दाङमा देउवाको आकस्मिक घोषणाले तरंगित बन्यो कांग्रेस

लमही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासले १४औँ महाधिवेशनमा आफूफेरि चुनाव लडेर पार्टीको नेतृत्वमा आउन चाहेको बताएका छन् ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले बुधबार लमहीमा आयोजना गरेको क्षेत्रीय सभालाई सम्बोधन गर्दै देउवाले पार्टीको बिधानमा चुनाव लडेर नेतृत्वमा आउन सक्ने व्यवस्था गरिएको बताए । उनले १४औँ महाधिवेशनबाट कांग्रेसको सभापति बन्ने घोषणा गरेपछि तरंग उत्पन्न भएको छ ।

सभापति देउवाले महिला, थारु, मधेसी, दलित समुदायलाई आरक्षणको व्यवस्था गरिएको जानकारी दिएका छन् ।

‘कांग्रेस सबैको पार्टी हो । महिला, थारु, मधेसी, दलितलाई आरक्षणको व्यवस्था छ’, उनले भने, ‘चुनावको नाममा तलैबाट सिध्याउन खोज्नु भनेको असंहिष्णुता हो ।’

१६ मिनेट लामो भाषण गरेका देउवाले वर्तमान कम्युनिस्ट सरकारको आलोचनामा धेरै समय खर्चिएका थिए ।

देउवाले कम्युनिस्ट सरकारले कामै गर्न नसकेको आरोप पनि लगाएका छन् । ‘खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार बनेको एक वर्षभन्दा बढी भयो । तर, जनताको काम एउटा पनि गर्न सकेन’, उनले भनेका छन्, ‘सरकारले सबै गलत काम गरिरहेको छ ।’

उनले ओली नेतृत्वको कम्युनिस्ट सरकारबिरुद्ध कांग्रेसले आन्दोलन गर्ने र त्यसको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन पनि दिए ।

क्षेत्रीय सभामा केन्द्रस्तरका अन्य नेताहरूले पनि सम्बोधन गरेका छन् । कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले कम्युनिस्टबाट कुरा गर्न सिक्नुपर्ने बताएका छन् ।

‘यो देशमा कुरा मात्रै बिकिरहेको छ । काम विकेको छैन’, डा.महतले भने, ‘कांग्रेसका कार्यकर्ताले अब काम पनि गर्दै जाने र कुरा पनि गर्दै जाने हो । हामीले काम गर्‍यौं तर, त्यसको प्रचार गर्न जानेनौं ।’

केन्द्रीय सदस्य दीपक गिरीले कांग्रेसले अब कम्युनिस्ट सरकारको ज्यादति सहन नसक्ने बताए । उनले कांग्रेसले कम्युनिस्ट सरकारलाई सडक र सदनबाट खबरदारी गर्दै एकएक हिसाव किताव माग्ने चेतावनी दिए ।

‘कांग्रेसले मुलुकमा द्वन्द्व नहोस भनेर चाहेको छ’, पूर्वमन्त्री समेत रहेका गिरीले भने, ‘प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई पेल्दै लैजाने नीति लिएपछि कम्युनिस्ट सरकारसँग लचिलो हुनुपर्ने अवस्था छैन ।’ उनले कांग्रेसले अब प्रतिपक्ष कस्तो हुन्छ भनेर कम्युनिस्टहरूलाई देखाइदिने बताए ।

दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य भीष्मराज आङदम्बे, चन्द्र भण्डारी, देवेन्द्रराज कँडेल, कृष्णकिशोर घिमिरे, पार्वती डिसी चौधरी, अनिता देवकोटा, राजु खनाल, योगेन्द्र चौधरी, सुशीला चौधरी, दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्कासहितका नेताहरूको उपस्थिति रहेको थियो ।

 

Published : Wednesday, 2019 April 3, 7:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया