गृहमन्त्रीसँग ८९ तोला सुन, करोडौंको जमीन र शेयर, धनकुटामा जग्गा भेटियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद समेत रहेका गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

गुरुङको नामा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको विवरणमा उल्लेख छ । उक्त जग्गा लगानीबाट जोडेको सम्पत्ति विवरणमा जनाइएको छ । गोरखा जिल्ला स्थायी बासिन्दा रहेका गृहमन्त्री गुरुङको नाममा धनकुटा जिल्लामा समेत जमीन देखिएको छ ।

गृहमन्त्री गुरुङका पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर महानगरपालिका वडा नं. १८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसल गुरुङको (बाँडफाँट नभएको) नाममा गोरखाको चुननुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको विवरणमा उल्लेख छ ।

गृहमन्त्री गुरुङको शेयर मार्केटमा ४ करोड ३१ लाख बढी लगानी देखिएको छ । जसमा होप होल्डिङ्स प्रालिमा ३० हजार थान साधारण शेयर रहेको उल्लेख छ । उक्त शेयरको मूल्य ३० लाख रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय थान साधारण सेयर रहेको गृहमन्त्री गुरुङले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । जसको मूल्य ५७ लाख रहेको उल्लेख छ ।

सबैभन्दा बढी लगानी धितोपत्र बजारमा कारोबार हुने शेयरहरूमा भएको उनले एकमुष्ट उल्लेख गरेका छन् ।

व्यवसायिक र पैत्रिक सम्पत्ति स्रोत देखाउँदै गृहमन्त्री गुरुङले उल्लेख गरेको विवरण अनुसार, धितोपत्र बजारमा कारोबार हुने शेयरहरूमा २ करोड ७४ लाख ५६ हजार २ सय रहेको उल्लेख छ ।

एड्भेन्चर भिल्ला प्रालिमा पनि गृहमन्त्री गुरुङले आफ्नो शेयर रहेको उल्लेख गरेका छन् । जहाँ ७० हजार थान शेयर रहेको र त्यसको मूल्य ७० लाख हुन आउने उनले सम्पत्ति विवरणमा उल्लेख छ ।

Published : Monday, 2026 April 13, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया