दलित बस्तीमा रामचन्द्रका छोरा, गरे कांग्रेसका ठूला नेताले गर्न नसकेको काम (तस्वीर)

दमौली । तनहुँ जिल्लामा नेपाली कांग्रेसका नेताहरूले दलित समुदायसँग सहभोज गरेर सामाजिक जागरणको अभियान थालेका छन् ।

‘युवा जागरण अभियान’ले शुक्रबार तनहुको बन्दिपुर २ मोरियाको दलित बस्तीमा सहभोजनको कार्यक्रम गरेको हो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले अभियानमार्फत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू गर्दै आएका छन् । चिन्तनले केही दिन अगाडि बारा जिल्ला पुगेर अभियानमार्फत हावाहुरी पीडितहरूलाई राहत वितरण गरेका थिए ।

सामाजिक विभेद, छुवाछुत अन्त्य गर्दै विकसित समाज निर्माणमा सहयोग पुर्‍याउने उदेश्यले बन्दिपुर २ तनहुँ दलित बस्तीमा नयाँ वर्ष २०७६ सालको शुभ उपलक्ष्यमा अभियानद्वारा आयोजित सामाजिक सचेतनाको लागि सहभोजन कार्यक्रममा कांग्रेसका युवा नेताहरू सहभागी रहेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरे, केन्द्रीय सदस्य जीवन परियार, सांसद प्रकाश रसाइली ‘स्नेही’, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, सांसद दोबाटे बिक, सांसद सरिता गुरुङ, कांग्रेस नेतृ बिनिता अधिकारी, नेपाली कांग्रेस बन्दिपुर गाउँपालिकाका सभापति कर्णबहादुर खत्री, नेपाली कांग्रेस जिल्ला सहसचिव केशबहादुर सुनार, दलित संघ जिल्ला उपाध्यक्ष रामबहादुर बिक, सांस्कृतिक संघ तनहुँका अध्यक्ष बिन खाती, प्रजातान्त्रिक समाज केन्द्रका अध्यक्ष रविन कोइराला, तरुण दलका नेता लालबहादुर जिसी, नेतृ शर्मिला थापा, नेबिसंघका नेता ई. भुवन भट्ट, नेबिसंघ तनहुँ–काठमाडौं सम्पर्क समिति अध्यक्ष प्रवीन कैनी, विद्यार्थी नेता श्रीकृष्ण लामिछानेसहितले दलित समुदायसँग सहभोजमा सहभागी भएका हुन् । कार्यक्रममा करीव दुई सय जनाको सहभागिता रहेको थियो ।

तनहुँ नेपाली कांग्रेसका युवा नेता समेत रहेका चिन्तन पौडेलको गृहजिल्ला पनि हो ।

कार्यक्रममा सहभागी २०० दलित समुदायका महिला र पुरुषहरूसँगै उपस्थित नेता, कार्यकर्ताहरूले सहभोजन गरी नयाँ वर्षको शुभकामना आदान प्रदान गरेका छन् ।

कार्यक्रममा अभियानका संयोजक पौडेलले २००७ साल बाट नेपाली कांग्रेसले जातीय भेदभावको अन्त्यका लागि आन्दोलन गर्दै आएको बताए । उनले २०२० सालमा छुवाछुतको अन्त्य भई सकेको भन्दै २०७२ सालको संविधानमा समेत दलितका अधिकार सुनिश्चित गरी भेदभाव गर्ने माथि दण्डको व्यवस्था गरिएको बताए ।

‘आजका दिनसम्म आचरणमा सामाजिक भेदभाव, छुवाछुत अन्त्य नभएकाले युवा जागरण अभियानले नयाँ सामाजिक आन्दोलको सुरुवात गरेको छौं’, संयोजक पौडेलले भनेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद जीवन परियार, सांसद प्रकाश रसाइली लगायतका युवा नेताहरूले लोकतन्त्र बलियो बनाउन सामाजिक विभेद, छुवाछुत र कुरीतिको अन्त्य आवश्यक रहेको बताए ।

दलितका अधिकार नेपाली कांग्रेसकै नेतृत्वमा स्थापित भएको भन्दै रसाइलीले दलितको पक्षमा वकालत गर्ने पार्टी कांग्रेस मात्रै भएको बताए ।

नेपाली कांग्रेस स्थापना हुँदा पनि वीपी कोइरालाले दलित समुदायका नेता देवब्रत परियारलाई साथमा राखेको उदाहरण दिँदै केन्द्रीय सदस्य एवम् सांसद परियारले दलितप्रति नेपाली कांग्रेसको व्यवहार सधै उदार रहेको बताए ।

उनले सामाजिक आचरणमा कमजोरीहरू भएका कारण दलितप्रति विभेदको व्यवहार आजसम्म कायम रहेको बताए ।

कांग्रेसको बिचार र युवा जागरण अभियानबाट प्रभावित भई कार्यक्रममा सत्तारुढ नेकपाका १३ जना दलित युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस प्रवेश गर्नेहरूमा राजकुमार नेपाली, विकास नेपाली, सीताराम बिक, भरत बिक, शेखर नेपाली, बुद्धिबहादुर नेपाली, होम नेपाली, विष्णुबहादुर नेपाली, राजकुमार नेपाली, शम्भु मझकाटी, सुकबहादुर नेपाली, हर्कबहादुर सुनार, बिदुर नेपाली रहेका छन् ।

उनीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद जीवन परियार र अभियानका संयोजक पौडेलले टीका लगाइदिएर कांग्रेसमा प्रवेश गराएका हुन् ।

Published : Sunday, 2019 April 21, 9:35 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया