कम्युनिस्ट सरकारका यी मन्त्रीको सुरुवा कि खोसुवा ?

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटले श्रमजीवी पत्रकार ऐन लागू गर्न खोजेपछि कान्तिपुर दैनिकले त्यसको विरोध जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीका अत्यन्तै विश्वासपात्रका रुपमा चिनिएका मन्त्री बास्कोटाका गतिविधि र अभिव्यक्तिबाट कान्तिपुरलगायतका केही दैनिक पत्रिका तथा अनलाईनहरु चिढिएका छन् ।

पत्रकारहरूले सूचना तथा प्रशारण विभागबाट परिचय पत्र बनाउँदा र नविकरणका लागि तलव बुझेको स्टेटमेन्ट बुझाउनुपर्ने नीति मन्त्रालयले बनाएपछि कान्तिपुर पब्लिकेशन मन्त्री बास्कोटासँग रिसाएको हो ।

यो विषयलाई कान्तिपुरले प्रेस स्वतन्त्रतासँग जोडेको छ । कान्तिपुरले सम्पादकीय नै लेखेपछि मन्त्री बास्कोटाको कुर्सी हल्लिन पुगेको हल्ला समेत चलेको छ ।

विभागले उक्त सूचनालाई सच्याएर सम्बन्धीत सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार कामदार/कर्मचारीहरुलाई बैंकिङ प्रणाली मार्फत पारिश्रमिक भुक्तानी गरेको प्रमाणित प्रतिलिपि र तलबी बिवरण पेरोल मात्र उपलब्ध गराउन आग्रह गरिसकेको छ ।

स्रोतका अनुसार कान्तिपुर पब्लिकेशनले प्रधानमन्त्री ओलीसँग बास्कोटालाई मन्त्री पदबाट हटाउन विभिन्न व्यक्तिमार्फत सन्देश पठाएको छ । तर, ओली भने हटाउने पक्षमा छैनन् ।

त्यसो त बजेट अधिवेशन शुरु भएको केही दिनभित्रै ओलीले बास्कोटालाई सञ्चारमन्त्रीबाट पर्यटन मन्त्रालयमा सार्ने योजना बनाएको पनि प्रधानमन्त्री कार्यालय निकट स्रोत बताउँछ ।

स्रोतका अनुसार बास्कोटालाई पर्यटनमा पठाई उनको ठाउँमा अहिलेका कानूनमन्त्री भानुभक्त ढकाललाई ल्याउने तयारी छ । ढकाल पनि ओलीका विश्वासपात्र भित्र पर्छन् ।

उता, रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको पर्यटन मन्त्रालयमा सुवासचन्द्र नेम्वाङले बसन्त नेम्वाङका लागि सपना देखेका छन् । बसन्त नेम्वाङलाई मन्त्री बनाउन ओली सकारात्मक छैनन् ।

कुरै गर्ने हो भने पर्यटन मन्त्रालय बामदेव गौतमको भागमा पर्ने नेकपाका नेताहरु बताउँछन् । बामदेवको कोटाबाट रविन्द्र अधिकारी मन्त्री बनेका थिए । अहिले पनि बामदेव गौतमले पर्यटन मन्त्रालयमा आफूले सिफारिस गरेको व्यक्ति मन्त्री बन्नुपर्ने अडान लिएका छन् ।

कथंमकदाचित बास्कोटालाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको खण्डमा रिक्त हुने सञ्चार मन्त्रालयमा योगेश भट्टराईले पनि ताकेका छन् । तर, योगश भट्टराईसँग प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सकारात्मक छैनन् ।

योगेशलाई मन्त्री बनाउन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि ओलीलाई दवाव दिइरहेका छन् ।

रिक्त रहेको पर्यटन मन्त्रालयमा महेश बस्नेतको पनि नाम चर्चामा छ । बस्नेत प्रधानमन्त्री ओलीले रुचाएका युवा नेतामा पर्छन् । बस्नेतलाई वामदेवले पनि विरोध गर्ने छैनन् ।

Published : Thursday, 2019 April 11, 9:24 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया