विश्वप्रकाशलाई केन्द्रीय सदस्य गुरुङको पत्र

कल्याण गुरुङ, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

प्रिय विश्वप्रकाश जी,
जय नेपाल !

तपाईको फेसबुकमा तपाईले हिजो राख्नु भएको सानो क्लीप हेरे र स्टाटस पनि पढे । आशा, सम्मान र स्नेहको साथ बिना पूर्वाग्रह केही शब्दहरू तपाईसँग अनुमति नलिइकन लेख्दैछु ।

तपाईलाई र तपाईले उठान गर्नु भएको विषयलाई अहिलेको समयमा लेख्न योग्य ठानेर मात्रै लेख्दैछु । यसलाई मेरो धारणा ठान्नु होला, जवाफ नठान्नु होला । शायद मेरो जीवनमा पहिलो पटक होला, कसैको फेसबुक स्ट्याटसको बारेमा मैले यसरी लेखेको ।

दीगो परिवर्तनको लागि व्यक्ति केन्द्रित होइन, असल शासकीय प्रणाली र नीतिगत स्पष्टता आवश्यक हुन्छ भन्ने विषय महत्वपूर्ण लागेर लेख्दैछु । के म यो विश्वास गर्न सक्छु कि तपाई आफैले लेख्नु भएको यो स्टाटसप्रति तपाईले र तपाईले आजको दिनसम्म अत्यन्त धेरै विश्वास गरेका मानिसहरूले जीवनभर ईमानदार भएर यसको पालन गर्नु हुनेछ र यसप्रति अटुट न्याय गर्नु हुनेछ ?

भोलि को को ? के के ? हुन्छन् भन्न र लेख्न सकिन्न, त्यसैले आजको दिनसम्म भनेर मात्रै लेखे । अन्यथा नठान्नु होला । यसको पुष्टि हतारमा अहिले नै नगर्नु होला । तपाईको र तपाईले विश्वास गर्नु भएको साथीहरूको भविष्यको आचरण र व्यवहारले संयमित भएर आफै यसको पारदर्शीरुपमा पुष्टि गर्नेछ ।

कसैले पनि लेखेको र बोलेको कुरामा मनभित्र ईख र व्यवहारमा विष नराख्नु होला । बोली र व्यवहारमा एकरुपता नभएमा कसैले पनि विश्वास गर्दैन । अहिलेको ज्वलन्त समस्या भनेको मानिसको बोली र व्यवहारमा एकरुपता नहुनु पनि हो, जसले आम मानिसमा घोर निराशा जन्मायो ।

आम मानिसले भ्रष्टाचारमा शून्य सहनशीलता चाहेका छन् । भ्रष्टाचारविरुद्ध कडा कानूनहरूको निर्माण वा भएको कानूनहरूबाट नै भ्रष्टाचारको कडाईका साथ रोकथाम र भष्टाचारीहरूलाई कानून अनुसारको दण्ड चाहेका छन् । देशमा दण्डहीनताको अवस्था रहनु हुँदैन । मैले कसैको पनि क्षुद्रता, क्षुब्धता र कुण्ठाको जवाफ दिने वा जवाफ लेख्ने गरेको छैन ।

मेरो पहिलेदेखिको विश्वास पनि हो – असल शासकीय प्रणाली र नीतिगत सुधारप्रति । शासकीय प्रणाली, संविधान, कानून, भ्रष्टाचारमा शून्य सहनशीलता, समावेशिता र नीतिगत सुधारहरू महत्वपूर्ण हुन्छन् ।

असल प्रणालीले पपुलिज्मलाई विश्वास गर्दैन । यसले व्यक्तिको भक्ति, गुणगान, बखान र आरतीलाई पनि विश्वास गर्दैन । व्यक्ति स्वयंले आफ्नो बारेमा गरेको प्रचार तथा साईबर सेना लगाएर आफ्नो गुणगानमा गराएको प्रचार र अरुको बारेमा खेदो खनेर गराएको दुष्प्रचारलाई पनि प्रणालीले विश्वास गर्दैन । प्रणालीले यस्तो भष्मासुर प्रवृतिलाई गलत ठान्छ । प्रणालीले पपुलिज्मको भ्रष्ट स्वरुपलाई स्वीकार गर्दैन । प्रणालीले दास, अवसरवादी, चाकडीबाज, कुरौटे र धोखेबाजहरूलाई पनि विश्वास गर्दैन ।

प्रणालीले पीत पत्रकारितालाई स्वीकार गर्दैन र विश्वास पनि गर्दैन । प्रणालीले कर छल्ने व्यापारीलाई विश्वास गर्दैन । मैले खोजेको पनि प्रणालीमा नै परिवर्तन हो । आचरण र व्यवहारमा नै आमूल परिवर्तन हो ।

सीमित व्यक्ति, समूह, गुट, जाति, वर्ग र समुदायको देशको सबै प्रकारको शासन, सत्ता, सम्पत्ति, संस्था, संगठन र समाजमा भएको एकाधिकारमा नै आमूल परिवर्तन हो ।

राजनीतिक दलहरूमा भएको सीमित समुदायहरू र व्यक्तिहरूको एकाधिकार र लैंगिक असमानतामा परिवर्तन हो । शासन, सत्ता, संवैधानिक निकायहरू र राज्यका संस्था तथा संयन्त्रहरूमा भएको सीमित समुदायहरूको एकाधिकार र लैंगिक असमानतामा आमूल परिवर्तन हो ।

आफूलाई सर्बश्रेष्ठ मान्ने र अरुलाई तुच्छ ठान्ने विवेकहीन प्रवृतिमा परिवर्तन हो । आफू मात्र संगठन हो र आफूले बोलेको मात्रै सहि तथा सत्य हो तथा अरु सबै गलत र झुठो हुन् भन्ठान्ने स्टण्टबाजी चंचल घमण्डवादी प्रचारात्मक मनोवृतिमा परिवर्तन हो । जातीवादी जड मानसिकतामा परिवर्तन हो ।

आफ्नो बोलीको टुंगो नहुने, बचन एउटा र कर्म अर्कै हुने प्रवृति तथा क्षण क्षणमा आफ्नो बचन, विचार र व्यवहारहरूमा परिवर्तन गरिरहने पात्रहरु र प्रवृतिहरूमा परिवर्तन चाहेको हो । आफूसँग जादु छ र आफू नै परिवर्तनको लागि जादुगर हो भन्ने भ्रम दिन सक्छु भन्ने भ्रममा रहेका पात्रहरू र प्रवृतिहरूमा परिवर्तन चाहेको हो ।

मैले खोजेको परिवर्तन शान्तिपूर्ण र अहिंसात्मक माध्यमबाट आमूल परिवर्तन हो । मैले खोजेको परिवर्तन मानवीय संवेदना र मानव अधिकार सहितको विवेकपूर्ण परिवर्तन हो । मैले खोजेको परिवर्तन माया, प्रेम, स्नेह, भातृत्व, सदभाव र संहिष्णुताको परिवर्तन हो, घृणा र ईष्र्याको परिवर्तन होइन ।

क्रमागत विकासको (ईभोल्युशनरी) परिवर्तन हो । राज्य, शासन, संगठन र समाजमा समावेशी हुनु पर्छ भन्ने परिवर्तन हो । नेपालमा र बिदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा मलाई कुनै दुःख वा संकट वा अभाव आई लाग्यो भने मलाई मेरो देश र राज्यले हेरचाह गर्नेछ भन्ने व्यवहारिक विश्वास र अनुभूति दिलाउनु पर्ने आमूल परिवर्तन हो ।

केवल बहुदलीय संसदीय शासन प्रणाली मात्रै बहुलवादमा आधारित बहुदलिय शासन प्रणाली होइन् । बहुलवादमा आधारित बहुदलीय शासन प्रणालीका धेरै मोडलहरू छन् । जस्तै – संवैधानिक राष्ट्र प्रमुख र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री मोडल, प्रत्यक्ष निर्वाचित राष्ट्रपति मोडल, संसदीय प्रणाली मोडल, स्वीजरल्याण्डको फेडरल काउन्सिल मोडल र अन्य शासकीय मोडलहरू । यसैले केवल बहुदलीय संसदीय शासन प्रणालीमा मात्रै अल्झिनुको सट्टा अन्य शासकीय प्रणालीहरूको विषयमा पनि बहस र छलफल गरौं । शान्तीपूर्ण र अहिंसात्मकबाट आम नेपालीहरूबीच संवाद र सहमतिबाट संवैधानिक बाटोबाट नै शासकीय प्रणालीमा आवश्यक परिवर्तन गर्न सकिन्छ ।

दक्षिण एशियामा भारत बाहेकका देशहरूमा संसदीय प्रणालीले किन राम्रोसंग काम गर्न सकेन । दक्षिण एशियासंगै जोडिएको म्यानम्यार (बर्मा)मा पनि संसदीय व्यवस्थाले किन राम्रोसंग काम गर्न सकेन । शान्त मनले यसको विवेचना गर्ने कि नगर्ने ? कुनै पनि शासन प्रणालीको पहिलो आधारभूत तत्व भनेको नै त्यसले जनताको विश्वास हांसिल गरेको र जनताको विश्वास कायम नै राखिराखेको हुनु पर्छ ।

मैले खोजेको नेपालको शासकीय प्रणालीमा पनि परिवर्तन हो । बहुदलीय संसदीय प्रणालीमा पनि परिवर्तन हो ।

मैले खोजेको शासकीय प्रणालीमा परिवर्तन बहुलवादमा आधारित बहुदलीय व्यवस्थामा परिधि भित्र रहेको संवैधानिक राष्ट्र प्रमुख, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, मिश्रित निर्वाचन पद्धतिबाट निर्वाचित संसद, संसद सदस्यले मन्त्री हुन नपाउने र संसद बाहिरबाट मन्त्रीहरूको नियुक्ति, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, (राष्ट्रपति, प्रधानमन्त्री, संसद, मुख्यमन्त्री, प्रदेशको संसद र स्थानीय तहहरूको पदावधि अधिकतम चार वर्ष मात्र रहने संवैधानिक व्यवस्था), संसदलाई उसको कार्यकालभरि कसैले पनि विघटन गर्न नपाउने, संसदको काम देशको लागि आवश्यक कानून निर्माण गर्ने, सबल संवैधानिक निकायहरू र अब्बल राज्यका संस्थाहरू भएको समावेशी लोकतन्त्रात्मक शासन प्रणाली हो ।

यसले व्यवस्थापिका, कार्यपालीका र न्यायपालिकाबीच शक्ति सन्तुलन र शक्ति पृथकीकरणको सिद्धान्तलाई वास्तविकरुपमा अंगीकार गर्नुपर्छ । व्यवस्थापिकालाई कार्यपालिका चयनको संवैधानिक प्रक्रियाबाट अलग राख्नु पर्छ अर्थात् संसदलाई प्रधानमन्त्री चयनको प्रक्रियाबाट अलग राख्नु पर्छ । संसदले मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्छ । प्रधानमन्त्रीलाई जनताले मतदान गरेर प्रत्यक्ष चुनाव गर्ने र जन निर्वाचित संसदले कानून निर्माण गर्ने बहुलदलीय शासन प्रणालीको विषयमा पनि बहस गरौं ।

देशमा रहेको यथास्थिति र जडसूत्रवादी मनस्थितिमा परिवर्तन हो । देशलाई सबै क्षेत्र र संस्थाहरूमा सुशासन चाहिएको छ । रोजगारी र आर्थिक समृद्धि चाहिएको छ । स्वास्थ्य, शिक्षा, रोजगार र न्यायमा समान र न्यायोचित व्यवहारिक पहुंच चाहिएको छ ।

नेपालको संविधानमा लेखिएको धारा १६ देखि धारा ४६ सम्मको अधिकारको कानून निर्माण गरेर व्यवहारिकरुपमा ति अधिकारहरूको उपभोग गर्ने कानून, निर्देशिका र कार्यविधि चाहिएको छ ।

नेपालको संविधानको अनुसूचि ५ देखि अनुसूचि ९ सम्मको अधिकारहरूको कानून निर्माण गरेर व्यवहारिकरुपमा ती अधिकारहरूको उपभोग गर्ने कानून, निर्देशिका र कार्यविधि चाहिएको छ ।

नेपालको संविधानमा लेखिएको प्रत्येक मौलिक हक तथा अधिकारहरू सहित अन्य लेखिएका सम्पूर्ण हक तथा अधिकारहरू केवल कागज र दस्तावेजहरूमा मात्र सीमित नहोस् र यी हक तथा अधिकारहरूको तत्काल कानून निर्माण गरि निर्देशिका बनाएर आम नेपालीले उपभोग गर्ने व्यवस्था तुरुन्त होस् भन्ने चाहेको हो ।

न्याय दिने स्थानमा बसेकाले कसैलाई अन्याय गर्ने वा कसैमाथि भएको निरन्तर भइरहेको अन्यायलाई टुलटुलु हेरेर बस्ने छुट पनि हुँदैन ।

स्पन्दनरहित एकाधिकारले आक्रोश जन्माउछ तर, मनभित्र आक्रोशको ज्वाला दन्कियो भनेर विवेकहीन र अराजक हुने छुट कसैलाई पनि छैन र हुँदैन पनि । भावनामा बगेर र वेदनालाई लेखेर मात्रै परिवर्तन हुँदैन ।

परिवर्तनले पपुलिज्म खोज्दैन । यसले कठोर विवेकपूर्ण अनुशासन खोज्छ, क्षणिक लोकप्रिय विवेकहीन अराजकता खोज्दैन । परिवर्तनले असल बलियो प्रणाली खोज्छ र प्रणालीप्रति ईमानदार र कर्तव्यनिष्ट अग्रसरता लिने संस्थाहरू खोज्छ । परिवर्तनले गफाडी व्यक्ति खोज्दैन, यसले बलियो न्यायोचित पद्धति खोज्छ ।

परिवर्तनले सामाजिक सद्भाव र धार्मिक संहिष्णुता खोज्छ । आमूल परिवर्तनले समावेशिता खोज्छ, एकल जातीय एकाधिकारवाद खोज्दैन । परिवर्तनले विविधता र विविधता बीचको एकतालाई सहज स्वीकार गर्दछ ।

यसले प्रणालीभित्रका सबै संस्थाहरू र समाजमा सबै प्रकारका एकाधिकारवादको सहजै सदैव संयमित सुगम अन्त्य खोज्छ । परिवर्तनले अधिक भ्रष्टाचार, चरम जातिवाद, अतिशय सामन्तवाद, पश्चवर्ती जडसुत्रवाद, परम्म्परागत पितृसत्ता र अतिवादी दोहोरो चरित्रको न्यायोचित विवेकपूर्ण व्यवहारिक अन्त्य खोज्छ ।

गुलियो भावुक वा उत्तेजक जोशिलो भाषण खोज्दैन । परिवर्तनले नत पपुलिज्ममा भावनात्मक विश्वास गर्नेहरुको भीड र साथ नै खोज्छ । नत पपुलिज्मलाई साथ नै दिन्छ ।

पपुलिज्मले समाजलाई भावुक, उत्तेजित र अराजक बनाउन त सजिलै सक्छ तर, समाजको समस्याहरूको दीर्घकालीन ठोस समाधान दिन सक्दैन ।

चनाखो भएर ख्याल राखौं कि पपुलिज्मको केही स्वरुपहरू निरंकुशताको पहिलो पाईला पनि हुन सक्छन् । यसको गन्तव्य अन्त्यहिन र अकल्पनीय कालरात्री पनि हुन सक्छ ।

परिवर्तनले पपुलिज्मसंगको संयमित सतर्कता र अपार दुरी पनि खोज्छ । असल परिवर्तन र पपुलिज्मका केही रुपहरू नदीका दुई किनारा जस्ता हुन्छन् । असल परिवर्तनले पपुलिज्मका केही रुपहरूलाई कहिल्यै पनि विश्वास गर्दैन र स्वीकार पनि गर्दैन ।

असल परिवर्तनले अहंकारवाद, अहंवाद, ठालुवाद र म मात्रै सत्य हुँ भन्ने घमण्डवादलाई विश्वास गर्दैन । यसले आत्म संयमता, आत्म समीक्षा र आत्म परीक्षणको अग्नी परीक्षा लिन्छ ।

समाज हामी सबैको पवित्र भावना र पहिचानहरूको सामूहिक घर हो । समाज केवल प्यारो सपना र गुलाबी मायाहरूको संसार मात्र होईन, कठोर निर्णय र संकल्पहरूको भूमण्डल पनि हो । समाज मिलेर नै देश र राष्ट्र बन्छ ।

के तपाई मेरो धारणाहरूसंग सहमत हुनुहुन्छ ? तपाई मेरो धारणासंग निसंकोच र निर्भय असहमत पनि हुन सक्नु हुन्छ । म तपाईको असहमति हुने र असहमति राख्ने अधिकारको रक्षाको लागि जिवनभरि लडिरहनेछु । यही त लोकतन्त्र हो ।
परिवर्तन केवल किताब वा दस्तावेजहरूमा लेखिएको शब्दहरूबाट आउँदैन । यो त समाजको जिउँदो पहिचान र अन्तरआत्माबाट आउँछ । समाजको जीवित पहिचानलाई अलग गरेर बनेको शासकीय प्रणाली दीर्घकालीन हुन सक्दैन । यसले समाजलाई समेटन पनि सक्दैन ।

मैले खोजेको परिवर्तन पनि व्यक्तिको परिवर्तन होइन, प्रणालीमा परिवर्तन नै हो । प्रणालीमा पनि झिनामसिना परिवर्तन होइन, आमूल परिवर्तन खोजेको हो । यो म एक्लैको प्रयासले संभव छैन । हामी सबैको अटुट साथ, सहयोग तथा शान्तिपूर्ण र अहिंसात्मक निरन्तरको प्रयास र संघर्षले मात्रै असल प्रणालीको दीर्घकालीन यात्रा संभव हुन सक्छ र आमूल परिवर्तन संभव छ ।

आमूल परिवर्तन संभव छ र यो गर्न सकिन्छ । अहिंसा, शान्ति, संयम, शिक्षा, सामाजिक सुरक्षा, सामाजिक न्याय र औधोगीकरणको बाटोबाट । राजनीतिक, आर्थिक, शैक्षिक र सामाजिक क्षेत्रको प्रणालीमा वैज्ञानिक र व्यवहारिक परिवर्तन गरेर दीर्घकालीन आमूल परिवर्तन संभव छ । यसर्थ, व्यक्तिमा भन्दा बढी प्रणालीमा विश्वास गर्ने मनोविज्ञान निर्माण गरौँ । व्यक्तिमा भन्दा बढी प्रणालीमा सुधार र परिवर्तन गरेर नै आमूल परिवर्तन गर्न सकिन्छ भन्ने आत्मविश्वास र मानसिक स्पष्टताको विकास गरौँ ।
विवेक गुमाएको व्यक्ति र जनताको विश्वास गुमाएको शासकीय प्रणाली उस्तै उस्तै हुन् । दुबैले नैतिक आधार र अधिकार गुमाई सकेका हुन्छन् । नैतिक आधार र अधिकार दुबै गुमाई सकेको व्यक्ति वा शासकीय प्रणालीले केवल वैधानिक आधारको भरमा आफूलाई निरन्तरता दिनु उचित हुन्छ र ?

आऔं, बहुलवादमा आधारित बहुदलिय प्रणाली, विधिको शासन र मानव अधिकारलाई आत्मसात गर्दै हामी सबै मिलेर शान्तिपूर्ण र अहिंसात्मकरुपले दीर्घकालीन आमूल परिवर्तन र असल शासकीय प्रणालीको लागि बहस, छलफल र संवाद गरौँ ।

Published : Sunday, 2025 November 9, 10:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया