‘ओली–राष्ट्रपति–बालुवाटार’बारे डा. शेखर कोइरालाको ठूलो खुलासा, मच्चियो उथलपुल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारी मन्त्रीहरूले गर्ने काम गर्दै हिँडेको भन्दै आलोचना गरेका छन् ।

भक्तपुरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा.कोइरालाले सेरमोनियल राष्ट्रपतिले संविधानले दिएको अधिकारभन्दा धेरै अधिकारको प्रयोग गर्न खोजेको आरोप लगाए ।

‘केही दिन अगाडि राष्ट्रपति पोल्याण्ड जानुभयो, फेरि चीनमा भाषण गन जाँदै हुनुहुन्छ’, उनले भने, ‘संविधानले राष्ट्रपतिलाई कुनै पनि अधिकार दिएको छ । तर, उहाँ कार्यकारी राष्ट्रपति जसरी भाषण गरेर हिँडिरहनु भएको छ । राष्ट्रपति सेरमोनियल हो कि कार्यकारी ?’

नेपाली कांग्रेसका नेता डा.कोइरालाले राष्ट्रपति भण्डारीलाई मन्त्रीले गर्ने काम नगर्न सुझाव दिए । ‘मन्त्रीले गर्ने काम संवैधानिक राष्ट्रपतिले गर्नु हुँदैन’, उनले भने, ‘कार्यकारी जस्तै गरेर राष्ट्रपति अगाडि बढी रहनुभएको छ । यो उचित होइन ।’

राष्ट्रपति भण्डारीलाई १८ करोडको गाडी किन चाहियो ? भनेर डा.कोइरालाले प्रश्न उठाएका छन् । ‘राष्ट्रपतिलाई किनिदिएको १८ करोडको गाडीको खर्चले भक्तपुरमा सबै सामुदायक स्कुलको अवस्था सुध्रिने थियो । राष्ट्रपतिलाई डेढ अर्बको हेलिकप्टर किनिएको छ । हेलिकप्टर किन्ने पैसाले त शिक्षा र स्वाथ्यमा नयाँ सुधार गर्न सक्ने थियौं ।’

खड्गप्रसाद ओली नेतृत्वको वर्तमान कम्युनिस्ट सरकारले संघीयतालाई असफल बनाउन लागेको कांग्रेस नेता डा.कोइरालाले आरोप लगाए । ‘सीडीओहरूलाई शक्तिशाली बनाइएको छ । संघीयतामा अधिकार प्रदेश सरकारहरूलाई हुन्छ’, उनले भने, ‘बन्दै गरेको नयाँ अधिकारले प्रदेश सरकारहरू झन् कमजोर हुनेछन् ।’

डा.कोइरालाले संघीयताको रक्षा लोकतान्त्रिक शक्तिले मात्रै गर्नेभन्दै कम्युनिस्टहरूले जनवादी केन्द्रीयता मात्रै जान्ने गरेको बताए । ‘संघीयतालाई बचाउने भनेको कांग्रेसले मात्रै हो’, उनले भने, ‘मार्क्सवाद, लेनिन्, एंगल्स सिद्धान्त मान्ने कम्युनिस्टहरूको डिस्नेरीमा संघीयता हुँदैन । उनीहरू जनवादी केन्द्रीयतामा विश्वास गर्छन् ।’

जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार केपी ओलीले सबै शक्तिहरू आफूमा केन्द्रित गरेर गइरहेको कांग्रेसका नेता डा.कोइरालाले बताए । ‘देश कब्जा गर्नेतिर ओलीजी जानुभएको छ । राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभागहरू आफू मातहत लैजानुभएको छ’, उनले भने, ‘ओली सरकारसँग कर्मचारीहरू डराइरहेका छन् । यो सबै कम्युनिस्टहरूको जनवादी केन्द्रीयताका कारण हो ।’

ओली सरकारका कारण मिडियाहरू समेत डराएको उनले बताए । ‘एउटा गीतसँग पनि यो सरकार डराएको छ’, उनले भने, ‘मैले पशुपति शर्मालाई चिनेको छैन । तर, उनको गीतबाट ओली सरकार थरर भएको छ ।’

नयाँ बन्दै गरेको सामाजिक सञ्जाल नियन्त्रण गर्न बनेको विधेयक सञ्चारमाध्यमका लागि ठूलो काल भएको कांग्रेसका नेता डा.कोइरालाले बताएका छन् । ‘ओलीको कार्टुन बनाउनु भयो भने तपाईको घरमा पक्राउ गर्न पुगिहाल्छ मान्छे । सामाजिक सञ्जाल ऐन आउँदै छ । यो अत्यन्तै खतरनाक छ’, डा.कोइरालाले भने, ‘त्यसले त मिडियालाई अगाडि बढ्नै दिँदैन ।’

ओली सरकार समक्ष सर्वोच्च अदालत समेत निरीह बनेको उनले आरोप लगाएका छन् । सर्वोच्च अदालतले नागरिकताका विषयमा गृह सचिवको पत्रलाई सदर गरेर ठूलो भुल गरेको उनले आरोप लगाए ।

कांग्रेसका नेताहरूले नागरिकताका विषयमा बोल्न धेरै ढिला गरिसकेको उनले बताए । कानून बनाएर नागरिकता वितरण गर्नुपर्नेमा गृह सचिवको पत्रले नागरिकता जस्तो सम्वेदनशील विषयलाई हल्का रुपमा वर्तमान कम्युनिस्ट सरकारले लिएको डा.कोइरालाले बताए ।

ओली सरकारले नेपाली सेनालाई समेत नियन्त्रणमा राख्न खोजेको भन्दै उनले विरोध गरे । सेनालाई सुरक्षापरिषद विनै चलाउने ओलीको गृहकार्य अधिनायकवाद भएको डा.कोइरालाले बताए ।

नेपाली कांग्रेसका नेता डा.कोइरालाले ३३ किलो सुनकाण्डका मतियारहरू बालुवाटारभित्र बसेको दाबी गरेका छन् । ‘ठूला माछा सबै बालुवाटारमा छन् । सुनकाण्डका भुरालाई मात्रै पक्राउ गरिएको छ । साना माछा पनि पक्राउ पर्न सकेका छैनन्’, उनले भने ।

वर्तनमा सरकारले फोरजीमा १२ अर्बको घोटाला गरेको उनले बताए । ‘वाइड बडी जहाज खरिदमा चार अर्ब सैँतीस करोड । एनसेलको कर लगायतमा सरकार मुछिएको छ’, उनले भने, ‘बालुवाटारले भ्रष्टहरूलाई संरक्षण गरेर राखेको छ । कारबाही हुनै दिइएको छैन ।’

नेता डा.कोइरालाले पार्टीभित्र विवाद रहेको स्वीकार गर्दै सहमति र सहकार्यको संस्कार अंगाल्न पार्टी नेतृत्वलाई सुझाव दिए । उनले महासमिति बैठकले दिएका सुझावहरूलाई नेतृत्वले अस्वीकार गर्दा गाउँका नेता तथा कार्यकर्ताहरूमा निराशा छाएको बताए ।

Published : Sunday, 2019 April 21, 11:12 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया