जग्गा काण्डमा ओलीले फसाएको विष्णु पौडेलको आरोप, खुमलटारको संरक्षण

काठमाडौं । बालुवाटारको सरकारी जग्गा काण्डमा मुछिएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई पदबाट राजीनामा दिन दवाव परेको छ ।

नेकपाका दोस्रो तहका नेताहरूले पौडेललाई महासचिव पदबाट राजीनामा दिएर छानविनलाई निष्पक्ष बनाउन सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् । नेकपाकै नेताहरूबाट राजीनामाका लागि दवाव परेपछि तनावमा परेका पौडेलले आफ्नो पक्षमा माहोल बनाउन खुमलटार र भैँसेपाटीसँग निकटता बढाएका छन् ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा खरिद जस्तो गम्भीर प्रकरणमा महासचिव पौडेलको नाम जोडिएपछि त्यसप्रति पार्टी मौन बस्न नहुने नेताहरूको भनाइ छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छानबिन गरिरहेकाले ती निकायलाई निष्पक्षताका साथ काम गर्ने वातावरण बनाउन पनि महासचिव पौडेल पदबाट अलग हुनुपर्ने उनीहरूको धारणा छ ।

पौडेल स्वयंले पद त्याग नगरे पार्टीले नै निलम्बनको निर्णय गर्नुपर्ने नेकपाका नेता एवम् सांसद विशाल भट्टराईले बताएका छन् । भट्टराई संस्थापन निकटका नेता मानिन्छन् ।

नेकपाका नेता एवम् सांसद मेटमणि चौधरीले पनि महासचिव पौडेललाई हटाएर छानविन गर्नुपर्ने बताएका छन् । चौधरी वरिष्ठ नेता माधवकुमार नेपाल निकटका हुन् ।

सरकारी जग्गा किनबेच जस्तो जघन्य अपराधका विषयमा दोषी पाइए जोसुकैलाई कार्वाही गर्नुपर्ने नेकपाका नेता र सांसदहरू बताउँछन् ।

नेतृत्वको नाम जोडिएकाले यस विषयमा छानविन गरी तत्काल सत्य तथ्य सार्वजनिक गर्नु पर्ने उनीहरूको भनाइ छ ।

पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको सरकारी छानविन टोलीले ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा भूमाफियाले व्यक्तिको नाममा सारी विभिन्न व्यक्ति र संस्थालाइ बेचबिखन गरेको र कतिपय उच्च नेता तथा प्रभावशाली व्यक्तिलाई पनि दिएको निष्कर्षसहित प्रतिवेदन दिएको थियो ।

नेकपाका महासचिव पौडेलले छोरा नवीन पौडेलका नाममा ८ आना जग्गा रहेको र वैधानिक रूपमै कारोबार गरेको दावी गरेका छन् ।

यस विषयमा नेकपाको आधिकारिक धारणा सार्वजनिक भएको छैन । पौडेलमाथिको कारवाहीबारे पार्टीमा औपचारिक प्रस्ताव भने दर्ता गरिएको छैन ।

नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबारको पत्रकार सम्मेलनबाट पौडेलको पक्षमा अभिव्यक्ति दिएका छैनन् ।

अघिल्लो बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बास्कोटाले महासचिव पौडेललाई फसाइएको र क्षतिपूर्ति दिनुपर्ने अभिव्यक्ति दिएपछि मन्त्री बास्कोटाको आलोचना भएको थियो ।

बिहीबारको अर्को पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले जो भएपनि दोषी पाइए कारबाही हुने भनेपछि महासचिव पौडेललाई तनाब बढेको छ ।

स्रोतका अनुसार महासचिव पौडेलले नेकपाको संस्थापन पक्षबाट जग्गा विवाद पारेर हटाउन खोजेको गुनासो आफू निकटका नेताहरूसँग गर्दै आएका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले आफूलाई बचाउन कुनै पनि पहल नगरेको बरु आफू निकटका नेताहरूलाई उचालेर महासचिव पदबाट हटाउन खोजेको बताउने गरेका छन् ।

संस्थापन समूह आफूविरुद्ध लागेको अनुभूति गरेका महासचिव पौडेल कारबाहीबाट जोगिन खुमलटारमा बस्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भैंसेपाटीमा बस्दै आएका बामदेव गौतमसँग सम्पर्क बढाएको आरोप छ ।

वैशाख ९ गतेभित्र नेकपाको केन्द्रीय सचिवालयको बैठक बस्दै छ । त्यो बैठकमा पौडेललाई महासचिव पदबाट हउटाउने प्रस्तावले प्रवेश पाउन सक्ने स्रोतको भनाइ छ ।

यो कारबाहीबाट जोगिन पौडेलले प्रचण्ड र गौतमसँग बाक्लो सम्बन्ध बनाएको उच्च स्रोतले जनाएको छ । पौडेललाई बचाउन भन्दै केही दिन अगाडि गौतमले काठमाडौंको एउटा होटेलमा गोप्य परामर्श समेत गरिसकेका छन् ।

Published : Friday, 2019 April 19, 11:02 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया