कांग्रेसलाई एकताबद्ध बनाउन दवाव दिनका लागि दुबै समूहका युवा नेताहरूबीच बैठक

काठमाडौं । भृकुटीमण्डप भेलापछि तहस नहस बनेको नेपाली कांग्रेसको एकताका लागि केन्द्रीय सदस्य नैनसिंह महरसहितका युवा नेताहरूले आन्तरिक छलफल गरेका छन् ।

आइतबार काठमाडौंको अनामनगरमा युवा नेताहरूबीच नियमित १५औँ महाधिवेशनमा सबै पक्षलाई समेटेर जाने विषयमा छलफल भएको हो । भृकुटीमण्डप भेला र १४औं महाधिवेशनको कार्यसमितिका नेताहरूलाई समेटेर १५औं महाधिवेशनमा जाने विषयमा दवाव सिर्जना गर्नुपर्ने नेताहरूले बताए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइराला तथा भृकुटीमण्डपको विशेष महाधिवेशन पक्षधर युवा नेताहरूको सहभागिता रहेको थियो ।

कांग्रेसका केन्द्रीय सदस्य महरले पार्टीभित्र एकताका साथ महाधिवेशनमा होमिन दवाव सिर्जनाका लागि सबै पक्षका युवा नेताहरूले पहलकदमी थालेको बताए ।

छलफलमा केन्द्रीय सदस्य नैनसिंह महर, उमेशजंग रायमाझी, नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थ, प्रतिमा गौतम, पुष्प पराजुली, मनोजमणि आचार्य, पुस्प शाही, निर्मला क्षेत्री, वालचन्द्र न्यौपाने, अञ्जान लामा, बद्री अर्याल, सरोज थापा लगायत दुई दर्जन नेताहरूको उपस्थिति रहेको थियो ।

बैठकमा सबै पक्षका बीच सम्वाद, वार्ता शुरु गर्ने र दवावमुलक कार्यक्रम थाल्ने निर्णय गरेको केन्द्रीय सदस्य महरले बताए ।

नेपाली कांग्रेसभित्र करेक्शनका साथै एकताका लागि देशभरिका साथीहरूबीच छलफल गरेर सहमतिका लागि दवाव सिर्जना गरिने बताए ।

Published : Sunday, 2026 April 12, 4:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया