार्वजनिक रुपमा माग गर्दै आएको छ । बालुवाटारको सरकारी जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नाम समेत मुछिएको छ ।

कांग्रेसको माग र सर्वसाधारणको जनदवाव खेप्न नसकेको कम्युनिस्ट सरकारका दुई जना मन्त्रीहरूले महासचिव पौडेल निर्दोष रहेको र क्षतिपूर्ति दिनुपर्ने भनेर सार्वजनिक रुपमा भनि सकेका छन् ।

यस्तो अवस्थामा नेकपाका महासचिव पौडेल र भूमाफियाहरूले नेपाली कांग्रेसका सभापति देउवालाई जबरजस्ती घटनामा तानेर जग्गा प्रकरणको अनुसन्धान र कारबाहीलाई विषयान्तर गर्न खोजेको तर्क अगाडि आएको छ ।

Published : Tuesday, 2019 April 30, 6:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया