कांग्रेसका खतिवडाले ओलीका प्रभावशाली मन्त्री र सांसदको मञ्चमै सातो लिए

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्ट सरकारमा प्रभावशाली मन्त्रीहरू हुँदा पनि ओखलढुंगा जिल्लाको विकास हुन नसकेको भन्दै आलोचना गरेका छन् ।

नेपाल उद्योग वाणिज्य संघको प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव २०७५ लाई शनिबार ओखलढुंगामा सम्बोधन गर्दै खतिवडाले अहिले जिल्लाको विकास शून्य रहेको बताए ।

‘अहिले ओखलढुंगा जिल्ला कर्णालको हुम्ला र जुम्ला जस्तो भएको छ’, उनले भने, ‘विकासको काम हुन सकेको छैन । दुई तिहाइको कम्युनिस्ट सरकारमा उपप्रधान एवम् रक्षामन्त्री यसै जिल्लाबाट हुँदा पनि जनताले दुःख पाएका छन् ।’

नेकपाका नेता समेत रहेका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले ओखलढुंगा जिल्लाको विकासमा कुनै पनि योगदान गर्न नसकेको उनको आरोप थियो ।

‘ओखलढुंगाका नेता उपप्रधानमन्त्री र रक्षा मन्त्री हुँदा जिल्लाको विकास हुन्छ भन्ने ठानेका थियौँ’, उनले भने, ‘विडम्बना आफ्नै प्रदेशको राजधानीमा जान अर्को प्रदेशको जिल्ला हुँदै जानुपर्छ ।’

कांग्रेसका युवा नेता खतिवडाले प्रदेशको राजधानीसँग जोड्ने सडक निर्माणको काम अगाडि बढाउन सरकारलाई सुझाव दिए । उनले आवश्यक पर्‍यो भने नेपाली सेनालाई सडक बनाउन दिनुपर्ने समेत बताए ।

‘हाम्रो जिल्लाबाट सरकारमा प्रभाशाली व्यक्ति उपप्रधानमन्त्री बन्नुभएको छ । हामीलाई गर्भ छ । तर, पाँच रुपियाँ कर तिर्न पाँच हजार खर्च गरेर जानुपर्ने अवस्था छ’, खतिवडाले भने, ‘अर्थ मन्त्री र अर्थ सचिवलाई भनेका छौँ । ओखलढुंगामा कर कार्यालय राखिदिनुपर्छ ।’

कम्युनिस्टहरूले निर्वाचनमा भनेको कुरा जिल्लाको विकासमा व्यवहारमा देखाउन नसकेको उनको भनाइ थियो ।

ओखलढुंगाका गाउँहरू अन्धकार हुँदा पनि मन्त्री र जितेर गएका जनप्रतिनिधिहरूले बेवास्ता गरेको खतिवडाको आरोप थियो । ‘जिल्लाको विकास गर्न कुनै पनि बन्धन छैन ।

विकासको कुरामा हामीले कांग्रेस, कम्युनिस्ट भन्दैनौँ’, उनले भने, ‘ओखलढुंगा जिल्लामा उज्यालो होस् । रोघुवा खोलामा आठ सय मेगावाटको हाइड्रो बन्दै छ । त्यसलाई समयमा पूरा सम्पन्न गर्नुपर्छ ।’

कांग्रेसका युवा नेता खतिवडाले कम्युनिस्टहरूको दुई तिहाइको सरकारको आयु अझै साढे तीन वर्ष बाँकी रहेको भन्दै यो समयमा ओखलढुंगाको विकासमा जोड दिन सल्लाह दिए ।

उनले भने, ‘नाम पनि ईश्वर । ईश्वरको काम भनेको रक्षा गर्ने हो । तपाईले अब ओखलढुंगाको रक्षा गर्नु हुनेछ भन्ने विश्वास लिएका छौँ ।’

जिल्लाको बाटोहरू भत्किएर बन्द भएको भन्दै ती सडक र बाटोहरू मर्मत सम्भारका लागि पनि कांग्रेस नेता खतिवडाले मन्त्री र जनप्रतिनिधिहरूसँग आग्रह गरे ।

उनले जिल्लामा टेलिफोन बन्द हुने समस्या रहेको पनि बताए । ती समस्याहरू समाधान गर्न खतिवडाले सरकारसँग आग्रह गरे ।

कांग्रेसका युवा नेता खतिवडाले आफ्नो आलोचना गरेपछि मञ्चमा बसेका कम्युनिस्ट सरकारका उपप्रधान एवम् रक्षामन्त्री पोखरेलको अनुहार मलिन भएको थियो । पोखरेलकै छेउमा रहेका सांसद यज्ञराज सुनुवार पनि कालोनिलो बनेका थिए ।

पोखरेल प्रधामन्त्री खड्गप्रसाद ओलीका विश्वासपात्र मानिन्छन् ।

Published : Saturday, 2019 April 13, 4:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया