केन्द्रीय महाधिवेशनको मिति एक हप्ताभित्र घोषणा गर्ने

२०८२ चैत्र २९ गते

श्री अध्यक्षज्यू
राष्ट्रिय प्रजातन्त्र पार्टी
केन्द्रीय कार्यालय, काठमाडौं ।

२०७८ को एकता महाधिवेशनबाट नयाँ उमंग र नयाँ संभावना बोकेर अघि बढेको राष्ट्रिय प्रजातन्त्र पार्टी हालै सम्पन्न संसदीय निर्वाचनसम्म आइपुग्दा नराम्रोसँग खुम्चिन पुगेको छ । निर्वाचन पूर्वको केन्द्रीय कार्यसमितिको वैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले, मलाई खेल्न दिनुहोस्, राप्रपालाई देशको पहिलो पार्टी बनाउँछु भन्नुभएको थियो, पार्टीको पक्षमा अकल्पनीय नतिजा प्राप्त हुने बताउनुभएको थियो । निश्चितरुपमा नतिजा त अकल्पनीय नै प्राप्त भयो तर, नकरात्मक रुपमा ।

शर्मनाक नतिजा हात लागेको डेढ महिना पुग्न लाग्यो तर, चुनावी असफलताको कुनै लेखाजोखा र नैतिक जिम्मेदारी वहन गरिएको छैन । संकट र चिन्ताको यस घडीमा केन्द्रबाट दिशानिर्देश हुन्छ भनेर प्रतिक्षारत देशभरीका पार्टीपंक्तिको हात रित्तो छ । शून्यताबीच लाखौं कार्यकर्ता र पार्टीकै भविष्यलाई लिएर गम्भीर प्रश्न कायम छ । यसैबीच नेता, कार्यकर्ताहरुबाट पार्टी जिम्मेवारी र पार्टी सदस्यता परित्याग गर्ने क्रम जारी छ ।

त्यति मात्र होइन, मध्यावधि निर्वाचनको आलो घाउमा उपसभामुखको निर्वाचन त झन् नूनचूक दलेसरह भयो । उपसभामुख पदमा उम्मेद्वारी दिएबाट राप्रपामाथि निष्ठा र सैद्धान्तिक आधारमा प्रश्न मात्र उठेन, निर्वाचनको सो विषय केन्द्रीय कार्यसमिति/कार्यसम्पादन समितिमा छलफलसमेत नहुँदा, विधि पद्धति, प्रजातान्त्रिक अनुशासन र जिम्मेवारीबाट पार्टी र नेतृत्व पूर्ण चुकेको निष्कर्ष प्रवाह भयो ।

त्यसैले सच्चिने कि सकिने भन्ने गम्भीर अवस्थाबीच, केन्द्रीय महाधिवेशनबाट ताजा जनादेश प्राप्त गर्नुबाहेक उत्तम विकल्प राप्रपासँग छैन । केन्द्रीय कार्यसमितिको नियमित चार वर्षे कार्यकाल सम्पन्न भएर पार्टी हाल अतिरिक्त अवधिमा छ । पार्टीले म्याद थप गर्ने निर्णय गर्दा २०८३ जेठभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको जगजाहेर छ ।

यही परिवेशमा पार्टीपंक्तिमा पूनर्ताजगी ल्याएर राप्रपालाई पूनर्जीवन दिन, पार्टीको लक्ष्य र आदर्शप्रति इमान्दार नयाँ नेतृत्व चयन गर्न, देशभरीका नेता, कार्यकर्ताहरुको भावना आत्मसात गर्दै संजीवनीको रुपमा हामी निम्न मागहरु प्रस्तुत गर्दछौं :

१. निर्वाचन असफलताको नैतिक जिम्मेवारी वहन गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले अध्यक्ष पदबाट तत्काल राजीनामा गर्ने ।
२. सन्तुलित र विश्वसनीय वातावरणमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने ।
३. केन्द्रीय महाधिवेशनको मिति एक हप्ताभित्र घोषणा गर्ने ।
४. व्यापक सुधारको उद्देश्य लिएर, एकता महाधिवेशनपश्चात राप्रपाको आदर्श, विधान र अनुशासन विपरित भएका काम कारवाहीको न्यायसंगत छानबिन गरी आगामी महाधिवेशनमा निष्कर्ष पेश गर्न एक छानबिन समिति गठन गर्ने ।

Published : Sunday, 2026 April 12, 4:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया