यस्तो थियो ठमेलमा कांग्रेसका जिल्ला सभापतिहरूको ‘काण्ड’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चेतावनीपछि दुई दिन चलेको जिल्ला सभापतिहरूको भेला ठोस निर्णयमा नपुगी सक्किएको छ ।

मकवानपुर कांग्रेसका सभापति ईन्द्र बानियाँले असन्तुष्ट जिल्ला सभापतिहरूको भेलालाई लिएर विभिन्न प्रश्न खडा गरिदिएपछि शुरुमै भेला विथोलिएको थियो ।

सधै पत्रकारहरूलाई सहज पहुँच दिने कांग्रेसको जिल्ला सभापतिहरूको भेलामा यस पटक पत्रकारहरूलाई छेउछाउ पर्न दिइएन । को–को सभापति भेलामा सहभागी थिए भन्ने नाम पनि लुकाइएको छ । सभापतिहरूले हाजिरी गरेको किताव समेत सभापतिहरूलाई नै फोटो खिच्न दिइएन ।

भिडभडाका र व्यस्त रहने मध्ये ठमेलमा रहेको काठमाडौं होटेलको बन्द कोठामा सभापतिहरूको भेला बुधबार र बिहीबार दुई दिन चलेको थियो ।

भेलाको पहिलो दिन करीव ३५ जना जिल्ला सभापतिहरू सहभागी भएपछि दोस्रो दिन त्यसको संख्या आधा घटेको थियो । ठमेल भेलाका सहभागीहरूले ५० भन्दा धेरै जिल्ला सभापति सहभागी भएको दाबी गर्दै आएका छन् ।

केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीका भाई नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसी र काभ्रे कांग्रेसका सभापति मधु आचार्यबीच भएको खिचातानीमा जिल्ला सभापतिहरूको भेला सम्पन्न भएको छ । काभ्रे कांग्रेसका सभापति आचार्य नेता कृष्णप्रसाद सिटौला समूहका हुन् ।

केसी र आचार्यको लडाइँमा काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँ पनि परेका छन् । बानियाँले केसी र आचार्यलाई नेता मान्न नसकिने धारणा घुमाउरो भाषामा भेलामा राखेपछि विवादले उग्ररुप लिएको उच्च स्रोतले जनाएको छ ।

सभापति शेरबहादुर देउवालाई फाल्ने अभियानका साथ शुरु भएको जिल्ला सभापतिहरूको भेलाले देशभरि तरंग उत्पन्न गरेको थियो । अन्तिममा जिल्ला सभापतिहरूले धम्की र घुर्कीको गोलमटोल भाषा समेत नमिलेको अनौपचारिक विज्ञप्ति जारी गर्दै सकिएको छ ।

विराटनगरमा पत्रकारहरूसँग बोल्दै देउवाले बिहीबार बिहान जिल्ला सभापतिहरूले बोलाउने विशेष अधिवेशन र हस्ताक्षर अभियानको सामना गर्ने भन्दै चेतावनीको भाषा बोलेपछि ठमेलको होटेलमा छलफल गरिरहेका जिल्ला सभापतिहरूको सातो गएको थियो ।

भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला निकटका जिल्ला सभापतिहरू उपस्थित थिए । सभापति देउवा निकटका सभापतिहरूले भेलालाई बहिस्कार गरिदिएका थिए ।

कांग्रेसलाई संकटमा पार्ने गरी भएको असन्तुष्ट समूहका जिल्ला सभापतिहरूको भेलाका कारण कार्यकर्तामा निरासा छाएको भन्दै अनुशासनको कारबाही माग भएको छ ।

केही जिल्ला सभापतिहरूले ठमेलमा उपस्थित भएर अराजक गतिविधि गर्ने सभापतिहरूलाई स्पष्टीकरण सोधर कारबाही प्रक्रिया अगाडि बढाउन माग उठाएका छन् ।

Published : Friday, 2019 April 5, 11:52 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया