कांग्रेस बलियो बनाउने बेला गुटबन्दी गर्नु हुँदैनः इन्द्र बानियाँ

काठमाडौं । नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति एवम् प्रदेश ३ का संसदीय दलका नेता ईन्द्र बानियाँले पार्टीको विधान विपरित भेला राखेर नेतृत्वको मानमर्दन गर्ने जिल्ला सभापतिहरूलाई कारबाहीको माग गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै बानियाँले कांग्रेसको विधानमा जिल्ला सभापतिहरूको भेला गर्ने कुनै पनि प्रावधान नरहेको बताए । ‘जिल्ला सभापतिहरूको भेला होइन मेला हो’, उनले भने, ‘पार्टीको विधान विपरितका क्रियाकलाप गर्नेहरूलाई कारबाही गर्नुपर्छ ।’

कम्युनिस्ट सरकारले जताततै निरंकुश व्यवहार देखाइरहेका बेला कांग्रेसका कमाण्डरहरू जिल्लामा बसेर विरोधमा सहभागी हुने बेला आफ्नै पार्टी नेतृत्वविरुद्ध भेला आयोजना गरेको भन्दै बानियाँले आक्रोश व्यक्त गरे ।

‘जिल्ला सभापतिको भेला होइन मेला हो । भेटघाट हो’, उनले भने, ‘महासमितिले केन्द्रीय समितिलाई अधिकार दिएको थियो । त्यो अधिकारका आधारमा केन्द्रीय समितिले निर्णय गरेको छ । बहुमतबाट निर्णय गरेपछि विरोध भएको थियो । त्यो विवाद मिलेर नेताहरूले सर्वसम्मतिबाट तीन वटा समिति बनाएका छन् ।’

केन्द्रमा केन्द्रीय सदस्य र शीर्ष नेताहरू मिलेर निर्णयहरू गर्ने गरेको उदाहरण दिँदै मकवानपुरका जिल्ला सभापति बानियाँले कांग्रेसभित्र विवाद गर्नेभन्दा पनि विवादलाई मिलाएर जाने बेला भएको बताए ।

‘जिल्ला सभापतिहरूको भेला गरेर कांग्रेसलाई कमजोर गर्ने कार्य हुँदै छ’, उनले भने, ‘कांग्रेसको विधानमा भेलाको कुरा छैन । केन्द्रको आयोजनामा मकवानपुरको हेटौँडामा जिल्ला सभापतिहरूको भेला भएको छ । काठमाडौंमा हुन लागेको यो भेला विधान बमोजिम छैन ।’

जिल्लाका कांग्रेसका कमाण्डरहरू सरकारविरुद्ध लाग्ने बेला भेला र गुटबन्दी गर्दै हिँडेको भन्दै बानियाँले आक्रोश व्यक्त गरेका छन् । ‘काठमाडौंमा हुन लागेको जिल्ला सभापतिहरूको यो भेलालाई कसले उचालेको छ’, उनले भने, ‘अराजक गतिविधि गर्नेहरूलाई अनुशासनको कारबाही गर्नुपर्छ ।’

नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीसहितका सभापतिहरूको उक्साहटमा केही जिल्लाका सभापतिहरूको भेला बुधबार र बिहीबार दुई दिन काठमाडौंमा हुँदै छ । यो भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र नेता कृष्णप्रसाद सिटौला समूहका सभापतिहरूको सहभागिता रहनेछ ।

Published : Wednesday, 2019 April 3, 12:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया