कांग्रेस वैशाखदेखि जनतामा जाने, देउवाद्वारा ओलीको पर्दाफास
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार गठनको एक वर्षमा एउटा पनि राम्रो काम गर्न नसकेको बताएका छन् ।
कांग्रेसका कोषाध्यक्षहरूको राष्ट्रिय सम्मेलनलाई बिहीबार पोखरामा सम्बोधन गर्दै देउवाले दुई तिहाइको सरकारले सम्झनलायकको कुनै पनि काम नगरेको बताए ।
‘एउटा जिल्लाबाट अर्को जिल्लामा कुखुरा लैजाँदा पनि कर लगाएको छ’, देउवा भन्छन्, ‘केपी ओलीको नाम करप्रसाद ओली नै राख्नुपर्ने हो ।’
‘दुईतिहाइको यो सरकारले एउटा पनि काम गर्न सकेन’, देउवाले भने, ‘उल्टो निर्मलाको हत्यारा तथा बलात्कारीलाई सरकारले बचाउने काम गरेको छ । हत्या, हिंसा बढेको बढ्यै छ ।’
नेपाली सेनामाथि पनि ओली सरकारले हस्तक्षेप गरेको भन्दै देउवाले आपत्ति जनाए । ‘संसारमा कहीँ पनि यस्तो हुँदैन । सेना परिचालन गर्ने संयन्त्र हुन्छ । परिषद हुन्छ’, देउवाले भने ।
सभापति देउवाले नेता कार्यकर्ताले जनतासम्म जाने कांग्रेसले कुनै कार्यक्रम नल्याएको भन्दै गुनासो गरेपछि वैशाखबाटै देशैभर जागरण अभियानमा निक्लन लागेको बताए ।
‘वैशाखदेखि नै देशभर जागरण अभियानमा निस्कने छौं’, देउवाले भनेका छन् ।
संवैधानिक परिषदको बैठकमा आफूले उपस्थित हुन नभ्याउने जानकारी दिँदादिँदै प्रधानमन्त्री ओलीले संवैधानिक परिषदको बैठक बोलाएर निर्णय गरेको बताए । ‘आउन पाउँदिन बैठक नराख्नुस् भन्दाभन्दै पनि ओलीले बैठक राखेर निर्णय गराए’, उनले भने, ‘प्रमुख विपक्षी दललाई बेवास्ता गर्नु यो पनि संविधानको उल्लंघन हो ।’
‘संवैधानिक परिषदमा काम परेर म आज आउन सक्दिन भन्दाभन्दै त्यही दिन मिटिङ राखियो’, कांग्रेसका सभापति देउवाले भने, ‘म यसको विरोध गर्छु । हरेक क्षेत्रमा हस्तक्षेप गर्ने काम सरकारले गरेको छ ।’
यसअघिका दुईवटा संवैधानिक परिषदको बैठक प्रमुख प्रतिपक्षी दलका नेता देउवाको उपस्थितिविनै बसेको थियो ।
बैठकले संविधानले हालै व्यवस्था गरेको विभिन्न संवैधानिक आयोग र निर्वाचन आयोगका प्रमुखको सिफारिस गरेको थियो ।
देउवाले ओली सरकारले संवैधानिक आयोगलगायत हरेक क्षेत्रमा आफ्ना मान्छे राख्ने काम गरेको समेत आरोप लगाएका छन् ।
‘बदमासी र पार्टीभित्रै गुटबन्दी गर्नेलाई, चुनावमा हराउन लाग्नेलाई कारबाही हुन्छ’, देउवाले भने, ‘यस्तो प्रवृतिले पार्टी बन्दैन, बन्दैन, बन्दैन ।’
कार्यक्रममा बोल्ने अधिकांश बक्ताले पार्टीमा गटबन्दी ब्यस्त रहेको गुनासोलाई समेत देउवाले सम्बोधन गरेका छन् ।
पार्टी गुट उपगुटबाट मुक्त हुनुको विकल्प नभएको देउवाको भनाइ थियो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक निकायका नियुक्ति कि निर्विवाद बनाउन सक्नुपर्ने कि प्रतिपक्षीलाई समकक्षीकै व्यवहार गर्नुपर्ने बताए ।
संवैधानिक परिषदमा समान पावर ब्यालेन्सको व्यवस्था भएको उनको भनाइ थियो ।
‘संवैधानिक परिषदबाटै हामी बाहिर बस्नुपर्ने कुनै आवश्यकता छैन, हुँदैन । त्यसले देशलाई, प्रजातन्त्रलाई ठूलो नोक्सान गर्न सक्छ’, पौडेलले भने, ‘कम्युनिस्टको नियत नै पक्षपात गर्ने हो । आयोगमा उनीहरूका मान्छे खोजीखोजी हाल्ने, जे भन्यो त्यही मान्ने मान्छे खोजीखोजी हाल्ने, निर्वाचन आयोगमा पनि उसले जे भन्यो त्यही मान्ने मान्छे हाल्ने हो भने यो देशको हालत के हुन्छ ?’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत