ओलीलाई शक्तिको भोक जागेको छ, सेना चलाउन दिन्नौँः डा.शेखर कोइराला
भरतपुर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सुरक्षा परिषदको सिफारिस बिना प्रधानमन्त्री खड्गप्रसाद ओलीले सिधै सेना परिचालन गर्न सक्ने प्रावधानसहित कम्युनिस्ट सरकारले तयार पारेको विधेयकको विरोध गरेका छन् ।
चितवनको टाँडीमा नेपाली कांग्रेस रत्ननगर नगर कार्यसमितिले शनिबार टाककडीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै डा.कोइरालाले सेनालाई प्रधानमन्त्रीले चलाउने सम्बन्धी विधेयकलाई कांग्रेसले कुनै पनि हालतमा स्वीकार नगर्ने बताए ।

डा.कोइरालाले यो बिधेयकले नेपाली सेनाको मनोबल घटाएको पनि बताए । ‘प्रधानमन्त्री जीले सिधै सेना परिचालन गर्ने विधेयक जुनदिन पास हुन्छ त्यही दिनदेखि लोकतन्त्र समाप्तिको बाटोतर्फ लाग्छ’, उनले भने, ‘लोकतन्त्र बिरोधी र निरंकुशताको पक्षपोषण गर्ने यो विधेयक कांग्रेसले कदापि स्वीकार्न सक्दैन ।’
कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली शक्तिको भोको भएकाले राज्यका महत्वपूर्ण सबै निकाय आफू मातहत राखेको उनले बताए ।
डा.कोइरालाले यतिबेला मुलुकको कुटनीति सम्बन्ध अत्यन्तै कमजोर बनेको समेत बताए ।

कांग्रेसको महासमिति बैठकको राजनीतिक प्रस्तावमा संसद पुनर्स्थापनाको कुरा उल्लेख नगरेर नेतृत्वले पार्टीको इतिहाँस मेटाउन लागेको डा.कोइरालाले बताए ।
‘गिरिजाप्रसाद कोइराला नेतृत्वको आन्दोलनले संसद पुनर्स्थापना नगरेको भए धेरै नेता अहिलेसम्म पनि जेलमै हुन्थे’, डा.शेखरले भने, ‘संसद पुनर्स्थापनाकै जगमा मुलुकले अहिलेको उपलब्धी प्राप्त गरेको हो । त्यो इतिहाँस मेट्न पाइँदैन ।’

कांग्रेसका नेता डा.कोइरालाले पार्टीले दुरदराजका कर्मठ र ईमान्दार कार्यकर्ताहरूलाई न्याय दिन नसकेको समेत उल्लेख गरे । उनले १४औं महाधिवेशनपछि कुनै पनि कांग्रेस नेता र कार्यकर्ता माथि अन्याय हुन नदिने बताए ।
कार्यक्रमलाई चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठसहितका नेताहरूले पनि सम्बोधन गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत