मन्त्रीले बढाइदिए जग्गा दलालहरूलाई तनाब, बाहिरी चक्रपथको सीमाकंन हेरफेर हुने

काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आवश्यकता हेरेर बाहिरी चक्रपथको नक्सा फेरबदल हुन सक्ने बताएका छन् ।

विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा सांसदहरूले उठाएको जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री राईले बिगतमा विभिन्न स्वार्थ समूहको चलखेलमा जग्गाको कित्ताकाट गरिएकाले अहिलेकै अवस्थामा बाहिरी चक्रपथलाई अघि बढाउन कठिन हुने बताए ।

उनले घना बस्ती र टुक्रा जग्गा भएको स्थानबाट बाहिरी चक्रपथ परियोजना अघि बढाइए राज्यको आर्थिक स्रोतले थेग्न नसक्ने बताए ।

मन्त्री राईले भने, ‘अहिलेकै अवस्था अनुसार जग्गाको मुआब्जा दिन खर्बौ रुपियाँ राज्यले खर्च गर्नुपर्ने हुन्छ, त्यसैले राज्यलाई अधिकतम व्ययभार पर्ने गरी बाहिरी चक्रपथको काम अघि बढाउन खोजिए त्यसले मुर्तरुप पाउन सक्दैन ।’

बैठकमा बोल्दै अधिकांस सांसदहरूले बाहिरी चक्रपथका लागि जग्गा रोक्का गरी अधिग्रहणको काम अघि बढाउन आग्रह गरेका थिए ।

जवाफमा मन्त्री राईले खण्ड खण्ड पारेर जग्गा रोक्का गरिए स्वार्थ समूहले झन् चलखेल गर्ने बताए ।

६ किलोमिटर खण्डको जग्गा रोक्का गर्ने प्रस्ताव आएको भन्दै मन्त्री राईले अर्थ मन्त्रालयले सहमति दिए एकै पटक ७२ किलोमिटर सडक खण्डको जग्गा रोक्काको प्रस्ताव लैजान मन्त्रालय तयार बताए ।

थोरै खण्डको मात्र जग्गा रोक्का गर्दा भूमाफिया झन् हावी हुनेभन्दै उनले एकै पटक सबै जग्गाको रोक्का गरेर मात्र अधिग्रहण गर्नुपर्ने बताएका छन् ।

बैठकमा सत्तारुढ नेकपाका सांसद टोपबहादुर रायमाझीले राजनीतिक पहुँचलाई नभई राज्यको आवश्यकतालाई प्राथमिकता दिएर कार्यक्रम ल्याउन सुझाव दिए ।

जवाफमा मन्त्री राईले आगामी आर्थिक वर्षमा गैरबजेटरी खर्चको दायित्व मन्त्रालयमा थपिएकाले अहिलेकै सिलिङमा बहुवर्षीय योजनाका कार्यक्रम ल्याउन नसकिने स्पष्ट पारेका छन् ।

समिति बैठकमा बोल्ने अधिकांस सांसदले स्मार्ट सिटी र नयाँ शहरी विकासका लागि भइरहेको मन्त्रालयगत प्रगतिवारे जिज्ञासा राखेका थिए ।

मन्त्री राईले विगतमा हचुवाका भरमा स्मार्ट सिटीको अवाधारणा ल्याइएपनि नेपालको सन्दर्भमा छुट्टै सूचक बनाएर स्मार्ट सिटी र नयाँ शहरका लागि प्रक्रिया अघि बढाएको बताए ।

Published : Sunday, 2019 March 31, 5:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया