भकुण्डेबेशीमा शानदार आमसभा, पार्टी मिलाउने देउवाको घोषणाले कार्यकर्ता खुसी (तस्वीर)
भकुण्डेवेशी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खड्गप्रसाद ओलीको कम्युनिस्ट सरकार बनेको आज एक वर्षभन्दा धेरै भइसके पनि राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस काभ्रेको क्षेत्र नं. १ ले भकुण्डेबेशीमा बुधबार आयोजना गरेको आमसभा तथा पार्टी कार्यालय शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले हरेक क्षेत्रबाट ओली सरकार असफल हुँदै आएको बताए ।
‘ओली सरकारले एउटा पनि देखाउन लायकको र भन्न सक्ने काम गरेको छैन । ओलीजीले एउटा पनि काम गर्न सकेका छैनन्’, उनले भने, ‘खलि उखान टुक्काले देश बन्छ ? ओली सरकारमा आउन साथ हत्या, हिंसा बलात्कारका घटना भएका छन् ।’ सभपाति देउवाले देशको शान्ति सुरक्षा दिन प्रतिदिन बिग्रदै गएको बताएका छन् ।
‘अहिले जस्तो पहिला बलात्कार र हत्याको घटना त भएका थिएन नेपालमा । एक वर्षभित्र यति धेरै घटना भएका छन् । ओली सरकार आउनेवित्तिकै देशमा बढी हत्या र बलात्कारका घटना भएको छ’, देउवासले भने, ‘निर्मला पन्तको बलात्कारी र हत्यारालाई बचाउने काम ओली सरकारले गरेको छ । जसले हत्यारा बचाउँछन् । हत्यारालाई खोजेर कारबाही गर्नुको सट्टा बचाउने काम गर्छ भने त्यो सरकारले शान्ति सुरक्षा दिन्छ देशमा ? दिँदैन । त्यस कारण चाहिँ ओलीलाई शान्ति सुरक्षामा मतलवै छैन ।’
नेपाली कांग्रेसका सभापति देउवाले कम्युनिस्ट सरकारले प्रेसमाथि अंकुश लगाउन खोजेको आरोप पनि लगाए । ‘अर्को कुरा स्वतन्त्र प्रेसमाथि अंकु लगाउन खोजी रहेका छन्’, उनले भने, ‘चिकित्सा शिक्षामा आक्रमण गरे । हरेक क्षेत्रमा यिनले आक्रमण गरेका छन् । सबै कानूनी निकायहरूमा राजनीतिक घुसाउने काम गरेका छन् । यसै कारण ओली कुनै पनि कामहरू गर्न सकेका छैनन् ।’
‘ओली सरकारले एक वर्षमा एउटा पनि काम सकेको छैन । सबै कुरामा अहिले नयाँ नयाँ विधेयक ल्याएर प्रजातन्त्र विरोधी, अधिनायकवादी जनताको अधिकार खोस्ने किसिमको कानून ल्याएका छन्’, उनले भने, ‘त्यसैले ओली सरकारले आज देश र जनतालाई दुःख दिइरहेका छन् । जनताको अधिकार खोस्न खोजी रहेका छन् । आज ओली सरकारको खिलाफमा एक भएर अगाडि बढ्नुको बिकल्प छैन ।’
वीपी कोइराला प्रधानमन्त्री बनेका बेला शुरुवात भएको काभ्रे हुँदै पूर्वी तराई झर्ने बाटोले विकास ल्याइदिएको उनले बताए । ‘बाटो यति सुन्दर छ । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि यो बाटोको काम अगाडि बढेको हो । आज देशभरिमा धेरै बाटोहरू बनेको छ । देशमा धेरै ठूला ठूला विकासका कामहरू भएका छन्’, देउवाले भने, ‘यो सम्पूर्ण नेपाली कांग्रेसको समयमा नै भएका कामहरू हुन् । पहिला नेपालमा ०४८ साल पछाडि बहुदलीय व्यवस्था आउना साथ हामीले आर्थिक उदारीकरणको नीति लागू ग¥यौँ । त्यसपछि नेपालमा धेरै ठूला कामहरू भएका छन् ।’
उलने भने, ‘शुरुमा एउटा मात्रै हवाइ जहाज थियो । आरएनएसी भन्थे । अहिले कति धेरै एयरलाइन्स भइसकेका छन् । विदेशमा पनि नेपालका जहाज जान थालेका छन् ।’
‘कांग्रेसको आर्थिक उदारीकरणका कारण प्राइभेट कलेज खुलेका छन् । मेडिकल कलेज खुलेका छन् । इन्जिनियरिङ कलेज खुलेका छन् । हामीले प्राइभेटाइजेशनको काम गर्यौँ’, सभापति देउवाले भने, ‘कांग्रेसले आर्थिक उदारवादको शुरुावात गरेपछि लगानीको वातावरण भएको हो । उद्योगधन्दाहरू खुलेका छन् । अझै पनि उद्योगी व्यापारीलाई सुरक्षा र अवसर दिने हो भने नेपालमा धेरै ठूला उद्योगहरू खुलेर नेपाली जनताका छोराछोरीले रोजगारी पाउने सम्भावना छ । तर, यो सरकारलाई कुनै मतलव नै छैन । सरकारले उल्टै सबै अधिकारहरू खोस्ने कामहरू गरेको छ ।’
सभापति देउवाले पार्टीलाई एक ढिक्का बनाउन आफूलाई सहयोग गर्न सबैलाई अपील गरेका छन् । ‘हाम्रो पार्टी एक हुन जरुरी छ भनेर अहिले सिटौलाजीले भन्नुभयो । पार्टी मिलाउन भन्नुभयो । म पार्टी सभापति हो । पार्टी सभापतिको स्वार्थ र मेरो चाहना पार्टी एक होस् भन्ने नै हो । मैले पार्टी एक होस् भन्ने चाहेर मात्रै हुँदैन । सबै सहयोग हुनुपर्छ ।’
मञ्चमा रहेका कांग्रेसका नेता कृष्णप्रसाद सिटौलातर्फ सकेत गर्दै उनले भने, ‘सबैले सहयोग गरेमा पार्टी एक हुन्छ हुन्छ । सिटौलाजीलाई भन्छु पार्टी एक हुनुपर्छ । उहाँले अनुरोध गर्छु तपाईले पनि सहयोग गर्नुपर्छ । पार्टी एक गराउनुपर्छ ।’
‘पार्टी एक भएपछि नेपाली कांग्रेसलाई कसैले जित्न सक्दैन । नेपाली कांग्रेसलाई सबैभन्दा बढी आवश्यक्ता छ एकताको’, उनले भने, ‘एकता हाम्रो पार्टीको दुर्भाग्य भएको छ । हाम्रो पार्टी आफ्नै भित्र असन्तोष छ । आफ्नालाई कमजोर बनाउन हाम्रो पार्टी बलियो छ । अरुलाई कमजोर बनाउन सक्दैन ।’
‘त्यस कारण अब हाम्रो पार्टी एक भएर हिँड्नु पर्छ । ०४८ सालमा हाम्रो पार्टीको बहुमत आयो । पार्टीभित्र समस्या आयो । फेरि गयो । एक वर्षमा अल्मतमा पर्यौँ । फेरि हामीले ०५१ सालमा बहुमत ल्यायौँ । विवाद भयो । त्यो पनि खत्तम भयो । ०५६ सालमा फेरि हामीले बहुमत ल्यायौँ विवाद भयो’, देउवाले भने, ‘हाम्रो पार्टीमा शुरुदेखि नै विवाद भएको थियो । अब हामीले पार्टीलाई एक गराएर जानुको बिकल्प छैन । म पार्टी सभापति हुँ । मेरो स्वार्थ, मेरो इच्छा पार्टी एक भएपछि शेरबहादुरले पार्टी एक गरायो भन्ने हुन्छ नि ? मेरो पनि केही न केही होला नि ? त्यस कारण पार्टी एक गराउन सबैभन्दा बढी दत्तचित्त छु । पार्टीलाई एक गराउन चाहन्छु ।’
सभापति देउवाले कांग्रेसलाई एक बनाएर अधिनायकवादविरुद्ध लड्ने बेला आएको भन्दै तयार अवस्थामा बस्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । ‘आज पार्टी एक भएन भने नेपालमा कम्युनिस्टको अधिनायकवादी व्यवस्था ल्याउन खोजी रहेको छ । नेपाली जनताको अधिकार खोस्ने काम भइरहेको छ । त्यसका विरुद्ध लड्नका लागि पनि नेपाली कांग्रेसभित्र एकता हुन जरुरी छ । कांग्रस एक हुन जरुरी छ ।’
‘ओली सरकारले नेपालमा प्रजातन्त्रमाथि आक्रमण खोजी रहेका छन् । दिनदहाडै आक्रमण हुन खोजी रहेका छन् । अब हामीले सदनमा मात्रै होइन सडकमा पनि लड्न तयार हुनका लागि तयार हुन अनुरोध गर्न चाहन्छु’, उनले भने, ‘ओली सरकारले बाध्य गरायो भने हामी एक दिन आन्दोलन गर्न बाध्य हुने छौँ । र आन्दोलनबाटै यो सरकारलाई हटाएरै छाड्ने छौँ ।’
नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसभित्र आन्तरिक एकताको आवश्यक्ता औँल्याए । ‘पार्टीलाई मिलाएर लैजानुपर्छ’, उनले भने, ‘अहिले कांग्रेस मिल्नुपर्छ । त्यसको जिम्मेवारी सभापतिमाथि छ ।’
नेता सिटौलाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले संविधानमाथि प्रहार गर्न शुरु गरेको बताए । ‘संविधानको उल्लंघन गर्दै ओली सरकारले संवैधानिक निकायमा एकलौटी रुपमा धमाधम नियुक्ति गरेको छ’, उनले भने, ‘यो पनि एउटा अराजकता हो । संविधानको रक्षा र कम्युनिस्टहरूलाई सहि बाटोमा ल्याउने दाइत्व नेपाली कांग्रेसको हो ।’
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ओली सरकारले जनतालाई धोकामा राखेको बताए । ‘जनताले जति अपेक्षा यो सरकारसँग गरेका थिए त्यो अपेक्षा निराशामा बदलिएको छ’, उनले भने, ‘नेपाली कांग्रेसप्रति जनताको आशा बढ्न थालेको छ ।’
ओली सरकारको आलोचना गरेका प्रवक्ता शर्माले भने, ‘ओलीजीले काम भएको छ भन्नु हुन्छ । कालिकोट जाँदा पाँचथरमा विकास भयो भन्नु हुन्छ । पाँचथरमा जाँदा काभ्रेमा विकास भयो भन्नु हुन्छ । यहाँ आएर हेर्दा केही भएको हुँदैन ।’ ओली सरकारबाट जनतालाई झुक्काउने काम मात्रै भएको शर्माले बताए ।
नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले लगानी सम्मेलनमा समेत केपी ओलीको रेल र पानीजहाजले हावा खाएको बताए । ‘विदेशीले पनि ओलीको बोलीलाई पत्याएनन्’, उनले भने, ‘ओलीलाई लगानीसम्मेलनबाट ठूलो बेइज्जत भएको छ ।’
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कम्युनिस्टहरूको प्वाँख उम्रिन शुरु भएको बताए । निर्वाचनका बेला झुठ बोलेर जितेको भन्दै सभापति थापाले मर्ने बेला कमिलाको प्वाँख उम्रे जस्तै कम्युनिस्टहरूको पनि प्वाँख पलाएको बताए । कम्युनिस्टहरूको पतन हुन लागेको भन्दै थापाले पुतली पनि मर्ने बेला ठोक्किने गरेको कथा सुनाएका थिए ।
काभ्रे क्षेत्र नं. १ का सभापति एवम् पूर्वसांसद तीर्थ लामाले कम्युनिस्टहरूको झुठको खेती जनताले बुझेको बताए । उनले भने, ‘जनता कम्युनिस्टहरूबाट आजित बनेका छन् ।’
आमसभालाई युवा नेताहरू प्रदीप पौडेल, महेश खरेल, गणेशमान लामासहितका नेताहरूले सम्बोधन गरेका थिए ।
आमसभामा सत्तारुढ नेकपा पार्टी परित्याग गरेका झण्डै एक सय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरूलाई सभापति देउवाले पार्टी प्रवेश गराएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत