नभन्नु होला, देउवाको घर तोडफोड गर्न कांग्रेसकै एक जना जिम्मेवार नेताले एक हुल पठाएका छन्
प्रकाश तिमल्सिना
७ सेप्टेम्बरको अनामनगरको एउटा घर, जहाँ थिए, जस्मिन ओझा, गौरव पाण्डे र दिवस भण्डारी उनीहरूले ८ सेप्टेम्बरमा जेन–जी प्रोटेस्ट´ गर्ने निर्णय गरे तर अब समस्या आइलाग्यो किप्रोटेस्ट´को नेतृत्व कसले गर्ने ?
सरकारले टिकटकबाहेक सबैजसो सामाजिक सञ्जाल बन्द गरेको अवस्थामा यो आन्दोलन गर्दा म्यासेज राम्रो जान्छ भन्ने निष्कर्षका साथ यो आन्दोलनले व्यापक चर्चा पाउने आकलन पनि गरेका थिए, त्यसअघि पनि तीन/चार दिनदेखि सो आन्दोलनका बारेमा सामान्य छलफल भएको थियो, नभएको चाहिँ होइन ।
तर, महिलाहरूको हकहितका लागि १३ वर्षको उमेरदेखि नै आन्दोलन गरे पनि ओझाको पृष्ठभूमि एमाले थियो, यद्यपि ओली सरकारविरुद्ध सात दिन अनशन पनि बसेकी थिइन्, उसले लिड गर्दा एमालेको आरोप लाग्ने भयो, उनले नेतृत्व नलिने भइन् ।
गौरव पाण्डे त्रिचन्द्र क्याम्पसमा विद्रोही भएर स्ववियु सचिव लडिसकेको तर पृष्ठभूमि कांग्रेस थियो, उनले नेतृत्व गरे कांग्रेसको ट्याग लाग्ने भयो ।
त्यसपछि दिवस भण्डारी आफैँमा पत्रकार, त्यस दिन पनि उनले पत्रकारको हैसियतमा माइतीघरमा धर्ना दिएर फर्केका थिए । पत्रकारले नै `जेन–जी प्रोटेस्ट´ गरे, राम्रो म्यासेज नजाने भएपछि तीनै जना रोकिए ।
अनि खोजियो नयाँ मान्छे । त्यसपछि दिवसले मिराज ढुंगानालाई अगाडि सार्ने कुरा गरे, मिराजलाई सम्पर्क गरियो, उनी पनि कन्भिन्स भए । त्यसपछि मिराजको मुखबाट आन्दोलन आह्वान गर्न लगाउने सहमति भयो । उसो भए कसरी गर्ने त ? फेरि समस्या भयो ।
निष्कर्ष निस्कियो– पत्रकार भएकाले दिवसले अन्तर्वार्ता लिने र मिराजले बोल्ने । के–के सोध्ने र के–के बोल्ने ? त्यहीँ छलफल भयो र मिराजलाई सबै कुरा सिकाइयो । त्यसपछि पठाइयो स्टुडियोमा ।
अन्तर्वार्ता रेकर्ड भयो, त्यसपछि एकछिनमा इडिट गरेर दिवसकै `बुलन्द सञ्चार´ नामक युट्युब च्यानलमा हालियो तर नसोचेको कुरा, त्यसको क्लिप एक घन्टामा मुख्य गरी हजारौँ टिकटकमा भाइरल भइदियो ।
यो भाइरल भएको कुरा उनीहरू स्वयम्ले पनि थाहा पाएनन् तर यो आन्दोलनमा दुर्गा प्रसाईं समूहको घुसपैठ हुन सक्ने भन्नेमा उनीहरू सचेत थिए । त्यसपछि प्रसाईंलाई `कम्तीमा तपाईंहरू हाम्रो आन्दोलनमा नआउनू है´ भन्नका लागि मिराजलाई प्रसाईंकोमा पठाइयो र प्रसाईंलाई भेट्न आउनका लागि आग्रह मिराजले गरेर फर्के ।
तर, प्रसाईंले मिराजसँग फोटो राखेर स्टाटस लेखिदिएपछि अब के चाहियो र ? एकैपटक देशदेखि विदेशसम्म भाइरल भयो, यसमा थप मिसियो- इनफ इज इनफ´ । जब प्रसाईं रइनफ इज इनफ´ले ऐक्यबद्धता जनाए, मलाईचाहिँ लागिसकेको थियो, यो अब डरलाग्दो हुनेछ ।
यसपछि मैले नेपाल प्रहरीका एक पूर्वआईजीपीलाई भनेँ, ‘यो आन्दोलन नियन्त्रणभन्दा बाहिर जाने देखियो, हजुरले भनिदिनुपर्ला, प्रहरी नेतृत्वलाई ।’
बालुवाटार र गृहमन्त्रीनिकटकालाई पनि भनेँ, `यो आन्दोलन नियन्त्रणबाहिर जान्छ, दलको आन्दोलन १ लाख भए पनि नियन्त्रण गर्न सकिन्छ । किनकि यो चेन अफ कमान्डमा हुन्छ तर भोलिको आन्दोलनमा ५ हजार मात्रै भए पनि अराजक हुन सक्छ, अलि होसियार हुनुपर्छ ।´
मैले थप पनि भनेको थिएँ, ‘प्रकाश सपुत र निश्चल बस्नेतजस्ता सेलेब्रिटी मात्रै `कन्टेन्ट क्रियटर´ले पनि भोलिको आन्दोलनमा सहभागिताका लागि आह्वान गरेपछि यसले ठूलै रूप लिन सक्छ । किनभने सरकारले सामाजिक सञ्जाल बन्द गरेको छ । त्यसपछि बालेन शाहले नै आह्वान गरेपछि त ८ सेप्टेम्बर थामिनसक्नु नै हुन्छ भन्ने लाग्यो ।’
त्यसपछि बालुवाटार र गृहमन्त्रीको निकटकाले नजरअन्दाज´ गरेपछि ७ सेप्टेम्बर साँझ मैले फेसबुकमा लेखेँ, `जेन–जी मुद्दा ठीक छ तर नेतृत्वप्रति सचेत रहौँ ।’
ओझा-पाण्डे-दिवस-मिराजको टिमले यति धेरै मान्छे आउँछन् भन्ने कल्पना नै गरेका थिएनन् । आन्दोलनका लागि मिराजबाहेक उनीहरू प्लेकार्ड बनाउन लागे तर ८ सेप्टेम्बरमा जब उनीहरू बिहान १०ः०० बजे पुगे, त्यो भिड देखेर उनीहरू अचम्मित भए ।
प्ले कार्ड लिएर उनीहरू माइतीघर पुग्दा त ‘हामी नेपाली’को टोली गाडी र माइक लिएर जम्मा भइसकेको रहेछ । बालेनको खास मान्छे केपी खनाल गाडीमाथि बसेर कराइरहेका थिए । जसको माइक छ, स्वर त उसैको ठूलो हुने नै भयो, जो आयोजक हुन्, उनीहरू भने त्यो भिडमा हराए । यद्यपि, उमेर समूहको कुरा हो भनेर मिराजबाहेक उनीहरू सबै आन्दोलनमा सहभागी भए ।
एभरेस्ट होटलसम्म शान्तिपूर्ण रूपमा नै आन्दोलन भइरहेको थियो, जब आन्दोलनको बीचमा `बाइकर´हरूको समूह प्रवेश गर्यो, हर्न बजाएर होहल्ला गर्न थाल्यो, त्यही समूहका कारण भिडको मनोविज्ञान अचानक उत्तेजित हुन पुग्यो । अन्तत: प्रहरीको ब्यारिकेड तोडियो । त्यसपछि के–के भयो, सबैलाई थाहा छ ।
केही समयपछि एक जना भाइले फोन गरेर भन्यो, `दाजु, हामी संसद भवनतर्फ फर्केर नाराबाजी गरिरहेका थियौँ, मसँगै रहेको एक जनालाई सुमार्गीको निवासतिरबाट हानिएको गोलीले ढल्यो, यहाँ घुसपैठ भएको जस्तो लाग्यो ।´ त्यतिखेर कर्फ्यु लागिसकेको छ ।
म एक जना साथी लिएर गएँ, आइप्लेक्स मल, नयाँ बानेश्वरमा मेरो आँखैअगाडि त्यो भिडले एम्बुलेन्स फुटायो । मैले भिडियो खिचेर हालेँ पनि । साँझसम्म १९ जना मरेको रिपोर्ट आइसकेको थियो । अब त भोलि के हुन्छ भन्ने सामान्य मान्छेले आकलन गर्न सक्छ, यो बुझ्न कुनै तालिम र पीएचडी गर्नै पर्दैन ।
त्यसपछि प्रधानमन्त्री, गृहमन्त्री र प्रहरीका उच्च अधिकृतनजिकका सँग बिहान ८ बजे दुईवटा कुरा भनेँ, `संसद भवनको अपोजिटबाट गोली हानिएको छ, बाइकर समूह आएपछि ब्यारिकेड तोडिएको छ, सुरक्षा चुनौती झन् खतरा छ, ९ बजेसम्म शान्त भयो, नभन्नु होला, देउवाको घर तोडफोड गर्न कांग्रेसकै एक जना जिम्मेवार नेताले एक हुल पठाएका छन्, होसियार हुनुहोस है !´
तिनै नेतानिकटले मलाई भने, `अब आन्दोलन हुन्न, स्थिति नियन्त्रणमा नै छ, हुने भएको भए त बिहानदेखि नै हुन्थ्यो नि, कति चिन्ता लिनुभएको क्या प्रकाशजी ।´
मैले बाबुराम भट्टराईको कार्याकालमा भएको एक घटना सुनाएँ, जुन सूचनाका कारण देशको ठूलो बदनामी हुनबाट जोगिएको थियो । भट्टराई र विश्वदीप पाण्डे जिउँदै छन्, उनीहरू दुवैलाई थाहा छ । यो कुनै दिन म आफैँ लेखूँला ।
९ सेप्टेम्बरमा के–के भयो ? सबै जानकार हुनुहुन्छ । तर, जब जंगी अड्डा र राष्ट्रपतिनिवासमा जेन–जीको प्रतिनिधि बनेर सुदन गुरुङ गए, म छाँगाबाट खसेजस्तो भएँ । त्यसपछि यो आन्दोलनको आफ्नाकर्ता समूहसँग सम्पर्क गरेँ र सोधेँ, कसरी यो सुदन गुरुङ आन्दोलनको नेतृत्वकर्ता भयो ?' हामी पनि छक्क परेका छौँ, रवि लामिछाने र दुर्गा प्रसाईंलाई कसरी प्रधानसेनापतिले `स्टेक होल्डर´ भन्दै बोलाए ? केही अपडेट छ तिमीहरूसँग ?´
`हामी त सरप्राइज भयौँ, प्रधानसेनापतिले हामीलाई पनि जंगी अड्डा बोलाएको थियो तर हामी गएनौँ, हामीले प्रस्ट रूपमा जंगी अड्डालाई भनिदियौँ– सेनाको काम सुरक्षा दिने हो, जब संसद भवन र सिंहदरबारलगायत जल्दा सुरक्षा दिन सक्नु हुन्न भने हामी जंंगी अड्डासँग वार्ता गर्दैनौँ । हामी वार्ता राष्ट्रपतिको रोहवरमा गर्छौं । तपाईंहरूको काम सुरक्षा दिने हो, त्यसैमा सीमित हुनुहोस् ।´
यो समूह जंगी अड्डा जाँदै गएन ।
जब प्रधानसेनापतिले राजनीतिक गतिविधि गर्न थाले र आफ्नै परमाधिपति राष्ट्रपतिको निवास जलाउन दिने तर पूर्वराजा ज्ञानेन्द्र शाहले माग्दै नमागे पनि बख्तरबन्दसहित ४ दर्जन सेना निर्मलनिवास पठाएको थाहा पाएँ । त्यसपछि मैले प्रधानसेनापतिको भूमिकाका बारेमा सामाजिक सञ्जालमा लेखेपछि बहस सुरु भयो, त्यो लेख्दा दुर्गा प्रसाईं जंगी अड्डामा थिए ।
प्रधानसेनापतिले वार्ता गर्न आह्वान गरेपछि जेन–जी समूहले पहिलो प्रेसमिट २६ असोजको बिहानै रिपोर्टर्स क्लबमा गर्यो र भन्यो– ‘हामी संविधानको पक्षमा छौँ, हामी वार्ता राष्ट्रपतिसँग गर्छौं, जंगी अड्डामा बन्दुकको नाल तेर्स्याएर प्रधानसेनापतिसँग वार्ता गर्दैनौँ ।’ यसरी बोल्ने गौरव थिए ।
त्यो पत्रकार सम्मेलनमा दिवस पनि थिए, तर जस्मिन जाँदै गर्दा दिवस यहाँ लफडा पर्यो, तिमी नआऊ, हामी हाम्रो स्टुडियोमै बहस चलाऊँ भनेपछि जस्मिन पुतलीसडकबाटै फर्केर दिवसको स्टुडियोमा गइन् । त्यो पत्रकार सम्मेलनमा हुलदंगा गर्ने समूह कुलमान र हर्क साम्पाङका मान्छे थिए ।
अनि `ओर्जिनल जेन–जी समूह’ले #SaveConstitution #relesepresident भनेर सामाजिक सञ्जालमा ह्यासट्याग चलाउन थाल्यो । माइतीघर आएर संविधान जोगाउनका लागि प्रदर्शन गर्न आउन खोज्दा सेनाले घरबाट निस्कन दिएन, बाटैमा जस्मिनलाई रोक्यो ।
मैले सामाजिक सञ्जालमा पनि लेखेँ, ‘सुदन गुरुङ नक्कली जेन–जी हो । यसले यो आन्दोलन हाइज्याक गर्यो ।’ त्योअघि नै राष्ट्रपतिको सचिवालयमा रहेका मेरा साथीहरू र अग्रजहरूलाई भनिदिएँ पनि, यो सुदन गुरुङहाइज्याकर´ हो, यसको कुरा सुन्न जरुरी छैन, यसले डुबाउँछ ।´
किनभने, असली जेन–जी आन्दोलनका आफ्नाकर्ता आन्दोलनकारी त म चिन्थेँ, म नियमित सम्पर्कमा थिएँ ।
अब सुरु भयो- मिराजले यो समूहलाई दिएको धोकाको कथा । उसले फोन अफ गरेर बसिदियो । यी तीनै जनासँग सम्पर्कमा आएन, म्यासेन्जरदेखि ह्वाट्सएपमा म्यासेज गर्दा पनि सिन गर्ने तर जवाफ नफर्काई बस्यो ।
सुशीला कार्की प्रधानमन्त्री, कुलमान र ओमप्रकाश अर्याल मन्त्रीमा नियुक्ति भएपछि यसले बल्ल जवाफ फर्कायो, ‘मलाई धेरै धम्की आएपछि मैले मोबाइल अफ गरेको हुँ । अब म मेरो बिजनेस (प्लान्ट) गरेर बस्छु, मलाई राजनीति गर्नु छैन, तपाईंहरू नै गर्नुहोस् । मलाई घरमा पनि गाली गरिरा`छन् ।’
जब मैले उसको पछिल्लो यो कुरा थाहा पाएँ, अबचाहिँ लेखिदिनुपर्छ भनेर उसका बारेमा तस्वीरसहित लामो स्टाटस लेखिदिएँ । त्यसको ५/६ दिनपछि एकैपटक राजेन्द्र बानियाँको ‘टक शो’मा देखियो । त्यहाँसम्म इमानदार कुरा गर्यो ।
यो किन सम्पर्कमा आएन भन्दा उनीहरूले भने, ‘दाइ, यो यति डरपोक र धोकेवाज हुन्छ भन्ने लागेको भए, यसको सट्टा हामी नै बोल्थ्यौँ नि, हेर्नु त हेर्दाहेर्दै ऊ लुकेर बस्दा हाम्रो आन्दोलन सुदनेले `हाइज्याक´ गर्यो, यो त हामी मात्रै होइन, देशप्रति नै गद्दारी भयो ।’
यो बेलासम्म सुदन गुरुङ जेन–जी आन्दोलनको हाइज्याकर हो भन्ने स्टाब्लिस भइसकेको थियो । यसलाई सर्वसाधारणले मात्रै होइन, सुशीला कार्कीले स्वयं पनि सुन्न छाडिसकेकी थिइन् ।
सुदनले आफूमाथि हाइज्याकर´को आरोपबाट बच्न योजनाबद्ध तरिकाले मिराजलाई सम्पर्क गर्न खोजिरहेको छ भन्ने थाहा पाएँ । त्यसपछि यो टिमलाई भनेँ,ठीक छ, धम्क्याएपछि डरायो होला, तिमीहरूले भनेअनुसार मिराज `इन्नोसेन्ट´ केटा रहेछ, तर उसलाई सुदनतिर जान रोक्नु है । उता जान नदिनू, अब दोस्रो गल्ती नगराउनू ।´ तर, मिराज सम्पर्कमा आउँदै आएन, यो टिमसँग ।
अचानक ऊ सुदनको समूहसँग मिडियामा देखियो, म त त्यो दृश्य देखेर छक्कै परेँ । अझ उसले दुई हात उफ्रिएर भनिदियो, `सुदन दाइ र हामी सँगसँगै छौँ । हामी मिलेरै आन्दोलन गरिरहेका छौँ ।´ अरे भाइ, योभन्दा अर्को झुट के हुन सक्छ ?
त्यसपछि मिडिया हाउसहरूले धेरै–धेरै जेन–जी जन्माइदिन थाले । कतिसम्म भने सिंहदरबार जल्दा खुसी मनाउने रक्षा बमको अन्तर्वार्ता लिइदिनुपर्यो भनेर धेरै मिडिया हाउसमा पठाउने काम एउटा समूहले गरिरह्यो । जस–जसले अन्तर्वार्ता लिए, कसकसले सिफारिस गरेका थिए, उनीहरूले कुनै दिन बोल्लान् नै, सार्वजनिक रूपमा नबोले पनि आफ्ना साथीभाइहरूलाई त भन्लान् नै ।
त्यही समूहले सुदन गुरुङलाई मिडियामा स्पेस दिन लगायो, लगाइरा`छ, जबकि यो सब नियोजित थियो । मिराज सुदनसँग देखिएपछि धेरैले भने– यो सुदनको डलरमा बिक्यो । तर म भन्न सक्दिनँ कि त्यस्तो भयो । तर, मिराजको काँधमा बन्दुक राखेर सुदनले गोली चलाउन खोजेको हो, यो १०० प्रतिशत हो, मिराज स्वयम्ले अहिले भनिरहेको छ ।
तर, सुदनको हर्कतका बारेमा केही मिडियालाई त रोक्न सकिन्छ तर उसको हर्कत अरु मिडियाले खोलिसकेका छन् । ऊ पूरै `डिफेन्सिभ´ छ यतिखेर । तर, मिराजलाई जसले उभ्यायो, त्यो समूहको सम्पर्कमा ऊ अझै पनि छैन । धेरै आलोचना भएपछि उसले सुदन गुरुङलाई भने छोडिदिएको छ ।
तर, जसले उसलाई नेता बनायो, त्योभन्दा टाढा भएर केही दिनअघि एक्लै स्वामित्व लिने गरी पत्रकार सम्मेलन गर्यो, त्यो पनि नियोजित नै थियो । यसबारेमा योजस्तै पृष्ठभूमि पछि फेरि लेखूँला ।
उसलाई यतिखेर लागेको छ कि म जेन–जीको असली नेता हुँ । अब सबैले मलाई पत्याउँछन् । सुदन पनि हाइज्याकर´ भनेर नैस्टाब्लिस´ भइसक्यो । जसले मलाई नेता बनाए, उनीहरू एक महिनादेखि मौन छन् । त्यसैले म निष्फ्रिक्री नेता हुँ । तर, उसलाई थाहा छैन कि ऊ कसरी नेता बन्यो, कसरी युट्युबमा अन्तर्वार्ता लिने काम भयो ? सबैसबै जानकार भएको प्रकाश तिमल्सिना पनि छ भनेर ।
मेरो नजरमा खासमा ऊ अवसरवादी हो, आन्दोलनलाई धोका दिएर प्लान्ट´ बेचेर बस्छु भनेरमोबाइल अफ´ गरेर बस्ने व्यापारी हो । तर, अहिले स्पेस खोज्न आएको छ । आफ्नै साथीहरूलाई धोका दिएर मिराज भाइ तिमी नेता हुँदैनौ । चेतना भया !
(शिलापत्रबाट साभार)
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया