मन्त्रीलाई २ वटा बाख्रा दाईजो, गौरीसँग १८० तोला सुन, आर्थिक रुपमा कमजोर मन्त्री को ?

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेपछि खैलाबैला भएको छ ।

आइतबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा १ सय ९० तोला गरगहना देखिएको छ । शाहकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं वडा नं. ९ मा ५ आना र धनुषामा १.२ विघा जमीन रहेको सम्पत्ति विवरणमा छ । उनका बुवा रामनारायण शाहको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको छ ।

प्रधानमन्त्री शाहले आफ्नो बैंक खातामा १ करोड ४६ लाख रकम रहेको सम्पत्ति विवरणमा खुलाएका छन् । उनले आफ्नो आयको स्रोत फेसबुक, युट्युब र स्पोटिफाइ रहेको उल्लेख गरेका छन् । शाहले आफ्नो अन्य सम्पत्ति विवरणका रूपमा फेसबुक, युट्युब र एक्समा भएको फलोअर संख्या समेत देखाएका छन् ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको सम्पत्ति विवरण अनुसार ललितपुरको सानेपामा अपार्टमेन्ट छ । १२८४ वर्गमिटरको उक्त अपार्टमेन्ट दुई करोड रूपियाँ बराबरको छ । ललितपुरको भैँसेपाटीमा ४ आना ३ पैसा क्षेत्रमा ५ करोड रूपियाँको अर्को घर छ ।

काभ्रेको धुलिखेलमा पनि वाग्लेको नाममा अपार्टमेन्ट छ । ९ आना क्षेत्रफलमा रहेको उक्त आवासीय अपार्टमेन्टको मूल्य ३ करोड ७५ लाख रूपियाँ देखाइएको छ ।

तनहुँको बन्दीपुरमा ३ आना ३ पैसा क्षेत्रफलमा घर छ । त्यसको मूल्य २ करोड रहेको उनले उल्लेख गरेका छन् । यी घरजग्गा उनले अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास बिक्री, बैंक ऋण तथा व्यक्तिगत सापटीबाट जोडेको उल्लेख गरेका छन् ।

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा जीवनराज वाग्लेको नाममा ३ रोपनी, गोरखाको शहीद लखन गाउँपालिका ८ मा ३ रोपनी जग्गा उनले देखाएका छन् ।

वाग्लेको नाममा गोरखा नगरपालिकामा ५ रोपनी जग्गा छ । जीवनराज वाग्लेको नाममा चितवनको रत्ननगर नगरपालिका ४ र १४ मा ५ रोपनी जग्गा छ । स्वर्णिम वाग्लेकै नाममा तनहुँको भानु नगरपालिकामा ६ रोपनी जग्गा छ । यी जग्गा क्रमश, २० लाख, ५ लाख, ८० लाख र ८ लाख ५० हजार रूपियाँमा खरिद गरेको उनले जनाएको छन् । पिताको रोजगारी र बचत, पैत्रिक सम्पत्ति, अन्तर्राष्ट्रिय रोजगारी, पिताको बचत र अन्तर्राष्ट्रिय रोजगारी, श्रीमतीको आयबाट जोडेको उनले बताएका छन् ।

स्वर्णिम वाग्लेले आफूसँग ४५ तोला सुन रहेको उल्लेख गरेका छन् । यसको स्रोत पनि पारिवारिक तथा रोजगारीबाट जोडेको उल्लेख छ ।

अर्थमन्त्री वाग्लेले हिमालयन, सानिमा, स्ट्यान्डर्ड चार्टड बैंकमा गरी आफूसँग १ करोड ९० लाख मौज्दात रहेको बताएका छन् । आफू र पत्नीको आय एवं सापटीबाट जोडेको उनले उल्लेख गरेका छन् ।

उनीसँग सानिमा मिडल तमोर हाइड्रोको ७१ हजार ९३, सांग्रिला विकास बैंकको २५ हजार ७६२ कित्ता सेयर छ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड, ठूलो खोला, अपर मादी खोलाको गरी ९० लाख, ६० लाख, ३ करोड मूल्यको सेयर रहेको उल्लेख गरेका छन् ।

उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८, स्ट्यान्डर्ड चार्टड बैंकबाट ७५ लाख, ग्लोबल आइएमईबाट १ करोड ५ लाख र व्यक्तिगत सापटीबाट २ करोड ५० लाख रूपियाँ ऋण लिएको उल्लेख गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक र स्ट्यान्डर्ड चार्टड बैंकबाट ३८ र ७५ लाख रूपियाँ भने चुक्ता गरिसकेको उल्लेख गरेका छन् ।

परराष्ट्रमन्त्री शिशिर खनालको काठमाडौंको टोखामा ६ आनामा बनेको घर छ । जग्गा बुवा सूर्यभक्त खनालको नाममा छ । खनालको तनहुँको भानु–७ मा १५ रोपनी, पूर्वी नवलपुरको देवचुली–२ मा १३ रोपनी, नेपालगञ्ज–२ मा ३ कट्ठा जग्गाजमिन छ । यो सबै पैतृक सम्पत्ति भनिएको छ । सबै बुवाको नाममा छ ।

मन्त्री खनालसँग सुन २२ तोला, चाँदी २५ तोला, नगद १० लाख मौज्दात छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा ३ लाख २० हजार ५४७, नबिल बैंकमा २ लाख १ हजार ४०५, राष्ट्रिय वाणिज्य बैंकमा २ लाख ६८ हजार १४१, एनआइसी एसियामा ४ लाख ५१ हजार २९०, ग्लोबल आइएमइमा ४३ हजार ८०३, नबिल बैंककै अर्को खातामा ४ हजार ८८२ रूपियाँ मौज्दात छ ।

उनको नाममा पिक एण्ड ड्रप नेपालको ३३, रिग्पा इन्टरनेसनल प्राइभेट लिमिटेडको १००, ताजा एग्रो फार्मको १६ प्रतिशत सेयर छ । बिडब्लुपी माइक्रो फाइनान्सको २५६०, ओम मेघाश्री फर्माक्युटिकल्सको ५०००, ग्लोबल आइएमइको १०९ र नबिल बैंकको ५० कित्ता कित्ता सेयर छ । यसबाहेक १६ विभिन्न कम्पनीको सेयर छ ।

मन्त्री खनालले विभिन्न मितिमा २० लाख, ५५ लाख, २५ लाख बैंक, व्यक्तिगत माध्यमबाट ऋण लिएर भुक्तानी गर्न बाँकी रहेको बताएका छन् ।

गृहमन्त्री सुधन गुरूङले धनकुटामा १९ रोपनी १५ आना लगानीबाट प्राप्त जग्गा भनेर खुलाएका छन् । बुबा दिलबहादुर गुरूङको नाममा चितवनमा ३० कट्ठा, बाजे रामसल गुरूङ र परिवारको नाममा २२१ रोपनी पैतृक जग्गा भएको खुलाएका छन् । उनले ८९ तोला सुन, ६ किलो चाँदी पैतृक सम्पत्ति देखाएका छन् ।

गुरूङको लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४००, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपियाँ र सानीमा बैंकमा एक हजार ५७४ रुपियाँ देखाएका छन् ।

होप होल्डिङ्स प्रालिमा ३० लाख रुपियाँ बराबरको ३० हजार कित्ता सेयर देखाएका छन् । लगुम प्रमियम अपार्टमेन्ट्समा ५७ लाख बराबरको ५७ हजार कित्ता सेयर देखाएका छन् ।

धितोपत्र बजारमा २ करोड ७४ लाख ५६ हजार २०० बराबरको सेयर देखिएको छ । एड्भेन्चर भिल्ला प्रालिमा ७० लाखको ७० हजार कित्ता सेयर देखाएका छन् । गृहमन्त्री गुरुङले आफ्नो सेयर व्यवसाय, पैतृक सम्पत्ति र लगानीमार्फत आर्जन गरेको खुलाएका हुन् । गुरुङले लगुम प्रिमियमको नाममा रहेको ०३२ च ४४७७ एमजी एस ५ कार पनि देखाएका छन् । उक्त कार गत असोज १६ गते ४७ लाख ९९ हजार रूपियाँमा किनेको खुलाएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले सम्पत्ति विवरणमा १८ तोला सुन र १५ तोला चाँदी देखाएकी छिन् । उनले यी गरगहना विवाहमा आफूले पाएको पनि उल्लेख गरेकी छन् । मन्त्री बादीको ससुराको नाममा काठमाडौंको बूढानीलकण्ठमा घरघडेरी छ । मन्त्री बादीको नाममा सुर्खेतमा पनि घरघडेरी छ । पतिको नाममा नुवाकोटमा पनि घरघडेरी छ ।

उनले आफूसँग ५० हजार रुपियाँ मौज्दात रहेको जानकारी गराएकी छिन् । आफू र ससुराको नाममा एनआइसी एसिया, प्रभु बैंक आदिमा नगद १५ लाख मौज्दात रहेको जानकारी दिएकी छन् । पति र आफ्नो नाममा ५६०० कित्ता सेयर छ । सवारी साधनको नाममा आफूसँग स्कुटर, पतिसँग मोटरसाइकल रहेको सम्पत्ति विवरणमा उल्लेख छ । स्कुटर ३ लाख ३० हजार र मोटरसाइकल २ लाख ७० हजारमा खरिद गरेको पनि उनले बताएकी छन् । मन्त्री बादीले कुखुरा २० वटा र कुकुर एउटा रहेको पनि विवरणमा उल्लेख छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिका वडा नम्बर २४ मा २ आना, काठमाडौं महानगरपालिका वडा नम्बर १४३ मा ४ आना जग्गामा बनेको घर देखाएका छन् ।

श्रेष्ठले आफूसँग सुन १५, चाँदी ५० तोला रहेको उल्लेख गरेका छन् । उनले लुम्बिनी विकास बैंकमा २४ लाख १७ हजार २००, एभरेष्ट बैंकमा ७३ हजार २४८, सिटिजन्स बैंकमा १ लाख ४३ हजार ३३, सिनर्जी कोअपरेटिभ लिमिटेडमा १५ लाख, सिनर्जी कोपरेटि लिमिटेडमा पत्नीसहितको सगोलमा २५ लाख, वाणिज्य बैंकमा १२ लाख ४२ हजार, नबिल बैंकमा १ लाख ६३ हजार ६३६, सिनर्जीमै १००० नगद मौज्दात रहेको उल्लेख गरेका छन् । यी सबै रकमको स्रोत स्वआर्जन रहेको उनले बताएका छन् ।

आफूसँग विभिन्न कम्पनीको २० हजार ९७८ गरी अहिलेको मूल्य अनुसार १ करोड ४५ लाख ४८ हजार ४२० रूपियाँको सेयर रहेको बताएका छन् । उनले आफूसँग ५० लाख रुपियाँ ऋण रहेको देखाएका छन् । उनले यो ऋण पारिवारिक र बैंक स्रोतबाट लिएको बताएका छन् । ल्याण्ड क्रुजर, स्कुटर र इभी गाडीसहित तीनवटा सवारी साधन रहेको उल्लेख गरेका छन् ।

यी सबैको मूल्य करिब ३१ लाख हाराहारी रहेको उनले देखाएका छन् । आफूले करिब ३ लाख मूल्यका विभिन्न ब्राण्डका घडी रहेको पनि उल्लेख गरेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आफ्नो नाममा काठमाडौंको बूढानीलकण्ठमा ५ आना जग्गा रहेको उल्लेख गरेकी छिन् । सो जग्गा ७० लाखमा खरिद गरेको उनले बताएकी छिन् । यो उनको पतिले जोडेका हुन् ।

प्रतिभा रावलको नाममा बाराको कोलाबीमा १० धुर जग्गा छ । उनले ५ लाखमा खरिद गरेको बताएकी छिन् । उनीसँग सुन तथा गरगहना २५ तोला छ । नबिल बैंकमा ३ लाख, ग्लोबल आइएमइमा १ लाख ७८ हजार, एभरेष्ट बैंकमा २० लाख रुपियाँ नगद मौज्दात छ ।

विभिन्न कम्पनीको करिब १ लाख मूल्यको साधारण सेयर छ । एभरेष्ट बैंकमा २० लाख रुपियाँ ऋण तिर्न बाँकी रहेको र ४४ लाख मूल्यको सवारी साधन रहेको उनले बताएकी छिन् ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आफूसँग १० लाख ५० हजार ३३५ रूपियाँ बैंकमा रहेको विवरण सार्वजनिक गरेकी छिन् ।

उनीसँग सुन १५ तोला, चाँदी ९ तोला र हीरा १ तोला पनि छ । मन्त्री गौतमले सवारी साधन खरिदका लागि ऋण लिएको विवरण पनि उल्लेख गरेकी छिन् । राष्ट्रिय वाणिज्य बैंकबाट गाडी किन्न २० लाख रूपियाँ ऋण लिएर हालसम्म ७ लाख तिरेको तथा एभरेष्ट बैंकबाट सवारी साधन खरिदकै लागि २५ लाख ऋण लिएको उनले भरेको विवरणमा उल्लेख छ ।

मन्त्री गौतमले पति गृहेन्द्र घिमिरेले सवारी साधन खरिदकै लागि ९५ लाख रूपियाँ ऋण लिएको विवरणमा उल्लेख गरेकी छन् । घिमिरेले एभरेष्ट बैंकबाट उक्त कर्जा लिएको र त्यसमा पारिश्रमिक अनि पुरानो गाडी दिएर नयाँ किनेको विवरणमा उल्लेख छ ।

कृषि तथा पशुपन्छी विकास तथा वन–वातावरणमन्त्री गीता चौधरीले आफूसँग ५ तोला सुन र १०० तोला चाँदी रहेको जनाएकी छिन् । सम्पत्ति विवरणमा उल्लेख भए अनुसार मन्त्री चौधरीको उक्त सम्पत्तिको स्रोत पैतृक सम्पत्ति र स्वआर्जन हो । मन्त्री चौधरीको नाममा पाँच वटा बैंक खातामा एक लाख २६ हजार नगद रहेको विवरणमा उल्लेख छ ।

चौधरीले ५० हजार रूपियाँ पर्ने घडी प्रयोग गर्दै आएकी छन् । घडीको स्रोत स्वआर्जन भएको विवरणमा खुलाएकी छिन् । मन्त्री चौधरीले प्रयोग गरिरहेको मोबाइलको मूल्य ९० हजार र ल्यापटपको मूल्य ७५ हजार रूपियाँ भएको उल्लेख छ । मन्त्री चौधरीले स्कुटर किन्दा गर्दा आफूलाई ऋण लागेको सम्पत्ति विवरणमा जनाएकी छन् । स्कुटर किन्दा एक लाख ५० हजार रूपियाँ लिएको कर्जामध्ये ८४ हजार तिरिसकेको उल्लेख छ ।

उनले स्वआर्जनबाट खरिद गरेको अर्को स्कुटर पनि भएको उल्लेख गरेकी छन् । स्कुटरको मूल्य ३ लाख ३० हजार रूपियाँ भएको उनले जनाएकी छिन् । मन्त्री चौधरीले माइती पक्षबाट प्राप्त भएका २ वटा बाख्रा र १० वटा कुखुरासमेत सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । सम्पत्ति विवरण अनुसार आर्थिक रुपमा सबैभन्दा कृषिमन्त्री चौधरी देखिएकी छिन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री खडकराज पौडेल ‘गनेस’ले डिजिटल पुस्तकालय सञ्चालन गर्न २५ लाख रूपियाँ लगानी गरेको बताएका छन् । बुक लिफ्टर प्रालि मार्फत डिजिटल पुस्तकालय चलाउन लगानी गरे पनि सञ्चालनमा आउन बाँकी रहेको उनले उल्लेख गरेका छन् ।

मन्त्री पौडेलले आफ्नो सम्पत्ति विवरणमा घर र घरले चर्चेको जमीन भाउजू सन्तोषी शर्माको नाममा रहेको उल्लेख गरेका छन् । घर भएको जमीन १७५ वर्ग मिटर रहेको र खरिद मूल्य २ करोड ६० लाख रूपियाँ रहेको उनले विवरणमा बताएका छन् । घरजग्गा बैंकमार्फत ऋण लिएर जोडेको उनले विवरणमा जनाएका छन् ।

पोखरा वडा नं. १४ मझेरीपाटनका स्थायी बासिन्दा पौडेलका आमा खीमकुमारी पौडेलको नाममा विभिन्न स्थानमा पैतृक जग्गा जमिन रहेको उल्लेख गरेका छन् । पोखरा – १४ मा आमा खिमकुमारीको नाममा एक ठाउँमा ३ हजार ८९१ वर्गमिटर, अर्को ठाउँमा १ हजार ३११ वर्गमिटर र अर्को ठाउँमा १३८ वर्गमिटर जमीन पैतृक सम्पत्तिका रूपमा रहेको पौडेलको सम्पत्ति विवरणमा उल्लेख छ ।

बैंक, वित्तीय संस्था तथा सहकारीमा पौडेलले नगद मौज्दात रहेको उल्लेख गरेका छन् । उनको नाममा एमएमबी बैंकमा ५१ रूपियाँ, माछापुच्छ्रे बैंकमा ८ लाख ८ हजार ४९६ रूपियाँ, मझेरी सहकारीमा १ लाख ३५ हजार रूपियाँ नगद मौज्दात छ ।

श्रीमती नताशा पराजुलीको नाममा माछापुच्छ्रे बैंकमा रहेको छुट्टा छुट्टै खातामध्ये एउटामा २ लाख ४ हजार ८४० र अर्को खातामा १० लाख रूपियाँ बचत रहेको देखाएका छन् । उक्त रकम नियमित बचत रहेको पौडेलले उल्लेख गरेका छन् । छोरी श्रेया पौडेलको नाममा ७२ हजार ९३६ रूपियाँ रहेको र उक्त रकम उपहार आएको पौडेलले विवरणमा जनाएका छन् ।

मन्त्री पौडेलले सेयर कारोबारमा पनि उल्लेख्य लगानी गरेको देखिएको छ । बिजीडब्लुटीमा ६५२ कित्ता सेयर रहेको, एसआइएसमा १० हजार कित्ता र मझेरी सहकारीमा ७ हजार ५०० रूपियाँ सेयर लगानी गरेको उल्लेख गरेका छन् । मन्त्री पौडेलले घर बनाउन माछापुच्छ्रे बैंकबाट १ करोड ३० लाख रूपियाँ र मझेरी सहकारीबाट १० लाख रूपियाँ ऋण लिएको उल्लेख गरेका छन् । यी दुवै ठाउँमा लिएको ऋण नतिरेको पनि जनाएका छन् । सवारी सधानको नाममा मन्त्री पौडेलसँग २ वटा स्कुटर देखिएको छ । ग १२ प ३७२८ नम्बरको स्कुटर २०१७ मा २ लाख रूपियाँमा खरिद गरेको र ग १२ प २६०५ नम्बरको स्कुटर सन् २०१७ मा खरिद गरेको उनले उल्लेख गरेका छन् ।

स्कुटर खरिद गर्न पैतृक सम्पत्ति प्रयोग गरेको उनले विवरणमा जनाएका छन् । उनले केही पशु र चराचुरूंगी भएको पनि उल्लेख गरेका छन् । उनले मझेरीपाटनमा ‘मझेरी मंजील फार्म हाउस’ सञ्चालन गरेको उल्लेख गरेका छन् । उक्त फार्म हाउसमा २ करोड रूपियाँ लगानी गरेको र उक्त रकम परिवारिक भएको उल्लेख गरेका छन् । श्रीमती नताशाको नाममा बर्थ डे जोन स्टोर्स प्रालि रहेको उल्लेख गरेका पौडेलले यसमा पनि पारिवारिक रुपमा १५ लाख रूपियाँ लगानी गरेको सम्पत्ति विवरणमा जनाएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफ्नो नाममा २५ तोला सुन रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सम्पत्ति विवरणमा मन्त्री पोखरेलले २५ तोला सुन रहेको विवरण सार्वजनिक गरेका हुन् । उनले १०० तोला चाँदी र २५ हजार रूपियाँ नगद रहेको विवरण सार्वजनिक गरेका छन् ।

अनुमानित ७५ लाख बराबरको यो सम्पत्ति उनले विभिन्न मितिमा प्राप्त गरेको बताएका छन् । आमाको दाइजो, बुबाको नेपाल राष्ट्र बैंकमा कार्यरत रहँदाको पारिश्रमिक सुविधा र पैतृक सम्पत्तिबाट प्राप्त गरेको विवरणमा उल्लेख गरेका छन् ।

पोखरेलले सानिमा बैंक लिमिटेड नक्सालमा रहेको आफ्नो बैंक खातामा २ लाख ४८ हजार १९८ रूपियाँ बचत गरेका छन् । सोही बैंकको डलर खातामा ५ डलर र एनआइसी बैंकमा एक लाख ९९ हजार २९६ रूपियाँ रहेको उल्लेख गरेका छन् । यो रकम उनले काठमाडौं महानगरपालिकामा कार्यरत रहँदा आर्जन गरेको बताएका छन् ।

उनले आफ्नो बुबा र आमाको नाममा रहेका जग्गा रहेको पनि उल्लेख गरेका छन् । काठमाडौं–४ मा ४ आना २ पैसाको जग्गा र विराटनगर–४ मा एक कट्ठा जग्गा आफ्नो बुबा रमेशकुमार पोखरेलको नाममा देखाएका छन् । ललितपुरको गोदावरीमा एक रोपनी १४ आना १ पैसा २ दामको जग्गा आमा मीनाक्षी ओझा पोखरेलको नाममा छ । उनकै नाममा १३५.१४ वर्गमिटरको जग्गा गोकर्णेश्वर–२ मा छ ।

आमा समेत मावली परिवारको नाममा ११ रोपनी जग्गा गोदावरी–७ मा रहेको खुलाएका छन् । मन्त्री पोखरेलले हिमालयन बैंकबाट २५ लाख रूपियाँ ऋण समेत लिएका छन् । उनले बिवाइडी डल्फिन कार ३९ लाख ६५ हजार रूपियाँमा खरिद गरेको बताएका छन् । उनको कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रूपियाँ र ऋण ७५ लाख रूपियाँ देखिएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवसँग ८० तोला सुन र १५० तोला चाँदी रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मन्त्री यादवले पैतृक सम्पत्तिका रूपमा ५० तोला र खरिद गरेको ३० तोला गरेर ८० तोला सुन रहेको विवरण पेस गरेका छन् । उनीसँग भएको चाँदी पनि पैतृक सम्पत्ति हो ।

३० तोला सुन व्यवसाय र रोजगारीबाट खरिद गरेको विवरणमा उल्लेख छ । यादवको सप्तरीको राजविराज–९ मा ११ कट्ठा १३ धुर जमीनमा बनेको घर र राजविराज–९ मा १ बिघा ६ कट्ठा बढी जमिन रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यो सबै जमीन पैतृक सम्पत्ति रहेको विवरणमा उल्लेख छ ।

राजविराज–८ मै काजल कुमारी यादवको नाममा रहेको १० धुर जमिन भने खरिद गरेको उनले उल्लेख गरेका छन् । यादवको सम्पत्ति विवरणमा विभिन्न बैंकहरूमा उनी र काजल कुमारी यादवको नाममा ७० लाख रूपियाँभन्दा बढी नगद मौज्दात छ । त्यो रकम व्यवसाय, तलब, कृषि, भाडा, सापटी र ऋण रहेको उल्लेख छ ।

उनले २०७३ सालमा २ लाख ७० हजार रूपियाँमा खरिद गरेको यामाहाको मोटरसाइकललाई सम्पत्तिका रूपमा देखाएका छन् । यसबाहेक यादवसँग २ लाख ५० हजार रूपियाँ पर्ने म्याकबुक (ल्यापटप), २ लाख २६ हजार ९ सय रूपियाँ पर्ने आइफोन र ५० हजार रूपियाँ पर्ने रेडमी मोबाइल एक÷एक थान छ ।

भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री सुनिल लम्सालले आफ्नो नामको बैंक खातामा ९० लाख रूपियाँ रहेको जनाएका छन् । लम्सालको रूपन्देहीमा एक कट्ठा १० धुर क्षेत्रफलमा घर छ ।

नवलपरासीको कावासोती नगरपालिकामा १० कट्ठा १५ धुर र स्याङ्जाको बिरूवा गाउँपालिकामा ७ रोपनी खेत, २२ रोपनी बारी छ । लम्सालले ३० तोला सुन र ५० तोला चाँदी रहेको सम्पत्ति विवरण पनि पेस गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको काठमाडौंको नागार्जुनमा घर र जग्गा हुनुका साथै ४८ लाख रूपियाँ व्यक्तिलाई ऋण सापटी दिएको उल्लेख छ ।

तिमिल्सिनाको काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थित सनराइज हाइटमा श्रीमती मञ्जु गैरेको नाममा १४२.७० वर्गमिटर क्षेत्रफलमा बनेको घर छ । सोही वडामा १७४.८५ वर्गमिटर क्षेत्रफलको जग्गासमेत रहेको र उक्त सम्पत्तिको स्रोत श्रीमतीले स्वदेश तथा विदेशमा श्रम गरी आर्जन गरेको पारिश्रमिक र भत्ता देखाइएको छ । चल सम्पत्तितर्फ मन्त्री तिमिल्सिनासँग ५ तोला सुन र १० तोला चाँदी छ । सुनका गहनाहरू पुख्र्यौली, विवाहमा प्राप्त र उपहार स्वरूप आएको उनले उल्लेख गरेका छन् ।

२०८० सालमा ५० हजार रूपियाँमा एक थान मोतीको माला खरिद गरेको विवरणमा उल्लेख छ । बैंक मौज्दाततर्फ मन्त्री तिमिल्सिनाको नाममा नबिल बैंकको बालाजु शाखामा १० लाख २४ हजार ३ सय ६५ रूपियाँ छ । उनकी श्रीमतीको नाममा सानिमा बैंकमा १० हजार २१ रूपियाँ मात्र मौज्दात छ । उक्त रकमको मुख्य स्रोत स्वदेश तथा विदेशमा कार्य गरेबापतको आम्दानी भएको उल्लेख छ ।

मन्त्री तिमिल्सिनाले दुई जना व्यक्तिलाई ४८ लाख रूपियाँ ऋण सापटी दिएका छन् । उनले २०८० जेठमा बलराम लामिछानेलाई १५ लाख र २०८० असारमा केशव राईलाई ३३ लाख रूपियाँ ऋण दिएको उल्लेख छ । उनीसँग सन् २०२२ मा २३ लाख रूपियाँमा खरिद गरिएको बा २६ च १७६८ नम्बरको कार छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग काठमाडौं महानगरपालिकामा चार ठाउँमा जग्गा रहेको देखिएको छ । उद्योगमन्त्री गौरी यादवको काठमाडौं–९ मा १ रोपनी ३ आना २ पैसामा बनेको तीन तल्ले घर छ । काठमाडौं वडा नम्बर १० मा १४ आना, ७ आना र ९ आना गरी तीनवटा जग्गा छन् ।

उनले बर्दिबास नगरपालिकामा १४ कट्ठा, १५ कट्ठा र साढे ५ बिघा गरी तीनवटा जग्गा देखाएकी छिन् । सम्सी गाउँपालिकामा १ बिघा र १ कट्ठा गरी दुई ठाउँमा र मनहराशिसवा गाउँपालिकामा एउटा पोखरी पनि रहेको उनले उल्लेख गरेकी छन् । उनीसँग सुन १८० तोला र चाँदी २ किलो छ । विभिन्न बैंकमा १० लाख रूपियाँ मौज्दात रहेको उनले उल्लेख गरेकी छिन् । ३ करोड ३८ लाख ३५ हजार रूपियाँ मूल्यको सेयर रहेको विवरण पनि उनले सार्वजनिक गरेकी छिन् ।

स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग विभिन्न बैंकमा १७ लाख रूपियाँ देखिएको छ । मेहताको कीर्तिपुरको सौखेलमा ७ आना जग्गा देखिन्छ । यसबाहेक अरू जग्गा आफ्नो सासु र ससुराको नाममा रहेको उनले उल्लेख गरेकी छिन् । उनले ३० तोला सुन, ५० तोला चाँदी र विभिन्न बैंकमा १७ लाख रूपियाँ रहेको पनि उल्लेख गरेकी छिन् ।

Published : Monday, 2026 April 13, 4:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया