कांग्रेस र देउवाविरुद्ध विवादास्पद व्यापारीको ‘कालो धन्दा’

काठमाडौं । स्वीस बैंककामा अर्बौं रकम जम्मा गरेका विवादास्पद व्यापारी राजेन्द्र बजगाइँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मानमर्दनमा खुलेरै लागेका छन् ।

बजगाइँले केही अनलाइन र युट्युबहरूमा अन्तर्वार्तामार्फत देउवाको चरित्र हत्या हुने आपत्तिजनक अभिव्यक्ति दिएका हुन् । त्यति मात्रै होइन बजगाइँले आफ्ना समाचार र युट्युबका भिडियो अन्तर्वार्ताहरूलाई पैसा तिरेर सामाजिक सञ्जालमा बुस्ट समेत गराएका छन् ।

ती समाचार र युट्युब अन्तर्वार्तामा विवादास्पद व्यापारी बजगाइँले ‘शेरबहादुर देउवाका सामर्थकले ज्यान मार्ने धम्की दिएको, सुरक्षाका लागि आफू युएनएचसिआरमा जानुपरेको, नेपाल तरुण दलले आफूविरुद्ध विज्ञप्ति जारी गरेर जघन्य अपराध गरेको, शेरबहादुर देउवाको भाई ललित देउवाको छोरा नरेश देउवा (भतिजा)लाई जागिर लगाइदिएको छु’ जस्ता अभिव्यक्ति बजगाइँले दिएका छन् ।

सभापति देउवालाई कारबाही गर्न माग गरेर कांग्रेसको पार्टी मुख्यालयमा उजुरी दर्ता गराएका बजगाइँको देउवाको चरित्र हत्या गर्ने उदेश्यका साथ लागेको कांग्रेस शुभेच्छुकहरूको आरोप छ ।

कुनै बेला सभापति देउवाकै गुटभित्र अर्थात किचन क्याबिनेटका व्यक्ति भइसकेका बजगाइँ र देउवाबीच सम्बन्ध बिग्रनुको पनि रहस्य रोचक छ । अहिले बजाइँ नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालसँग निकट हुन पुगेका छन् । बजगाइँले वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइरालासहितका नेताहरूलाई गन्दैनन् ।

देउवालाई जिताउन कांग्रेसको १३औँ महाविधेशनका बेला गोप्य कार्यालय खोल्न आफूले अनामनगरको घर प्रयोग गर्न दिएको बजगाइँले अन्तर्वार्तामा बताएका छन् । उनले देउवालाई सभापतिमा जिताउन आफूले विशेष पहल गरेको अन्तर्वार्ताका क्रममा दाबी गरेका छन् ।

देउवाले नै आफूलाई समानुपातिकमा बसेर सहयोग गर्न पटक पटक आग्रह गरेको बताएका विवादास्पद व्यापारी बजगाइँले आफूले नमानेको बताए । उनले भने, ‘मलाई समानुपातिकबाट सांसद बनाउने प्रस्ताव देउवाले पठाउनुभएको थियो । मैले मानिन । म प्रदेश सांसदमा उम्मेदवार बने । देउवाका निकटका मान्छेले मलाई भाई समानुपातिकमा बसेर दाईलाई सहयोग गर्नुपर्छ भनेका थिए ।’

गोर्खा जिल्लाको मध्यमवर्गीय परिवारका राजेन्द्र बजगाइँले १३–१४ वर्षको समयमा अर्बौंको सम्पत्तिको मालिक बनेका छन् । सुरुवाती दिनमा ट्रेकिङमा सानातिना काम गरेका बजगाइँका कठिनका दिन थिए । ट्रेकिङ व्यवसायमा विदेशीहरूसँग उनको संगत भयो । सांग्रीला होटेलको क्यासिनोमा विदेशी लगानीकर्ताले उनको नाम राखिदिए ।

उनकै नाममा क्यासिनो चल्यो । क्यासिनोबाट राम्रो पैसा कमाइ गरे । कर छलि गर्ने देशबाट कालोधन भित्र्याए । सरकारलाई राजश्व नतिरेपछि बजगाइँ क्यासिनो पनि विवादमा पर्‍यो । कांग्रेस सभापति देउवालाई क्यासिनोको विवाद मिलाइदिन बजगाइँले पटक पटक दवाव दिएका थिए ।

तर, देउवाले राज्यलाई घाटा हुने कुरामा धेरै चासो दिएनन् । त्यसपछि बजगाइँ कांग्रेस सभापति देउवाले सहयोग नगरेको भन्दै विरोधमा उत्रिए । गुट परिवर्तन गरेर देउवाको चरित्र हत्यामा सक्रिय भए ।

बजगाइँले भैरहवामा होटेल खोल्दै छन् । होटेलको काम धमाधम हुँदै छ । तर, बजगाइँको बन्दै गरेको यो होटेल पनि निर्मार्ण सामाग्रीमा कर छलिको अभियोग लाग्दै आएको छ ।

खोज पत्रकारिता केन्द्रको रिपोर्ट अनुसार, नेपाली कांग्रेसबाट प्रदेश सभामा पराजित राजेन्द्र बजगाईको पनि विदेशमा लगानी रहेको देखिन्छ । बेलायतको कम्पनी रजिष्ट्रेशन कार्यालय ‘कम्पनिज हाउस’ का अनुसार, बजगाइँले सन् २००४ मा लण्डनमा गोरखा इन्काउन्टर्स लिमिटेड र २०१० मा एफएनबी पब्लिसिङ लिमिटेड कम्पनीमा लगानी गरेका छन् ।

गोरखा इन्काउन्टर्सलाई पछि नाम परिवर्तन गरी ‘द हिमालयन एडभेन्चर लिमिटेड’ बनाइएको थियो । नाम परिवर्तन भएको कम्पनीका लगानीकर्तामा लन्डन निवासी लेखनाथ पाण्डे, ब्रिटिश नागरिक म्यागी मग्वाया र नेपाली नागरिक बजगाइँ शेयर सदस्य छन् । पाण्डे गैरआवासीय नेपाली हुन् भने बजगाइँ नेपालमै बसोबास गर्ने पर्यटन व्यवसायी हुन् ।

बजगाइँले नेपालमा पनि ‘गोरखा इन्काउन्टर्स’ कम्पनीको नामबाट पर्यटन व्यवसाय गर्दै आएका छन् । प्राप्त विवरणहरू अनुसार उनले नेपालमा २०५५ सालमा कम्पनी दर्ता गरेका हुन् । त्यसको पाँच वर्षपछि अर्थात् सन् २००४ (२०६०) मा नेपालमै व्यवसाय गरिरहेको कम्पनीको नाम राखेर लन्डनमा नयाँ कम्पनी खोलेको देखिन्छ ।

बजगाइँले नेपालमा ट्याक्स हेवनको लगानी समेत भित्र्याएका छन् । उद्योग विभागले उपलब्ध गराएको प्रत्यक्ष वैदेशिक लगानीको सूची अनुसार, उनले अष्ट्रेलियन ‘सिल्भर हेरिटेज’ समूहसँग साझेदारी गरी तीन देशमा विभिन्न कम्पनी खोलेर नेपालमा लगानी ल्याएको देखिन्छ । बजगाइँसँग साझेदारीमा होटल तथा क्यासिनो सञ्चालन गर्ने गरी तीन पटकमा ३ अर्ब ७८ करोड रुपियाँ नेपालमा लगानी आएको देखिन्छ ।

यो लगानी हङकङ, ब्रिटिश भर्जिन आइल्यान्डस् र बेलायतका तीन कम्पनीसँग सम्बन्धित छ । ती कम्पनीहरूमा हङकङको ‘आईआरपी एशिया लिमिटेड’ अन्तर्गत ‘सिल्भर हेरिटेज लिमिटेड’, ब्रिटिश भर्जिन आइल्यान्डस्को ‘सिल्भर हेरिटेज लिमिटेड’ र बेलायतको ‘सिल्भर हेरिटेज लिमिटेड’ हुन् ।

बजगाइँसँग साझेदारी गर्ने गरी लन्डनका नागरिक डेविड फ्र्यांकेलले पनि २ करोड २५ लाख रुपियाँ विदेशी लगानी ल्याएका छन् ।

बेलायतमा आफ्नो नाममा कम्पनी रहेको बजगाइँले स्वीकार गरे । ‘बेलायतको एक पाउन्डको गिफ्टेड कम्पनीमा म पनि संलग्न छु । म आफैंले लगानी गरेको होइन’, उनले भने, ‘हामीले यहाँको पैसा त्यो कम्पनीमा लगेका छैनौं ।’

ब्रिटिश भर्जिन आइल्यान्डस्बाट लगानी ल्याएको सम्बन्धमा बजगाइँले भने, ‘यो देश कर छलीको हिसाबले कालोसूचीमा परेको कुरा मलाई थाहा छैन । सरकारले लगानीको स्वीकृति दिइसक्यो । म त्यसबारेमा बोल्न चाहन्नँ ।’

Published : Tuesday, 2019 April 2, 8:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया