देउवाद्वारा शीर्ष नेताहरूसँग परामर्श
काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद अन्त्यको प्रयास स्वरुप सभापति शेरबहादुर देउवाले परामर्श गरेका छन् ।
कार्यसम्पादन समिति गठनमा सहमति भएपछि पनि पुनः विवाद भएको थियो । विवादै कारण अन्तिम समयमा केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको थियो ।
देउवाले आफ्नै निवास बुढानिलकण्ठमा सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, नेताहरू गोेपालमान श्रेष्ठ, डा.रामशरण महत, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, प्रवक्ता विश्वप्रकाश शर्मा लगायत राजधानीमा उपलब्ध नेताहरूलाई बोलाएर परामर्श गरेका हुन् ।
स्रोतका अनुसार देउवाले गत शुक्रबार कार्यसम्पादन समिति गठनका लागि सहमतिको प्रयास गरी ४० प्रतिशत सदस्यको नाम माग्दा पौडेलले टुंगा लगाएर दिन नसकेपछि शनिबारको केन्द्रीय कार्यसमिति बैठक स्थगित गर्नुपरेको बैठकमा धारणा राखेका थिए । देउवाले कार्यसम्पादन समितिमा रहनेहरूको नाम आएपछि मात्रै केन्द्रीय समिति बैठक बोलाउने बताए ।
पार्टीको विधानअनुसार विभाग गठनका लागि केन्द्रीय कार्यसमिति बैठक बस्न नपर्ने विगतको नजिर रहेको देउवाले बैठकमा नेताहरूलाई सुनाएका थिए ।
बैठकमा केही नेताहरूले कार्यसम्पादन समिति गठनको विषयमा पुरानो विधान अनुसार २९ सदस्यीय बनाउने भनि सहमति भएको बताएका थिए । तर, केन्द्रीय निर्वाचन समिति भने नयाँ विधान बमोजिम तीन को सट्टा पाँच सदस्यीय गठन भइसकेको भन्दै यसरी दोहोरो मापदण्डमा नचल्न देउवालाई सुझाव दिए ।
नयाँ विधान वमोजिम कार्यसम्पादन गठन गर्दा सभापतिले ३१ सदस्य मनोेनीत गर्न सक्ने व्यवस्था रहेको छ । १४औं महाधिवेशनबाट निर्वाचित भएर आउने ८ जना सहमहामन्त्रीमध्ये अहिलेका एक सहमहामन्त्रीको संख्या कटाएर ३९ सदस्यीय कार्यसम्पादन समिति बनाउने विकल्पबारे सहमतिका आधारमा अघि बढ्नेबारे पनि नेताहरूबीच छलफल भएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विगतको अभ्यास र विधानको व्यवस्थाअनुसार पार्टीका सबै विभागहरूको गठन गर्ने अधिकार सभापतिलाई दिएको र आफूले पनि विभाग गठन गरी पार्टीका साथीहरूलाई जानकारी दिने सक्ने अवस्था रहेको बताएका थिए ।
देउवाले अघिल्लो कार्यकालमा तत्कालीन सभापति सुशील कोइरालाले आफूलाई ४० प्रतिशत दिएको नजिर स्मरण गराएका थिए । अहिले आफूले पनि साठी–चालिसकै अनुपातमा मिलाएर सबै विभाग गठन गर्न चाहेको भन्दै देवाले अब धेरै ढिला नगरौँ भनि सुझाव मागेका थिए ।
वरिष्ठ नेता पौडेलले पार्टीमा कार्यसम्पादन समिति गठन गर्दा भागवण्डा गर्नेभन्दा सबै सिनियर साथीहरूलाई मिलाएर गठन गर्नु उपयुक्त हुने धारणा राखेका छन् ।
आफूले महासमिति बैठकपछि पार्टीभित्र मिलाएर अघि बढ्नकै लागि सभापतिको विरुद्धमा यो वा त्यो गरे भनेर सार्वजनिक अभिव्यक्ति कहि नदिएको दाबी गरेका थिएका छन् ।
पौडेलले कार्यसम्पादन समितिमा मर्यादाक्रम अनुसार मिलाएर गठन गर्न राखेको प्रस्तावप्रति विमलेन्द्र निधि लगायत देउवा पक्षका नेताहरूले पार्टीको मर्यादाक्रममा समस्या देखिएको बताएका छन् ।
मर्यादाक्रमका आधारमा भन्दा सभापतिकै प्रस्ताव वमोजिम जो जति संख्या आफ्नो भागमा पर्छ त्यसैमा आवश्यकताअनुसार मिलाएर गठन गर्न देउवा समूहका नेताहरूले सुझाव दिएका छन् ।
बुढानिलकण्ठमा सोमवार बोलाइएको बैठकलाई नेता कृष्णप्रसाद सिटौलाले बहिस्कार गरेका छन् । स्वास्थ्य परीक्षणमा जानुपर्ने भन्दै सिटौला अनुपस्थित भएका हुन् ।
शुक्रबार सभापति देउवा र पौडेलबीच भागवण्डाको छलफलमा आफू यता न उता परेपछि उठेर हिँडेका सिटौला त्यहि असन्तुष्टिका कारण आजको बैठकमा नगएको स्रोतको दाबी छ ।
कार्यसम्पादन समितिमा सिटाला बाहेक नै आफूलाई ४० प्रतिशत चाहिने अडान लिएपछि देउवाले त्यसका लागि पनि सहमति जनाए ।
जब सभापति देउवाले सिटौलाबाहेक ४० प्रतिशत दिन्छु भनेपछि नेता पौडेलले गत अधिवेशनमा देउवाको टिमबाट महामन्त्रीको प्रत्यासी बनेका अर्जुनरसिंह केसी कता भनेर प्रश्न गरेका थिए ।
सभपाति देउवा पक्षका नेताहरूले एकपछि अर्को नयाँ विवाद झिकेर पार्टीभित्र सहमतिको वातावरण विथोल्ने गरी तर्क वितर्क नगर्न पौडेलसँग आग्रह गरेका छन् ।
विभाग गठनको विषयमा केही दिनअघि सभापतिको निर्देशन अनुसार उपसभापति निधिले पौडेलसँग गरेको कुराकानीका क्रममा संगठन विभाग, प्रचार विभाग, जनसम्पर्क समिति र विदेश विभाग विगतको नजिरका आधारमा सभापतिकै इच्छा अनुसार र बाँकीमा सहमति गरी मिलाउन प्रस्ताव गरेको प्रसंग छलफलमा उठेको थियो ।
नेता पौडेलले सबै विभागलाई महत्वपूर्ण भनि लिनेभन्दा यी चारमध्ये दुई विभागको प्रमुख आफूले पाउनु पर्ने माग गरेका थिए ।
सभापति देउवाले विधानले विभाग गठनको अधिकार आफूलाई दिएको र नेतृत्वमा आएकै दिनदेखि विभागमा बस्न चाहनेका नाम माग्दा अहिलेसम्म नदिएको कारण ढिला भएको भन्दैै अब धरै दिन कुरेर नबस्ने जानकारी दिएका थिए ।
नेता डा.रामशरण महतले अहिलेसम्म गठन नभएका विभाग अब महाधिवेशन नजिकिँदै जाँदा किन गर्नु पर्योे भनि प्रश्न गरेका छन् ।
नेता बलबहादुर केसीले विधान वमोेजिम गठन गर्नुपर्ने विभाग गर्ने कुरामा ढिला गर्न आवश्यक नभएको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत