कांग्रेसका ईमान्दार सिपाहीको दुर्घटनामा मृत्यु, देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वसांसद एवम् महाधिवेशन प्रतिनिधि रूद्रमणि शर्मा भण्डारीको निधनबाट आफू र पार्टी मर्माहत भएको जनाएका छन् ।

देउवाले बिहीबार शोक विज्ञप्ति जारी गरेर शर्माको निधनले नेपाली कांग्रेस स्तब्ध बनेको बताएका हुन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गुल्मीका पूर्वसभापति, पूर्व सांसद एवम् महाधिवेशन प्रतिनिधि ७२ वर्षीय भण्डारीको बिहीबार बिहान गुल्मीमा जीप दुर्घटनामा परी निधन भएको थियो ।

गुल्मीको दर्लिनबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका वडा नम्बर १ को च्यानडाँडामा बिहीबार बिहान करीब साढे ७ बजे दुर्घटना भएको थियो ।

जीपमा सवार अन्य दुई जनाको समेत निधन भएको छ । ८ जना घाइते भएका छन् ।

गुल्मीको धुर्कोट गाउँपालिका वस्तु निवासी स्व.भण्डारी २०४८ सालको आमनिर्वाचनमा पार्टीको तर्फबाट गुल्मी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

स्वर्गीय भण्डारीले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको सभापति देउवाले स्मरण गरेका छन् । भण्डारीका दुई श्रीमती, एक छोरा र एक छोरी छन् ।

नेपाली कांग्रेसका सभापति देउवाले भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । ‘नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, गुल्मीका पूर्व सभापति एवं पूर्व सांसद तथा मेरा अनन्य मित्र रूद्रमणि शर्मा भण्डारीको असामयिक निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ’, देउवाले भनेका छन् ।

‘उहाँको निधनबाट पार्टीले एक कुशल नेतृत्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ’, उनले भनेका छन्, ‘स्वर्गीय भण्डारीले नेपाली कांग्रेसको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नुभएको सक्रिय भूमिका पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ ।’

‘उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछु’, देउवाले भनेका छन्, ‘सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’

जीप दुर्घटनामा परी पूर्व जिल्ला सभापति एवं पूर्व सांसद भण्डारी, ८ वर्षीय बालक ओश्कर विक र प्रहरी हवलदार देवीप्रसाद पौडेलको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ ।

उनीहरूको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

नेपाली कांग्रेस, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Published : Thursday, 2019 April 11, 7:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया