सरकारी पैसा कुम्ल्याउन खोज्ने मन्त्रीहरूलाई कांग्रेसले नछाड्ने

काठमाडौं । प्रदेश २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धनमा प्रदेश सरकार बनेको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत छन् । उनी संघीय फोरमका नेता हुन् । भारतसँग निकट सम्बन्ध रहेको मानिने राउतले आफ्नो प्रदेशका मन्त्रीहरूलाई नियन्त्रणमा राख्न नसकेको बेलाबेला आरोप लाग्दै आएको छ ।

सात वटा प्रदेशमध्ये सबैभन्दा धेरै विवाद र काण्ड प्रदेश २ मा हुने गरेको छ । प्रदेश २ का मन्त्रीहरूले कहिले आफ्नै मन्त्रीलाई मुक्का हान्ने, एनजिओलाई पैसा नदिएको भनेर कुट्ने, पाकिस्तानको उक्साहटमा मदरसा शिक्षा विधेयक सदनमा पेश गर्नेलगायतका उटपट्याङ गर्दै आएका छन् ।

यति उटपट्याङ हुँदा पनि मुख्यमन्त्री राउत निरिह बनेका छन् । बरु उनले केन्द्र सरकारलाई गाली मात्रै गर्छन् । आफ्ना मन्त्री र कर्मचारीहरू सम्हाल्न नसक्ने मुख्यमन्त्री राउतले नेपाली कांग्रेसलाई समेत चिढ्याएका छन् । उनले वीरगञ्जमा बन्न लागेको वीपी पार्कको जग्गा हडपेका छन् ।

यसै क्रममा प्रदेशमा २ मा आफन्त र कार्यकर्ता पोस्न प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र सामाजिक विकासमन्त्री नवलकिशोर साहले २ अर्ब ३७ करोड रुपियाँ रकमान्तर गरेका छन् ।

उनीहरूले रकम रकमान्तर गर्दा आफ्ना मान्छेको नामै किटेर ठूला योजनाको रकम फुटकरमा सारेका हुन् ।

स्थानीय तह र संसदीय कोषले छनोट गरेजस्ता साना र फुटकर योजनामा करोडौं रुपियाँ सारिएको छ । बजेट मन्त्रीहरूले गृह जिल्ला र संसदीय क्षेत्रमा पारेका छन् ।

उद्योग मन्त्रालयले फागुन ९ गते ८४ वटा शीर्षकमा १ अर्ब ६७ करोड ७ लाख २१ हजार र सामाजिक विकास मन्त्रालयले माघ ७ गते २ सय ७४ वटा शीर्षकमा ७० करोड रुपियाँ रकमान्तर गरेका हुन् ।

प्रदेश २ को विकास सूचकांकसँग जोडिएको यी दुई मन्त्रालयको बजेट एकीकृत र ठूला योजनामा खर्चिनुपर्नेमा मन्त्रीकै निर्देशनमा आर्थिक वर्षको अन्त्यतिर टुत्रे योजनामा छरिएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रायले पर्यटन क्षेत्रमा विनियोजन गरिएको ३२ करोड रुपियाँलाई छिन्नभिन्न पारेर १ सय २६ वटा योजनामध्ये ६६ वटा गृह जिल्ला सर्लाहीमा लगेका छन् ।

रकमान्तर गरिएका अन्य योजना कार्यान्वयनमा लगे पनि पर्यटनको ३२ करोड रुपैयाँ छिन्नभिन्न गरेर एउटै जिल्लामा अधिकांश योजना लगेको भन्दै मन्त्रालयका सचिव विद्यानाथ झाले फाइल अड्काइदिएका छन् ।

रकमान्तर गरिएको ७० करोड रुपियाँमध्ये २४ करोड छोरा मेयर रहेको नगरपालिकामा खन्याएका सामाजिक विकासमन्त्री नवलकिशोर साहले नाम र मोबाइल नम्बरै किटेर योजना जिल्ला पठाएका छन् ।

नेपाली कांग्रेसले प्रदेश २ मा भइरहेको बेथितिका विरुद्ध सदन र सडकबाट आवाज उठाउने जनाएको छ ।

Published : Friday, 2019 April 26, 12:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया