कहाँ पुग्यो जेनजी आन्दोलन ?

युवराज संग्रौला, पूर्वमहान्यायाधिवक्ता

गाउँबाट आएका र कामगरी खानेका गोली खाने छोराछोरीलाई पछाडि पारेर शहरका धनीका छोराछोरी, बिदेशमा पढेका मात्र जेनजीका नेता बन्न खोजे । स्पष्ट बिचार र नेतृत्व बिनाको आन्दोलन अन्ततः असफल मात्र हुने होइन, त्यसले समाजलाई अराजक्ता र रास्ट्रमा बाहिरियाको घुसपैठ बढाउँछ । अहिले सडकमा देखिएका अनेक जेनजी छन् । नेतृत्व कहिँ छैन । जोस धेरै छ तर्क कमजोर । जेनजी भनेर लुटन हिंड्नेसम्मका समूह बनेका छन् । कति जेनजी समूह दलका पछाडि कुदिरहेका छन् । उनीहरूलाई चुनाव जित्नु छ । भ्रम छ, उनीहरूलाई मानिसले डालैले भोट खन्याइ दिनेछन् । जसले जेनजी आन्दोलनमा आफ्नो भूमिका देखाए उनीहरूले आन्दोलनले नेतृत्व दाबि गर्नै सकेनन् ।

१. आन्दोलनले आकार लिएकै थिएन, केही सत्ताका भोकाहरूले उनीहरूलाई दल बनाउन प्रयोग गर्न थाले । यो देश बिगार्न उनीहरू राजनीतिलाई आफ्नो स्वार्थको घोडा बनाइरहेका छन् । जेनजीमध्यका कोहि त दल खोल्न थाले अनि नेता झैं देखिन थाले । मिराज भन्ने भाइको समूह म कहाँ आएको थियो, मैले राम्रोसँग सम्झाएँ । पहिला एउटा कमिटी बनाएर सामूहिक छलफल गर्दै निर्णय गर्ने एउटा लोकतान्त्रिक बाटो बनाउ भनें । संविधान र निर्वाचनका सम्बन्धमा प्रशिक्षण गर्न सहयोग गर्छु भनें । ठाउँ खोज्दिए । जुन दिन प्रशिक्षण गर्ने दिन थियो । उता उनले त पार्टीपो खोलेछन् । थुप्रै हामी जस्ताले सहयोग गर्दै निर्वाचनको वातावरण बनाउन सहयोग गर्न खोज्यौं । जेनजीहरू मन्त्रीको दौडमा लागे । उनीहरूमा छ्लफल गर्ने र योजना बनाउने धैर्यता देखिएन । मैले यो बाटो देखाउने प्रयास त गरें । तर, मैले नै दनक खानुपर्ने हुन सक्छ ।

२. सुदन समूह भन्दै अर्को समूह आयो । लामो कुरा भयो । राजनीति गर्ने इच्छा थियो । धेरै कुरा भयो । आउनुहोस् हामी बाटो देखाउने प्रयास गर्छौं भने । तर, आएनन् ।

३. प्रवेश दाहालको समूह आयो । त्यही भयो । उनीहरूले ठाने नेता हुनु त जादुगरी जस्तै हो । उनीहरूको दिमागमा सिंहदरबारका कुर्सीको भोक लाग्यो ।

४. आज थुप्रै नेताहरू विवादास्पद छन् । समाजले उनीहरूलाई मर्नेगरि आलोचना गरेको छ । तर, उनीहरू नेता हुन् धेरै मेहनत र संघर्ष गरेका छन् । यो कुरा जेनजीले उनीहरूबाटै सिक्नुपर्ने थियो । आज जेनजी सरकारमाथि खनिएका छन् । देशमा दृश्य अदृश्य शक्ति खेलीरहेका छन् । उनीहरूलाई यसको मतलव छैन । उनीहरूका समूह फुटेका छन् । उनीहरू राजनीति दल जस्तै भएका छन् । उनीहरूको मिल्ने र फुट्नेको सीमा छैन । उनीहरू हामीसँग भेट्दा भन्छन्, ‘फलानाका मान्छे तान्दै छौं । हिजो उनीहरू प्रयोग भए । जसको उद्देश्य पूरा हुनु थियो त्यो भयो । अब जेनजी उनीहरूको सरोकार होइनन् । किन त्यस्तो भयो वा समस्या के रह्यो ?

५. जेनजीहरूमा देश होइन आफ्नो स्वार्थले महत्व पायो । उनीहरूमा अप्राप्य महत्वकांक्षा जाग्यो । पार्टी बनाउन लागे । प्रधानमन्त्री राख्ने र निकाल्ने धुनमा लागे ।

६. उनीहरू बिचारको छलफलमा लागेनन् । उनीहरू पुरानो सबै कुरा भत्काउने चाहनाले ग्रस्त भए । उनीहरू सिर्जनात्मक हुन सकेनन् ।

७. उनीहरूले विज्ञहरूलाई झारपात सम्झिए । कुरा गर्न आउँदा सुन्न होइन ब्यख्यान दिन आउँथें । युवामा जोश हुन्छ र हुनुपर्छ । तर, जोशसंङ्गै होस पनि हुनुपर्छ ।

८. उनीहरूलाई आफ्ना गुनासा के हुन थाह थियो । तर, समग्र जनता उनीहरूको सरोकार विषय थाह थिएनन् ।

मेरो सल्लाह छ जसरी लड्दै हुनुहुन्छ यो लडाइँले तपाईहरूको हार निश्चित छ । लडाइँ बिचार र तर्कमा आधारित हुनुपर्छ । लडाइँ देशको समृद्धिप्रति समर्पित हुनुपर्छ । हामीले आदत बदल्नुपर्छ । हामी हाम्रो भविष्य बनाउन सक्तैनौं । हामी हाम्रो आदत मात्र बनाउन सक्छौ र यहि आदतले हाम्रो भविस्य बनाउँछ । बिचार गर्नु होस् र हुलदंगाबाट टाढा कसरी देश बनाउने हो भन्ने कुरा सोँच्न थाल्नुहोस् ।

Published : Thursday, 2025 November 27, 12:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया