ओलीको पिछलग्गु बन्ने सभामुखलाई गगनको चुनौती, तनावमा महरा
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले सभामुख कृष्णबहादुर महराले प्रमुख विपक्षी दलसँग गरेको व्यवहारलाई लिएर माफी माग्नुपर्ने जनाएका छन ।
संसदको आइतबारको बैठकमा प्रधानमन्त्री केपी ओलीको सम्बोधनपछि प्रश्न सोध्न पाउनुपर्ने माग कांग्रेसको थियो । तर, सभामुख महराले समय नदिएपछि कांग्रेसले हँगामा मच्चाएको थियो ।
ओलीले सम्बोधन गर्नु अगाडि नै संसद सचिवालयमा कांग्रेसले प्रधानमन्त्रीसँग प्रश्न सोध्नेभन्दै पाँचजना सांसदको नाम टिपाएको थियो । महराले कांग्रेसलाई प्रश्न सोध्ने अवसर नै दिएनन ।
महराले बलजफती संसद अगाडि बढाएपछि कांग्रेसका सांसदहरू रोष्टमको अगाडि आएर नारावाजी गरेका थिए ।
सभामुखले नेपाली कांग्रेसप्रति देखाएको व्यवहारमा क्षमा माग्नुपर्ने कांग्रेसको अडान छ ।
कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले सभामुख महराले कांग्रेसलाई थिचोमिचोमा राखेर संसद चलाउन खोजेको आरोप लगाए ।
नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै कांग्रेसका नेता थापाले भने, ‘कांग्रेस जस्तो सजिलो प्रमुख प्रतिपक्षलाई सभामुख कृष्णबहादुर महराजीले यस्तो व्यवहार देखाउने ? यो कार्यप्रति उहाँले माफी माग्नुपर्छ । होइन भने कसरी सदन चलाउनु हुन्छ हामी पनि हेर्छौँ ।’
सांसद थापाले सभामुख महराले माफी नमाग्दासम्म सदन चल्न नसक्ने बताए । ‘आफूले गरेको कार्यप्रति सभामुखले क्षमा माग्नुपर्छ’, उनले भने, ‘होइन भने संसद चल्न सक्दैन ।
सभामुख सत्तारुढ दलको मात्रै होइन । सभामुख पद संसदमा रहेका सबै दलको साझा सम्पत्ति हो । महराजीलाई हेक्का रहनुपर्छ ।’
प्रधानमन्त्री ओलीले कांग्रेस जस्तो सजिलो प्रमुख प्रतिपक्ष कहिल्यै पनि नपाउने थापाले बताए ।
‘कांग्रेस जस्तो सजिलो प्रमुख प्रतिपक्ष दल प्रधानमन्त्री ओलीजीले पनि कहिल्यै पाउनु हुन्न’, उनले भने, ‘सहमति र सहकार्यको संस्कृतिलाई उहाँहरूलाई छाडदै जानुभएको छ । नेपाली कांग्रेसलाई पेलेरै लैजाने सोँच्नु भएको छ भने यो गम्भीर भुल हुनेछ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत