प्रचण्डसँग धोका पाएको चितवन कांग्रेसले राख्यो संयुक्त कार्यक्रम, संगठित गर्दै कार्यकर्ता

भरतपुर । नेपाली कांग्रेस चितवन र नवलपुरले मजदुर दिवस संयुक्त रुपमा मनाउने निर्णय गरेका छन् ।

दुबै जिल्ला कार्यसमितिले वैशाख १८ गते परेको मजदुर दिवस संयुक्त रुपमा मनाउने निर्णय गरेका हुन् ।

नेपाली कांग्रेस चितवनको पार्टी कार्यालय भरतपुरमा सोमबार भएको छलफलमा चितवन र नवलपुरले मजदुर दिवस संयुक्त रुपमा मनाउने निर्णय गरेको चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । ‘मजदुर दिवसलाई भव्य रुपमा मनाउने निर्णय भएको छ’, उनले भने, ‘दुबै जिल्लाका मजदुर र पार्टीका साथीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका छौँ ।’

छलफलमा ट्रेड युनियन कांग्रेससंग आबद्ध बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

मजदुर दिवसको अवसरमा भरतपुर महानगरपालिकाको वडा नम्बर २ क्षेत्रपुरमा रहेको नारायणी कलामन्दिरमा कार्यक्रम राखिएको छ ।

कार्यक्रमलाई नेपाली कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

वैशाख १८ गते बुधबार बिहान ११ बजे नारायणगढको लाइन्सचोकमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू जम्मा भएर ¥यालीसहित कलामन्दिरमा जाने कार्यक्रम पनि तयार पारिएको छ ।

कार्यक्रमलाई सफल बनाउन ट्रेड युनियन कांग्रेससंग आबद्ध सबै संघ संस्थाहरूलाई सहयोगको अपील समेत गरिएको छ ।

सोमबार आयोजित छलफल कार्यक्रममा नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशी, राजीव न्यौपाने, ट्रेड युनियन कांग्रेसकी केन्द्रीय उपाध्यक्ष ईन्दिरा सापकोटा, केन्द्रीय सदस्य लक्ष्मण भट्टराई, प्रदेश संयोजक घनश्याम चापागाइँ, नेपाली कांग्रेसका जिल्ला सदस्य एवम् ट्रेड युनियन विभागका प्रमुख गणेश पौडेल लगायतको सहभागिता रहेको थियो ।

छलफल कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा ट्रेड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाले मजदुर दिवसको कार्यक्रमको तयारीका बारेमा जानकारी गराएका थिए ।

स्थानीय तहको निर्वाचनका बेला नेपाली कांग्रेसले तत्कालीन माओवादी केन्द्रसँग तालमेल गरेको थियो ।

तर, माओवादीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसलाई धोका दिएर एमालेसँग चुनावी तालमेल गरेको थियो ।

माओवादीसँग धोका खाएको नेपाली कांग्रेसले चितवनमा आफ्नो संगठन सुदृढीकरणलाई मजबुत बनाउन थालेको छ । निर्वाचनका बेला तितरबितर बनेका कांग्रेसका नेता तथा कार्यकर्ताहरू फेरि एक पटक कम्युनिस्टहरूविरुद्ध संगठित हुन थालेका छन् ।

कांग्रेसको साथ लिएर सत्तारुढ नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा जिताएका थिए ।
प्रचण्ड आफूले पनि चितवनबाट प्रतिनिधि सभा निर्वाचनमा विजयी हालिस गरेका थिए ।

Published : Monday, 2019 April 29, 9:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया