कांग्रेसका जिल्ला सभापतिहरूको भेलामा विवाद, नेतृत्वलाई धम्काउँदै सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला निकटका जिल्ला सभापतिहरू सभापति शेरबहादुर देउवाविरुद्ध हस्ताक्षर गर्ने अभियानबाट पछाडि हटेका छन् ।

काठमाडौंको ठमेलस्थित सुविधा सम्पन्न एक होटेलमा बुधबार र बिहीबार दुई दिन चलेर सम्पन्न भएको असन्तुष्ट समूहका जिल्ला सभापतिहरूको भेलाले नरम हुँदै विभिन्न निर्णयहरू गर्दै भेलालाई सम्पन्न गरेका हुन् ।

सभापति देउवाले बिहीबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै असन्तुष्ट जिल्ला सभापतिहरूको विशेष महाधिवेशनलाई सामना गर्न तयार रहेको अभिव्यक्ति दिएका थिए । देउवाको चुनौतीपछि सभापतिहरू हच्किएका छन् ।

असन्तुष्ट समूहका जिल्ला सभापतिहरूले तत्कालका लागि सभापति देउवाविरुद्ध हस्ताक्षर अभियान चलाउने अभियानबाट ब्याक भएका छन् ।

स्रोतका अनुसार भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल निकटको सभापति र नेता कृष्णप्रसाद सिटौला निकटका सभापतिहरूका बीच हस्ताक्षर अभियान चलाउन विषयमा मत बाझिएको थियो । भेलामा सभापति देउवाविरुद्ध नै हस्ताक्षर अभियान चलाउँदा अनुशासनको कारबाहीमा परिने डरले पनि कडा निर्णय नगरेको एक सभापतिले बताए ।

जिल्ला सभापतिहरूको भेलाले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय सच्चाउनुपर्ने माग राखेका छन् । यो माग पूरा नभए विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियान चलाउने सहमति गरेको निर्णयमा उल्लेख छ ।

भेलाले सबै पदाधिकारी र केन्द्रीय सदस्य पार्टीको वडा तहबाटै निर्वाचित हुनुपर्ने निर्णय गरेको छ ।

पार्टीको समानुपातिक आरक्षण सुविधा एक व्यक्तिका लागि एकपटक मात्र लागू हुनुपर्ने व्यवस्था गर्न भेलाले माग गरेको छ ।

कांग्रेसको महासमिति बैठक गत मंसिर २८ देखि पुस ८ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो ।

महासमिति बैठकमा सभापति देउवा र वरिष्ठ नेता पौडेलले आफूले गरेको प्रतिबद्धताअनुसार केन्द्रीय समितिबाट निर्णय गराउन नसकेको जिल्ला सभापतिहरूको आरोप छ ।

नेतृत्वलाई दबाब दिन महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन अभियान सञ्चालन गरी पुनःविचार गर्न आग्रह गर्ने निर्णय भएको छ ।

नुवाकोट कांग्रेसका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको उक्साहटमा जम्मा भएका जिल्ला सभापतिहरूले बैठकमा धेरै खुलेर बोलेका थिएनन् ।

जिल्ला सभापतिहरूले बारा र पर्सामा हावाहुरीबाट भएको धनजनको क्षतिप्रति पीडितसँग साथ रहेको उल्लेख गर्दै भेलाले सबै जिल्लाको तर्फबाट यथाशीघ्र राहत लिइ प्रकोपस्थलमा उपलब्ध गराउने निर्णय गरेको छ ।

संविधानअनुसार बन्ने पार्टीका नयाँ संरचनामा यथाशीघ्र निर्वाचनमार्फत पार्टीका ईकाइ गठन गर्ने व्यवस्था गरियोस् भनेर केन्द्रलाई आग्रह गर्ने निर्णयसमेत भेलाले गरेको छ ।

भेलाले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको अविलम्ब महाधिवेशन सम्पन्न गर्न केन्द्रलाई आग्रह गर्ने निर्णय गरेको छ ।

जिल्ला सभापतिहरूको भेलाले सरकारका गलत कार्यविरुद्ध र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान अविलम्ब सञ्चालन गर्नका लागि केन्द्रीय समितिलाई आग्रह गर्ने निर्णय गरेको छ ।

जिल्ला सभापतिहरुले पार्टीको चौधौं महाधिवेशन निर्धाति समयमा सम्पन्न गर्ने कार्यतालिका अविलम्ब सार्वजनिक गर्न नेतृत्वसमक्ष आग्रह गरेका छन् ।

भेलामा ५४ सभापतिको उपस्थिति रहेको दाबी गरिएको छ । संंस्थापन पक्षका सभापतिले भेलालाई बहिस्कार गरेका थिए ।

Published : Thursday, 2019 April 4, 7:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया