ओलीको सरकार पाँच वर्ष टिक्दैन, आफ्नै नेताले ढाल्छन्ः एनपी साउद

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता एनपी साउदले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष खड्गप्रसाद ओली नेतृत्वको अहिलेको सरकार ५ वर्षसम्म टिक्ने कुनै ग्यारेन्टी नभएको टिप्पणी गरेका छन् ।

कञ्चनपुरको बेलौरीमा शुक्रबार आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता साउदले समृद्ध नेपाल, सुखी नेपाली नारा बोकेको कम्युुनिस्ट सरकार सत्तारुढ दलकै नेताहरुका कारण टिक्न नसक्ने बताएका हुन् ।

‘ने क पालाई जनताले स्थिरता दिन्छ भनेर भोट दिएका हुन्’, उनले भने, ‘तर प्रचण्डको मुख एकातिर छ, ओलीको मुख अर्कोतिर छ ।’

‘झलनाथ खनालको मुख एकातिर छ, माधव नेपालको अर्कोतिर’, साउदले भने, ‘आफैमा मेलमिलाप नभएको पार्टीको सरकार ५ वर्ष चल्ने कुनै ग्यारेन्टी छैन ।’

कांग्रेस नेता साउदले ओली नेतृत्वको सरकारले चुनावअघि दिएको स्थिरता र समृद्धिको नारालाई सार्थकता दिनै नसक्ने दाबी पनि गरेका छन् ।

‘चुनावअघि भनिएझै यो सरकारले स्थिरता दिने कुने लक्षण नै छैन’, उनले भने, ‘समृद्धि त झन् धेरै टाढाको कुरा हो । मुलुकको समृद्धिका लागि रोजगारी सिर्जना गर्नुपर्छ ।’

नेता साउदले ओरालो लाग्दै गरेको शेयर बजार देखेर जानकारहरुले १–२ वर्षभित्रमा मुलुकमा आर्थिक संकट सिर्जना हुने पूर्वानुमान गरिसकेको बताए ।

जग्गा दलालहरुको जमिनको मूल्य बढाउन सरकारले चुरेको फेदमा सुदूरपश्चिम प्रदेशको राजधानी स्थापना गर्ने निर्णय गरेको उनले आरोप लगाएका छन् ।

उनले कम्युनिस्ट सरकारमाथि १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई संरक्षण गरिरहेको आरोप लगाए । उनले हत्यारालाई कारबाहीका लागि दवाव दिन अब कांग्रेसका सामु आन्दोलनको विकल्प नभएको बताए ।

‘सरकारका गलत क्रियाकलपाका विरुद्ध कांग्रेससामु आन्दोलनको विकल्प छैन’, उनले चेतावनी दिँदै भने, ‘आन्दोलनको विगुल बजाएर विरोधमा उत्रिन्छौं । हाम्रो आन्दोलनलाई जनताले साथ दिनेमा हामी ढुक्क छौं ।’

Published : Friday, 2018 December 28, 5:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया