बुढानिलकण्ठमा मिल्यो कांग्रेसको विवाद, खुसी हुँदै बाहिरिए नेताहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवाद मिलाउने प्रयास गरेका छन् ।

काठमाडौंको बुढानिलकण्ठमा शुक्रबार बसेको कांग्रेसका पदाधिकारी र शीर्ष नेताहरूको बैठकमा भाग बण्डा मिलेको छ । भागबण्डा मिलेपछि शनिबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ ।

देउवाले शनिबारको बैठकमा छलफल र निर्णयका लागि पेश गर्ने प्रस्तावका विषयमा सहमति जुटाउन शुक्रबार आफ्नै निवासमा अनौपचारिक परामर्श गरेका हुन् ।

पदाधिकारी र शीर्ष नेताहरूको बैठकमा नेता कृष्णप्रसाद सिटौलाले भाग नपाएपछि रुष्ट हुँदै छलफलबाट बाहिरिएका छन् ।

देउवाले छलफलमा तीन वटा प्रस्ताव राखेका थिए । सभापति देउवाले शनिबार पार्टीको कार्यसम्पादन समिति गठनसँगै नेपाल किसान संघ, आदिवासी जनजाति संघको संशोधित विधान अनुमोदनका साथै पार्टीको देशव्यापी जनजागरण अभियान सञ्चालनको विषयबारे नेताहरूसँग राय सुझाव मागेका छन् ।

पार्टीको नयाँ विधानले पदाधिकारीमा थप गरिएको संख्या समेतको कार्यसम्पादन समिति गठनको व्यवस्था गरेको भएपनि तत्कालको परिस्थितिमा निर्वाचित सात सहमहामन्त्री नभएको भन्दै सभापति देउवाले पुरानै विधानको आधारमा पदाधिकारीसहित २९ सदस्यीय समिति गठन गर्ने जानकारी दिएको स्रोतले जनाएको छ ।

कार्यसम्पादन समिति गठन गर्दा सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक–एक सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ताका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल बाहेक बाँकी पदमा केन्द्रीय सदस्यमध्येबाट चयन हुनेछ ।

देउवाले साठी–चालीसको अनुपातमा भएपनि कार्यसम्पादन समिति मिलाएर गठन गर्न आफू तयार रहेको बताएका छन् । वरिष्ठ नेता पौडेलसँग आफ्नो कोटाबाट उनीसहित महामन्त्री डा.शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवबाहेक थप ७ देखि ८ जनाको नाम दिन देउवाले आग्रह गरेको स्रोतले जनाएको छ ।

देउवाले प्रस्ताव राखेलगत्तै वरिष्ठ नेता पौडेलले सिटौलाको अंश कता पर्छ नि भनि प्रश्न गरेका थिए । त्यसपछि नेता सिटौला रुष्ट हुँदै देउवा निवासमा चलेको छलफल छोडेर बाहिरिएका थिए ।

देउवा पक्षका कतिपय नेताहरूले पार्टीको महाधिवेशनमा सिटौला सभापति देउवासँगै भएपनि पछिल्लो समय विभिन्न भ्रातृ संस्थाको अधिवेशन तथा जिल्ला सभापतिको भेलामा उनको संलग्नता र सहभागिता पौडेल समूहसँगै भएको भन्दै उनको नाम पौडेल समूहबाटै आउनुपर्ने बताएका थिए ।

देउवाको प्रतिवाद गर्दै नेता प्रकाशमान सिंहले सभापति देउवालाई सिटौला गत महाधिवेशन र त्यसपछिको लामो समय उनैको टिममा रहेर क्रियाशील भएको भन्दै उनलाई सभापतिकै कोटामा राख्नु पर्नेमा जोड दिएका थिए ।

देउवाले सहमतिका लागि आफू तयार रहेको बताउँदै सिटौलालाई पौडेल समूहले राखे पनि नराखे पनि उनको व्यवस्थापन आफैँ गर्न तयार रहेको आश्वासन दिएका छन् ।

सभापति देउवाले सहमति गरी भोलि नै कार्यसम्पादन समिति गठन गर्न तत्परता देखाएपछि पौडेल पक्षका सदस्यहरूको सूची तय गर्न शनिबार मध्यान्ह १२ बजे पौडेल समूहको बैठक बस्ने तयारी भएको छ ।

सम्भवत् पौडेल पक्षबाट कार्यसम्पादन समितिमा रहने सदस्यहरूको नाम आएमा शनिबार साँझसम्म सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकबाट उक्त समिति अनुमोदन गराउने तयारी गरिरहेका छन् ।

सभापति देउवाले यसअघि गठन गरेर विघटन गरेको कार्यसम्पादन समितिमा हाल केन्द्रीय समितिमा वरिष्ठताको रोलक्रम रहेका सदस्यहरूलाई नै मनोनीत गरेका थिए ।

देउवाले आफ्नो समूहका नेताहरू गोपालमान श्रेष्ठ, चित्रलेखा यादव, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा.नारायण खड्का, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, एनपी साउद लगायतका नेतालाई समावेश गराउने छन् ।

देउवाका लागि पौडेल गुटबाट आएका डा.खड्का, नरहरि आचार्य, आनन्दप्रसाद ढुंगानाको व्यवस्थापन कसरी मिलाउने भन्ने चिन्ता छ ।

भागबण्डा गर्दा देउवाको कोटामा २९ मध्ये न्यूनतम १७ जना सदस्य रहनेछन् । जसमा देउवाले नेता सिटौलाको व्यवस्थापन गर्नु परे बाँकी १० जना आफ्नो समूहबाट चयन गर्नेछन् ।

करीव ११ देखि १२ जनाको सिट पाउने वरिष्ठ नेता पौडेलका लागि आफूसहित तीन पदाधिकारी कटाएर बाँकी संख्यामा कसलाई राख्ने र कसलाई छाड्ने भन्ने सकस पर्ने लगभग पक्कापक्की देखिएको छ ।

पहिले देउवा समूहमा रहेका अर्जुननरसिंह केसी र कुलबहादुर गुरुङले पनि देउवासँगको सम्बन्ध तोडिसकेको अवस्थामा देउवाले सिटौलाको व्यवस्थापन गरिदिएपनि बाँकी संदस्यको व्यवस्थापन पेचिलो बन्ने देखिएको छ ।

देउवाका लागि कार्यसम्पादन समितिमा विधान बमोजिम महिलाको ३३ प्रतिशत उपस्थिती कसरी व्यवस्थापन गर्ने भन्ने पनि चुनौती रहेको छ ।

महिलाको प्रतिनिधित्व गराउनु परेमा देउवाले महालक्ष्मी उपाध्याय ‘डना’, अम्बिका बस्नेत र पुष्पा भुसाल, ईश्वरी न्यौपानेको व्यवस्थापन गर्नु पर्नेछ । पौडेलका लागि कमला पन्त, रत्ना शेरचनको बोझ थपिनेछ ।

पौडेल समूहबाट प्रकाशमान सिंह, डा.रामशरण महत, अर्जुनरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, डा.मीनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, डा.शेखर कोइराला जस्ता नेताहरूको व्यवस्थापन गर्नुपर्नेछ ।

त्यस्तो अवस्थामा वरिष्ठ नेता पौडेलले शनिबार आफ्नो गुटभित्र कसलाई रोज्ने र कसलाई छोड्ने भन्ने विषय मिलाउन समस्या परेपछि पुनः सभापति देउवासँग अर्को सर्त अगाडि सार्न सक्ने सम्भावना रहेको स्रोतको दाबी छ ।

सिटौलाका अतिरिक्त अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ र सुजाता कोइरालाको विषयमा उनीहरुलाई कुनै गुटमा नराखी सिट छुट्याएर बाँकी पदमा साठी र चालीस गरी मिलाउँ भन्ने नयाँ प्रस्ताव अघि सारेर शनिबारको केन्द्रीय समिति बैठकमा अत्तो थाप्न सक्ने सम्भावना रहेको छ ।

Published : Friday, 2019 April 5, 11:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया