‘कुरौटे’ ओलीको सरकार इतिहाँसकै भ्रष्ट : रामहरि खतिवडा

काठमडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले सार्वजनिक लेखा समितिको रिपोर्टलाई मान्न हो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै युवा नेता खतिवडाले मन्त्री अधिकारीले कुनै पनि अलमल नगरेर राजीनामा दिएर वाइड बडी घोटाला काण्डलाई छानविनमा सहयोग गर्नुपर्ने बताए । ‘कुनै बेला रविन्द्र अधिकारीजी पनि लेखा समितिको सदस्य हुनुहुन्थ्यो’, उनले भने, ‘लेखा समितिले दोषी ठानेपछि मन्त्री रविन्द्र अधिकारीले आजैका मितिबाट राजीनामा दिएर अनुसन्धान र छानविन गर्न सहज बनाइदिनुपर्छ ।’
मन्त्री अधिकारीको विगतको चरित्रप्रति प्रश्न उठाएका कांग्रेसका नेता खतिवडाले भने, ‘रविन्द्र अधिकारीजी लेखा समितिको सदस्य हुँदा एनसेलले ३३ अर्ब पुँजीगत लाभकर नर्तिदासम्म फोरजी अनुमति दिनु हुँदैन भनेर निर्णय गरियो । तर, विकास समितिको सभापति हुनेवित्तिकै रविन्द्र अधिकारीजीले एनसेललाई हतार हतारमा सुटुक्क फोरजीको अनुमति दिनुभयो ।’
‘मन्त्री अधिकारीजीले वाइड बडी घोटाला काण्डमा चार अर्ब ३० करोड खाएर नेपाल वायु सेवा निगम बचाउन सहयोग गरे भन्नु गलत छ’, कांग्रेसका नेता खतिवडाले भने । नेपाल वायु सेवा निगमलाई कम्युनिस्ट सरकारले दुहुनो गाई बनाएको उनले बताए ।
इतिहाँसमा प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार सबैभन्दा ठूलो भ्रष्टाचार काण्डमा फसेको कांग्रेसका युवा नेता खतिवडाले आरोप लगाए । नेता खतिवडाले भने, ‘इतिहाँसकै ठूलो भ्रष्टाचार काण्ड वाइड बडी घोटालामा प्रधानमन्त्री खड्गप्रसाद ओलीजी संसदमा एक शब्द बोल्दा पनि बोल्नु हुन्न । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई प्रश्न गर्न दिइँदैन । ओलीजी अहिले भ्रष्टाचारी र तस्करहरूलाई बचाउनु भएको छ । संरक्षण गर्नुभएको छ ।’
कांग्रेसका नेता खतिवडाले नीति निर्माणमा रहेकाहरूलाई कारबाही नगरेर प्रधानमन्त्री ओलीजीले हजार पन्ध्र सय रुपियाँ खाने खरिदार र सुब्बाहरूलाई पक्राउ गरेर कारबाही गर्नेतिर लागेको बताए । ‘सुशासनको कुरा गर्ने खड्गप्रसाद ओलीजी ठूला भ्रष्टाचारीलाई बचाउनु हुन्छ’, उनले भने, ‘ठूला भ्रष्ट र वाइड बडी काण्डाका दोषीहरूलाई आफैले संरक्षण गर्नुहुन्छ ।’
पोलिसी लेबलमा बस्ने प्रधानमन्त्री, मन्त्री, सचिव, महानिर्देशकले वाइड बडी घोटाला काण्डको जिम्मेवारी लिनुपर्ने उनले बताए । उनले अहिलेको कम्युनिस्ट सरकारमा नैतिक शिक्षाको कमी रहेको पनि बताए ।
‘पोलिसी लेबलमा बस्ने प्रधानमन्त्री खड्गप्रसाद ओली, मन्त्री रविन्द्र अधिकारीले वाइड बडी भ्रष्टाचारको जिम्मेवारी नलिएर के खरिदार र सुव्वाले जिम्मेवारी लिनु पर्ने हो ?’, उनले भने, ‘यो सरकार बनेपछि आफूले नियुक्त गरेको राजदूत मानव तस्करीमा परेपछि बर्खास्थ गर्नुपर्ने अवस्था पुगेको छ । जनताले के आश गर्नु ?’
प्रदेश ५ को सरकारले १४ वटा गाडी खरिद गरेर ठूलो रकम भ्रष्टाचार गरेको प्रशंग कोट्याउँदै कांग्रेसका नेता खतिवडाले भने, ‘एउटा गाडीमा आठ लाखका दरले १४ वटा गाडीबाट कमिशन खाने प्रदेश ५ को कम्युनिस्ट सरकार पनि छ । अब यस्तो स्थिति ल्याउने कम्युनिस्टहरूले देशमा सुशासन दिन सक्दैनन् ।’
प्रधानमन्त्री ओलीले न्यायालयलाई ध्वस्त बनाएको आरोप लगाए । ‘लोकसेवा आयोग, संवैधानिक परिषदलाई काम गर्न नसक्ने अबस्था बनाइएको छ’, उनले भने, ‘प्रधानमन्त्री ओली आफै भ्रष्टचारीलाई संरक्षण गर्न लाग्नुभएको छ ।’
प्रधानमन्त्री ओली र मन्त्रीहरू कुरौटेहरूको जमात भनेर आरोप लगाएका कांग्रेसका नेता खतिवडाले भने, ‘कुरौटे प्रधानमन्त्री, कुरौटे मन्त्रीहरूले कुरा मात्रै ठूला गर्छन् । सुनतस्करी कहाँ पुगे ? सिण्डिकेट कता गयो ? सरकार कुरौटे बनेको छ । कुरा गरेर जनतालाई भ्रममा पारेको छ ।’
सरकारका कामकारबाहीका बारेमा प्रश्न सोध्दा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटा बुरुक बुरुक उफ्रिने गरेको बताउँदै खतिवडाले भने, ‘सम्पत्ति सबै पत्नीको दाइजो देखाउनेहरू मन्त्रीहरूलाई केही सोध्नु हुँदैन बुरुक बुरुक उफ्रिन्छन् । अरुले दाइजो लिन मैले किन नलिने भन्छन् । यस्ता त छन् मन्त्रीहरू !’

Published : Tuesday, 2019 January 8, 1:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया