कांग्रेस नेता बानियाँले ल्याइदिए राहतको बाढी, सरकारले हात उठाए कांग्रेसले घर बनाइदिने

बारा । नेपाली कांग्रेसका युवा नेता एवम् प्रदेश ३ संसदीय दलका नेता ईन्द्र बानियाँले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले घोषणा गरे अनुसार हावाहुरी प्रभावितहरूको घर नबनाइदिए कांग्रेसले बनाउन जिम्मेवारी लिने बताएका छन् ।

बारा जिल्ला स्थानीय प्रशासनसँग समन्वय गरी अनुमति लिएर दुई सय घर परिवारका लागि सात लाख रुपियाँ बराबरको राहत लिएर आइपुगेका कांग्रेसका युवा नेता एवम् मकवानपुर कांग्रेसका जिल्ला सभापति बानियााले कम्युनिस्ट सरकारले पीडितहरूको घर बनाउन आनाकानी गर्‍यो भने दुई सय पीडितको घर कांग्रेस एक्लैले निःशुल्क बनाइदिने घोषणा गरे ।

प्रदेश ३ संसदस्य दलका कांग्रेस नेता बानियाँले शुक्रबार १० किलो चामल, दुई किलो दाल, एक किलो नुन, बाल्टिन, जग, थाल, कटोरा, चम्चा, नुहाउने साबुन, एक किलो सर्फ, त्रिपाल, म्याट लगायतका सामाग्रीहरू वितरण गरेका छन् ।

युवा नेता बानियाँले हावाहुरी प्रभावितस्थल पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, महागढीमाई नगरपालिकाको जानकारी लिन आएका थिए । स्थलगत जानकारी लिन आएका बानियाँ आफैले राहत सामाग्री बोकेर ल्याइ वितरण गरेका छन् ।

यो सामाग्री प्रदेश ३ को संसदीय दल र नेपाली कांग्रेस मकवानपुरको संयुक्त रुपमा गरिएको बानियाँले बताए ।

प्रदेश २ का बारा र पर्सा विपतमा परेका बेला कांग्रेसले सहयोग गर्ने दायित्व रहेको उनले बताएका छन् ।

कांग्रेस नेता बानियाँले ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई वर्षा शुरु हुनु अगाडि नै बारा र पर्साका पीडितहरूको घर बाचा गरे अनुसार बनासक्नुपर्ने खबरदारी गरेका छन् ।

‘कम्युनिस्ट सरकारले पीडितहरूको घर बनाउने घोषणा गरेको छ । सह्रानीय छ’, बानियाँले भने, ‘यदि पीडितका घर बनाएन भने सबै पीडितहरूको घर बनाउने जिम्मेवारी नेपाली कांग्रेसले लिनेछ ।’

बारा जिल्ला दैवीप्रकोप उद्धार प्रकोप समितिसँग समन्वय गरेर राहत वितरण गरिएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मनिभुषण यादवले बताए ।

कांग्रेस नेता बानियाँले शुक्रबार पचरौता नगरपालिकाका पीडितहरूलाई राहत वितरण गरेका छन् । उनले शनिबार सुवर्ण गाउँपालिका, महागढीमाई नगरपालिकामा राहत वितरण गर्ने कांग्रेस नेता यादवले बताए ।

नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले हावाहुरी पीडितलाई पार्टीले २५ लाख सहयोग गर्ने घोषणा गरेका थिए । नेपाल तरुण दलले मृत्यु भएका प्रतिपरिवार दश–दश हजार रकम दिने घोषणा गरेको छ ।

देउवाको घोषणापछि कांग्रेसको तर्फबाट सबैभन्दा धेरै राहत बोकेर प्रभावित क्षेत्र आपुग्नेमा नेतामा बानियाँ परेका छन् ।

नेपाली कांग्रेसका केही जिल्ला सभापतिहरूले काठमाडौंको ठमेलस्थित सुविधा सम्पन्न होटेलमा भेला गरेर कांग्रेस कमजोर बनाउने गतिविधि गरिरहेका बेला मकवानपुरका सभापति बानियाँले राहत आफै बोकेर पीडितहरूको घाउमा मलम लगाउन आइपुगेका छन् ।

बारा र पर्साका कांग्रेस नेता तथा कार्यकर्ताहरूले बानियाँको कार्यबाट खुसी व्यक्त गरेका छन् ।

Published : Friday, 2019 April 5, 8:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया