अर्का पूर्वसांसदलाई पनि जन्मकैदको फैसला
धनुषा । जनकपुरधाममा ५ जनाको ज्यान जाने गरी भएको बम काण्डमा मुख्य अभियुक्त पूर्वसांसद तथा राज्यमन्त्री संजय साह ‘टकला’ दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले त्यही घटनामा संलग्न ७ जनालाई जन्मकैदको फैसला सुनाउनु भएको हो ।
जन्मकैद सजाय पाउनेहरूमा पूर्वमन्त्री साह ‘टक्ला’, अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द झा रहेको अदालतका श्रेस्तेदार राधाकान्त झाले जानकारी दिएका छन् ।
मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले जनकपुरको रामानन्दचोकमा धर्ना बसेको बेला २०६९ साल वैशाख १८ गते बम विस्फोट भएको थियो ।
बम विस्फोटमा रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दाससहित ५ जनाको मृत्यु भएको थियो । ३२ जना घाइते भएका थिए ।
संजय साह पहिलो संविधान सभा र दोश्रो संविधानसभा चुनावमा धनुषाबाट निर्वाचित भएका थिए ।
पहिलो संविधानसभा चुनावमा फोरम नेपालबाट जितेका साह दोश्रो संविधानसभा चुनावमा तत्कालीन राजेन्द्र महतोको सद्भावना पार्टीबाट विजयी भएका थिए ।
पहिलो संविधानसभा चुनावमा जितेका बेला उनी राज्यमन्त्री समेत बनेका थिए । पछि बम काण्ड घटना भएपछि उनलाई मुख्य योजनाकारको आरोपमा पक्राउ गरी पूर्वपक्षका लागि थुनामा राखिएको थियो ।
उनीमाथि जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याको मुख्य योजनाकारको अभियोग पनि लागेको छ ।
केही दिन अगाडि मात्रै टीकापुर हत्याकाण्डका मुख्य दोषी सांसद रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत