कांग्रेसले वैशाखदेखि कम्युनिस्ट सरकारलाई तनाव दिने, सडक तताउन मोर्चा बन्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बाहिर रहेका विपक्षी दलहरूको बैठक बोलाउने भएका छन् ।

उच्च स्रोतका अनुसार सभापति देउवाले आगामी बुधबारभित्र विपक्षी दलहरूको बैठक बोलाउने तयारी गरेका हुन् । बैठकमा वर्तमान कम्युनिस्ट सरकारविरुद्ध रणनीति बनाइनेछ ।

विपक्षी दलहरूको बैठक राखेर पहिलो चरणको छलफल तथा परामर्श गर्न नेकपा (माले)का महासचिव सीपी मैनालीले देउवासँग प्रस्ताव गरेको उच्च स्रोतले जनाएको छ । मैनालीको प्रस्तावपछि देउवाले आफू शनिबार धनगढी जान लागेको र धनगढीबाट काठमाडौं आउनेवित्तिकै बैठक राखेर अगाडि बढ्ने आश्वासन दिएका छन् ।

वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाएर पेल्न खोजेको कांग्रेससहितका विपक्षीहरूको आरोप छ । विपक्षी दलहरूले सडकबाट वर्तमान सरकारलाई दवाव दिन मोर्चा बनाएमा सरकार र विपक्षी दलहरूबीचको टकराव हुन सक्ने अनुमान राजनीतिक विश्लेषकहरूको छ ।

संविधान उल्लंघन गर्दै आएको आरोप लगाएको नेपाली कांग्रेसले सरकारविरुद्ध कठोर रणनीति बनाउने तयारी गरेको छ ।

प्रमुख विपक्षी दलको आग्रहलाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषदको बैठक बोलाएर निर्णय गरेपछि सभापति देउवा रुष्ट बनेका छन् । देउवाले हरेक भाषणहरूमा ओलीले जबरजस्ती बैठक राखेर निर्णय गरेको आरोप लगाउँदै आएका छन् ।

विपक्षी दलहरूको बैठकमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा), नयाँ शक्ति पार्टी नेपाल, संसद बाहिर रहेका नेकपा (माले), क्रान्तिकारी माओवादीसहितका एक दर्जन दलहरूसँग कसरी जाने भनेर सरसल्लाह हुनेछ ।

Published : Saturday, 2019 April 13, 12:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया