बारापछि रौतहटमा ठूलो विनास, कम्युनिस्ट सरकारले उद्धारमा चासो देखाएन (तस्वीर)

चपुर । रौतहट जिल्लामा सोमबार बिहान परेको असिना पानीले करोडौँको नोक्सानी पुर्‍याएको छ ।

वृन्दावन नगरपालिकाको वडा नम्बर १, २ र ३ मा असिना पानीले सबैभन्दा धेरै क्षति पुर्‍याएको नेपाली कांग्रेसका नेता एवम् रौतहट क्षेत्र नम्बर ४ का सांसद देवप्रसाद तिमल्सिनाले जानकारी दिए । तिमल्सिनाका अनुसार धनगढी, खैराटोल, रमौली, विश्रामपुर तथा चपुर नगरपालिकको बलुवामा असिना पानीले ठूलो क्षति पुर्‍याएको छ ।

सोमबार बिहान करीव ७ देखि दश बजेसम्म आएको असिना पानीले पूरै गाउँहरू जलमग्न भएको छ । पानीले गाउँ जलमग्न भएपछि सर्वसाधारणलाई खान र बस्नका लागि समस्या भएको छ ।

असिना पानीले नोक्सानी भएपछि कांग्रेसका सांसद तिमल्सिनाले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेर उद्धार र राहतका लागि गृहमन्त्रालय, प्रदेश सरकार र स्थानीय प्रशासनसँग आग्रह गरेका छन् ।

सांसद तिमल्सिनालाई देखेपछि स्थानीयले आफ्नो पीडा पोख्दै राहत र उद्धारका लागि आग्रह गरेका थिए । प्रभावित क्षेत्रको अवलोकन र जनताको पीरमर्का बुझ्न सांसद तिमल्सिनासँग प्रदेश सांसद धनलाल थोकर, पूर्वसांसद देवेन्द्र पटेलसहितका स्थानीय नेताहरू पुगेका थिए ।

सांसद तिमल्सिनाले आफूले असिना पानीबाट भएको क्षतिका विषयमा सरोकारवाला निकायलाई जानकारी गराएपनि राहत र उद्धारका लागि नआएको जानकारी दिए ।

‘यो कम्युनिस्ट सरकारले पीडित जनताहरूको उद्धार र राहतमा कुनै चासो दिएन’, आक्रोशित हुँदै उनले भने, ‘राति भइसक्यो । असिना पानीले दुई हजारभन्दा धेरै घरहरू पूर्ण रुपमा क्षति भएका छन् । समय हुँदै कतैबाट उद्धार र राहतका लागि आएका छैनन् ।’

असिना पानीले मकै, गहुँ, तरकारी लगायतका बालीमा नोक्सानी पुर्‍याएको छ । सोमबार बिहान दुई किलोसम्मको असिना परेको थियो ।

Published : Tuesday, 2019 April 9, 7:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया