कांग्रेसले गरेको काम मैले गरेको हुँ भनेर ओलीले ठग्नु भयोः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काम नै नगरेर जनतालाई ठगेको आरोप लगाएका छन् ।

बुधबार बसेको संसदको बैठकलाई सम्बोधन गर्दै देउवाले कांग्रेस नेतृत्वको सरकारले गरेका कामहरुलाई प्रधानमन्त्री ओलीले मैले गरेको हुँ भनेर जनतालाई ठगेको आरोप लगाए ।

‘सामाजिक सुरक्षा भत्ता कार्यक्रम मैले ल्याएको हुँ’, देउवाले भने, ‘अर्काले गरेको कामलाई मैले गरेको हुँ भन्ने ? काम गर्नुस् न ।’

सभापति देउवाले आगामी दिनमा कांग्रेसलाई बेवास्ता गरेर सरकार अगाडि बढ्न खोजे नराम्रो हुने चेतावनी दिए । उनले भने, ‘विपवक्षीलाई बेवास्ता गरेर केही काम गर्न सकिँदैन । सभामुखलाई भनेका छौँ । सरकारले ध्यान दिनुपर्छ ।’

सभापति देउवाले ओली सरकारले देशमा शान्ति सुरक्षा बनाउन नसकेको आरोप लगाए । निर्मला पन्तका दोषीलाई सरकारले संरक्षण गरेर राखेको उनले बताए ।

‘गरिव, निर्दोष, थारुलाई पक्राउ गरेर जवरजस्ती अपराध स्वीकार गराउन खोज्ने ?’, देउवाले भने, ‘सरकारले के हेरेर बसेको छ । निर्मलाका दोषीलाई पक्राउ गर्नु पर्दैन ? दोषीलाई संरक्षण सरकारले नै गरेको छ ।’

देउवाले संघीयता कार्यान्वयनमा कुनै काम गर्न नसकेको बताए । उनले सरकारको नियत नै ठीक नभएको बताए । देउवाले धर्मप्रचारक संस्थाको कार्यक्रममा सरकारलाई सहआयोजक बनाएको भनेर आलोचना गरे । ‘सहआयोजक बन्नु हुँदैन थियो’, उनले भने ।

ओली सरकारले कर्मचारीलाई धम्काएर समायोजन गन खोजेको भन्दै देउवाले आपत्ति जनाए । ‘कर्मचारीलाई धम्काएर हुँदैन’, उनले भने, ‘कर्मचारीलाई तर्साउँदैमा कसैले मान्दैन ।’

कांग्रेस सभापति देउवाले वाइड बडी खरिदमा ठूलो घोटाला भएको बताए । उनले विमान खरिदका विषयमा मन्त्रीले संसदलाई जानकारी दिन माग गरे ।

Published : Wednesday, 2018 December 26, 5:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया