अधिनायकवादी ओली सरकारविरुद्धको आन्दोलनमा तरुण दलले मोर्चा सम्हाल्ने, केन्द्रबाट निर्देशन

काठमाडौं । नेपाल तरुण दलले खड्गप्रसाद ओली नेतृत्वको अधिनायकवादी कम्युनिष्ट सरकारको जनविरोधी कृयाकलापको विरुद्ध नेपाली कांग्रेसले घोषणा गरेको जनजागरण अभियानलाई व्यापक बनाउन सबै जिल्लाहरूलाई निर्देशन दिएको छ ।

तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीद्वारा जारी परिपत्रअनुसार मातहतलाई कांग्रेसले शुरु गर्न लागेको सरकार विरोधी कार्यक्रममा उपस्थित भइ सशक्त रुपमा क्रियाशील हुन निर्देशन दिइएको छ ।

‘सबै जिल्ला, क्षेत्र, गाउँ, नगर, वडा र टोल सम्म विस्तारित हुने हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रि«य जागरण अभियान नेपाली कांग्रेसद्वारा घोषणा गरिएको स्मरण गराउँदै उक्त जागरण अभियानलाई व्यापक र प्रभावकारी बनाउनु नेपाल तरुण दलको अहम जिम्मेवारी भएकोले त्यस जिल्ला समितिले जिल्ला भित्रका दलका सबै समितिहरुलाई क्रियाशील गराई सम्पूर्ण तरुणहरुलाई पार्टीको जागरण अभियानमा अग्रपंक्तिमा रहेर सहभागी हुन/गराउन केन्द्रीय समिति यो परिपत्र मार्फत निर्देशन गर्दै पार्टीको जागरण अभियानमा घोषित तपशिल बमोजिमका कार्यक्रमहरुमा व्यापक रुपले तरुण परिचालन गरी यस अभियानलाई सफल बनाउनु होला’, परिपत्रमा उल्लेख छ ।

महासचिव शाहीले भनेका छन्, ‘जागरण अभियानको उदघाटन यही २०७६ वैशाख ११ गते (लोकतन्त्र दिवस) का दिन ७७ वटै जिल्लामा एकै समयमा प्रारम्भ गरिने भएकोले त्यस दिन नेपाली कांगे्रसका जिल्ला समितिसंग समन्वय गरी पार्टीलाई आवश्यक अनुसारको साथ र मद्दत पुग्ने गरी जिल्लाका सबै तरुणहरूलाई परिचालन गरी उद्घाटन भव्यताका साथ सम्पन्न गर्न तरुण परिचालन व्यापक गराउनु होला ।’

‘जागरण अभियानकै क्रममा २०७६ वैशाख १८ गते मे दिवसका दिन नेपाल ट्रेड युनियन कांग्रेसद्वारा व्यवस्थापन गरिने जागरण अभियानको कार्यक्रममा त्यस जिल्लाको नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समितिसंग समन्वय गरी जिल्लाका सम्पूर्ण तरुणहरुलाई जागरण अभियानको कार्यक्रममा सहभागी गराउनु होला’, परिपत्रमा भनिएको छ ।

‘नेपाली कांग्रेसको यस जागरण अभियानको क्रममा भ्रष्टाचारको विरुद्ध तरुण जागरणको विविध कार्यक्रमहरू दलको केन्द्रीय समितिले तय गरी छिट्टै जानकारी जिल्ला समितिहरूलाई गराइने हुँदा पार्टीद्वारा जिम्मा दिइएको यस अभियानको लागि जिल्लाका सम्पूर्ण तरुणहरूलाई तयारीका साथ राख्न समेत यो परिपत्र गरिएको छ’, महासचिव शाहीले भनेका छन् ।

नेपाली कांग्रेसले ओली नेतृत्वको कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध वैशाख ११ गतेदेखि देशैभरि जनजागरण अभियानमार्फत विरोध शुरु गर्दै छ ।

यो अभियान गाउँसम्म हुनेछ । नेपाली कांग्रेसले केन्द्रीय नेता र भ्रातृ संस्थाहरूलाई सक्रिय भएर कम्युनिस्टहरूलाई आफ्नो शक्ति देखाउनेछ ।

कांग्रेसले अधिनायकवादी सरकारविरुद्ध घोषणा गरेको कार्यक्रमले कांग्रेसका शुभेच्छुकहरूमा उर्जा थपिएको महासचिव शाहीले बताएका छन् ।

Published : Thursday, 2019 April 18, 1:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया