कोइराला निवास, चाकसीबारी र बाँडेगाउँ भत्काउन सकिएला, ईतिहाँस भत्किने छैन
जगन्नाथ दुलाल
जेनजी आन्दोलनका नाममा अराजक समूहहरूको घुसपैठको विषय सतहमा आइसकेको छ । भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जालमाथिको निषेध हटाउनुपर्ने मुख्य माग राखेर जेनजीले गरेको आन्दोलनमा राजनीतिक दलहरूबाटै ठूलो समर्थन थियो । जेनजीले माइतीघरमा जुलुस निकाल्दै गर्दा सबैले ‘प्रिय जेनजी’ भन्दै समर्थन गरेको आन्दोलन नयाँ बानेश्वरमा प्रहरीको ब्यारिगेड तोडेपछि भने अप्रिय हुन पुग्यो । जेनजीको आयोजक समूहले घुसपैठ भएको भन्दै आफ्ना साथीहरूलाई फर्कन आग्रह गर्दै विज्ञप्ति जारी गरे । नयाँ सिर्जनशील युवाहरू हिंसा र ध्वंसको पक्षमा शुरूबाटै थिएनन् ।
विडम्बना ससद भवन पसेर आगजनी शुरू भएपछि अवस्था हिंसात्मक बन्यो । शान्तिपर्ण आन्दोलनमा पुगेका विद्यार्थीहरूले अवस्था भाँडिएको पत्तै पाएनन् । उनीहरूको काँधमा बन्दुक राखेर पड्काउन कोही तयार थियो । अझ भनौं पूर्वतयारी थियो । र त, आन्दोलन अगाडि बढ्दा पानी बाँड्न र भीड व्यवस्थित गर्न आएको स्वयंसेवी भनिएको समूहको कब्जामा जेनजी आन्दोलन पुग्यो । आन्दोलन किन गराइयो ? कसले आन्दोलनलाई दिशानिर्देश गरिरहेको थियो ? पछिल्लो २४ घण्टामा आएको हर्क साम्पाङ र दुर्गा प्रसाईंको बयानले थप झस्काएको छ । आशा गरौं, उनीहरूले दाबा गरेको सन्देह गलत होस् ।
आन्दोलन मूलतः भ्रष्टाचारविरुद्ध थियो । तर, रोचक त के छभने प्रधानमन्त्री भएर बालुवाटार छाड्दा सुराही र एउटा ट्यांका लिएर निस्किएका सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रमसमेत बाँकी राखिएन । ०४६ सालको जनआन्दोलनका कमाण्डर, लौहपुरूष गणेशमान सिंहको निवास चाकसीबारी र वीपी कोइराला निवास समेत निशानामा पर्यो ।
चाकसीबारी रैतीबाट नेपालीलाई नागरिक बनाउने आन्दोलनको शंखघोष गरिएको ऐतिहासिक थलो । प्रजातन्त्र स्थापना, ०४६ सालको जनआन्दोलन सफल पार्दै महिलालाई मताधिकार, शिक्षामा हक स्थापित गर्न भूमिका खेलेको स्थल । हरेक प्रतिकूलतामा सतिसाल भएर उभिएको चाकसीबारी लौहपुरूष गणेशमान सिंहको निवाससँगै लोकतन्त्रवादीहरूको आस्थाको केन्द्र थियो । जो जेनजी आन्दोलनका नाममा भएको घुसपैठीयाहरूले आगजनी गरे । विराटनगरको कोइराला निवास, चाकसीबारी र बाँडेगाउँको किसुनजी आश्रममाथिको आगजनी ईतिहास भत्काउने दुष्प्रयास हो । जुन निन्दनीय छ । नयाँ पुस्ताले भविष्यचेत राख्दा इतिहासको गहनतालाई विर्सनु हुँदैन । आफ्नो काँधमा राखेर कसले बन्दुक पड्काइरहेको छ जेनजी पुस्ताले बुझ्नुपर्छ ।
ईतिहाँस नयाँ बन्न सक्छ तर, बनेको इतिहास मेटिँदैन । चाकसीबारी आगजनीले गणेशमान सिंह, कोइराला निवास आगजनीले वीपी कोइराला र बाँडेगाउँ आगजनीले किसुनजीको सुनौलो ईतिहाँस मेटिनेछैन ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया