नेकपाले शक्ति देखाएकै जिल्लामा कांग्रेसले पनि शक्ति देखाउने, शुरु भयो तयारी

चन्द्रपुर । दुई तिहाइको कम्युनिस्ट सरकारले अधिनायकवादको शुरुवात गरेको भन्दै आलोचना भइरहेका बेला नेपाली कांग्रेस रौतहटले विशाल जनसभाको कार्यक्रम सार्वजनिक गरेको छ ।

रौतहट कांग्रेसले आइतबार पत्रकार सम्मेलन गरेर वैशाख १४ गते शनिवारका कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गर्न लागेको जनाएको हो । जनसभा रौतहट जिल्लाको राजपुर नगरपालिकामा हुनेछ ।

नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर २ का सांसद तथा पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमले दुई तिहाइको दम्भले कम्युनिस्ट सरकार अधिनायकवादी बन्न थालेपछि जनताका माझ भण्डाफोर गर्न जनसभा गर्न लागेको जानकारी दिए ।

‘कांग्रेसले अब कम्युनिस्ट सरकारको दमन र अधिनायकवादलाई सहेर बस्दैन’, उनले भने, ‘कांग्रेसले कार्यकर्ताहरूका बीच कम्युनिस्टहरूको भण्डाफोर गर्छ ।’

कांग्रेस नेता आलमले कम्युनिस्ट सरकारले देखाएको दुई तिहाइको दम्भ, प्रेसमाथिको अंकुश र प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई गरेको हेपाहा प्रवृत्तिविरुद्ध आम जनतामा भण्डाफोर गर्न जनसभा गर्न लागेको बताए ।

जनतालाई कम्युनिस्ट सरकारले भ्रममा राखेको भन्दै आलमले भने, ‘संविधानको रक्षाका लागि पनि कांग्रेसले विरोध सभाहरू गर्न लागेको छ ।’

नेपाली कांग्रेसले कम्युनिस्टहरूको निरंकुशता हाबी हुन नदिने बताए ।

जनसभामा एक लाख कार्यकर्ता उतार्ने तयारी भएको छ । जनसभालाई कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । पत्रकार सम्मेलनमा रौतहट कांग्रेसका सभापति देखिएका थिएनन् । तर, आलमले रौतहट कांग्रेसले नै जनसभा गर्न लागेको जानकारी दिए ।

केही दिन अगाडि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले रौतहटमा प्रदेश २ स्तरीय आमसभा गरेको थियो । आमसभालाई नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूले सम्बोधन गरेका थिए ।

सभामा ओलीले प्रदेश २ मा नेकपा बलियो भएको दाबी गरेका थिए । उनले तराईमा विकासको मूल फुटाउने घोषणा पनि गरेका थिए ।

सत्तारुढ नेकपाले आमसभा गरेर शक्ति देखाएको केही हप्ताभित्र रौतहट कांग्रेसले पनि शक्ति प्रदर्शन गर्न लागेको छ । यो प्रदर्शन नेकपाको जस्तो २ नम्बर प्रदेशस्तरीय हुनेछैन ।

Published : Monday, 2019 April 8, 1:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया