जनसम्पर्क समितिहरूको अधिवेशन रोक्न कांग्रेसको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले जनसम्पर्क समितिहरूमा विवाद भएपछि ३२ वटै देशका समितिको अधिवेशन स्थगित गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सोमबार बसेको पदाधिकारीहरूको बैठकले जनसम्पर्क समितिहरूले क्रियाशील सदस्यताको सूची पार्टी केन्द्रमा पठाएपछि मात्रै अधिवेशन गर्न पाउने निर्णय गरेको हो ।
अधिवेशन स्थगित गरी जागरण अभियानमा केन्द्रित हुन सर्कुलर पठाउने निर्णय पनि कांग्रेसले गरेको छ ।
कम्तिमा एकदेखि डेढ महिनासम्ममा सदस्यतासहितका विवाद मिलाएर सदस्यताको सूची केन्द्रमा पठाउन कांग्रेस केन्द्रले सर्कुलर गर्ने तयारी गरेको छ ।
३२ देशमध्ये केही देशमा नेतृत्वदेखि सदस्यतासम्मको विवाद छ । त्यसैले विवादका बीच अधिवेशन नगर्न पार्टीले सर्कुलर पठाउने तयारी गरेको छ ।
अब सबै जनसम्पर्क समितिहरूले अधिवेशन स्थगित गरी २५ वैशाखदेखि हुने जागरण अभियानका केन्द्रित हुनुपर्नेछ ।
सबै समितिहरूले विवादरहित सूची कांग्रेसको केन्द्रीय कार्यालयमा पठाएपछि मात्रै उनीहरूले अधिवेशन गर्न पाउने जानकारी कांग्रेस स्रोतले दिएको छ ।
समितिमा क्रियाशील सदस्य नै अधिवेशनमा भोटर हुन्छ । कांग्रेसको गुटगत छायाँबाट जनसम्पर्क समितिहरू सबैभन्दा बढी विवादमा पर्ने गरेका छन् ।
पार्टी केन्द्रबाटै गएका प्रतिनिधिले पनि समितिहरूलाई विवादमा पार्ने गरेको आरोप लाग्ने गर्छ ।
भारत, अमेरिका, जापान, बेल्जियसहितका देशका समितिहरु प्रायः विवादमा पर्ने गर्छन् ।
जागरण अभियानअन्तर्गत जनसम्पर्क समितिहरूलाई कांग्रेसले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था गर्न सर्वोच्चले गरेको फैसलाको कार्यान्वयन गराउन नियोगमार्फत दबाब दिने भनेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत