ओलीकै शैलीमा कांग्रेसले पहिलो पटक दियो जवाफ, बालुवाटारलाई तनाव
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले दिएको पछिल्लो अभिव्यक्तिको आलोचना गरेको छ ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा र सहमहामन्त्री डा.प्रकाश शरण महतले सोमबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीको आलोचना गरेका हुन् ।
कांग्रेसका उपसभापति निधिले प्रधानमन्त्री जस्तो व्यक्तिले पार्टीको अध्यक्ष र अध्यक्षबाट पनि तल झरेर एउटा गुटको नेताले जस्तो अभिव्यक्ति दिएको भन्दै चिन्ता जनाए ।
‘प्रधानमन्त्री भनेको सबैको साझा व्यक्ति हो । तर, उहाँले दिएका अभिव्यक्ति पार्टीको अध्यक्षको जस्तो छ । उहाँले अध्यक्षबाट पनि तल झरेर गुटको नेताले जस्तो बोल्नु भएको छ’, उनले भने, ‘प्रधानमन्त्री ओलीजीको अभिव्यक्तिले देशमा हिंसा भड्काउन खोजेको छ ।’
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिबाट बुढापाकाले मनोरञ्जन लिने गरेको बताए ।
‘बुढापाकाले प्रधानमन्त्री ओली टिभीमा बोल्दै गर्दा मनोरञ्जन लिन्छन्’, उनले भने, ‘बालबालिका भने डराउँछन् । बालबालिकाका अभिभावकहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले हिंसा हुनेभन्दै टिभी बन्द गर्ने अवस्था आएको छ ।’
नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाई जिम्मेवार बन्न सुझाव दिएको छ । संविधानले दिएको अधिकार प्रयोग गर्नबाट कसैले पनि रोक्न नसक्ने प्रवक्ता शर्माले बताए ।
प्रधानमन्त्री ओलीले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा विपक्षी दलहङलाई नन्दिभिरिङ्गी भन्नुका साथै आन्दोलन गरे भने केटाकेटीहरूले ढुंगा हान्छन् भनेर टिप्पणी गरेका थिए । त्यसको जवाफमा कांग्रेसले सोमबार पत्रकार सम्मेलन गरेर कडा जवाफ दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत